राष्ट्रपतिलाई उपचार खर्च दिन लागिएकोमा युवा संघको विरोध, स्वास्थ्यमन्त्री समक्ष राख्यो ९ बुँदे माग (भिडिओ)
काठमाडौं । युवा संघ नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च सरकारले दिने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै युवा संघले उच्च पदस्थ व्यक्तिहरूको उपचार स्वदेशमै गर्न किन नसकिएको भन्दै प्रश्न पनि गरेको छ ।
पूर्वाधारले सक्षम नेपालका ठूला अस्पतालहरूमा उच्च पदस्थ व्यक्तिहरूले उपचार गर्न हिच्किचाउने अवस्था कसरी सिर्जना भयो भन्दै स्वास्थ्यमन्त्री बस्नेतलाई प्रश्न गरिएको छ ।
युवासंघले भीभीआइपी र भीआइपी बिरामीहरूको नेपालमै सम्भव हुने उपचार विदेशमा गराएबापत राज्यले खर्च गर्ने परम्परा अन्त्य गर्न माग गरेको छ ।
यस्तै हरेक स्थानीय तहको स्वास्थ्य चौकीमा एकजना एमबीबीएस डाक्टर दरबन्दीको व्यवस्था अनिवार्य कार्यान्वयन गर्न पनि माग गरिएको छ ।
एक स्थानीय तह एक अस्पताल निर्माणको काममा ढिलासुस्ती भएकाले तत्काल निर्माणको काम सुचारु गर्ने व्यवस्था गर्न पनि माग गरिएको छ ।
एमबीबीएस, एमडी, एमस, नर्सिङ लगायत चिकित्सा शिक्षा अध्ययन गर्न नेपाली विद्यार्थी विदेश जाँदा वार्षिक अर्बौँ रकम बाहिरिएकोप्रति पनि युवा संघले चिन्ता व्यक्त गरेको छ । यसको रोकथामका लागि नेपालमा नै पर्याप्त चिकित्सा शिक्षालय सञ्चालन गर्न माग गरिएको छ ।
सरकारी अस्पतालबाट सर्वसाधारणहरूलाई निजी अस्पताल रिफर गर्ने परम्परा अन्त्य गर्नपनि माग गरिएको छ ।
आम जनतालाई आर्थिक भार नपर्ने गरी नेपालमा नै स्वास्थ्य सेवा सर्वसुलभ गर्न पनि स्वास्थ्यमन्त्री समक्ष माग गरिएको छ ।