बन्दीपुरमा अमेरिकी बाख्राको दूध र चिज उत्पादन गर्दै सरकारी फार्म – Nepal Press

बन्दीपुरमा अमेरिकी बाख्राको दूध र चिज उत्पादन गर्दै सरकारी फार्म

काठमाडौं । सरकारको लगानीमा तनहुँको बन्दीपुरमा बाख्रा फार्म सञ्चालनमा छ । राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र नामक यस फार्ममा नेपाली र अमेरिकी बाख्राको अध्ययन र अनुसन्धान हुँदै आएको छ ।

दूध उत्पादनको लागि ‘सानेन’ जातको बाख्रा उत्कृष्ट मानिन्छ । अहिले नेपाली बजारमा यस जातको बाख्राको माग बढेको छ । किसानहरु उक्त जातको बाख्राको लागि बन्दीपुरस्थित यस राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र धाउने गरेका छन् । केन्द्रका अनुसार दूधको लागि अरू प्रजातिभन्दा ‘सानेन’ जातको अमेरिकी बाख्रा खोज्ने किसानहरू धेरै छन् ।

केन्द्रका प्रमुख डा. पुनबहादुर श्रेष्ठले सानेन प्रजातिको एउटा बाख्राले साढे ४ लिटरसम्म दूध दिने बताए । अहिले बन्दीपुर र पोखरामा बाख्राको दूध र चिजको माग धेरै भएको पनि उनले बताए ।

‘सानेन’को ओरिजिन स्वीट्जरल्याड हो । नेपालमा भने अमेरिकाबाट आयात गरिएको हो । यो बाख्रा फेनो टाइप र जेनोटाइप भन्ने हुन्छ । मुख्यतया सानोमा जेनोटाइप देखिएको छ’, डा. श्रेष्ठले भने, ‘यी बाख्राहरुले औसतमा २.५ लिटर दूध दिन्छ । सिजनमा एउटा बाख्राले ४ देखि साढे ४ लिटरसम्म दूध दिन्छ ।’

केन्द्रले ८० हेक्टरमा बाख्रा फार्म सञ्चालन गरेको छ । जहाँ सानेनलगायत खरी प्रजातिका बाख्रा छन् । यो फार्मको लागि २०६५ सालमा दुइटा बोका दक्षिण अफ्रिकाबाट ल्याइएको थियो । दुइटा बोयर बोकाका साथै सानेन ल्याएर क्रस गराएर केन्द्रमा बाख्राको अनुसन्धान सुरु गरिएको थियो ।

केन्द्रमा हाल ९ जना कर्मचारी छन् । ज्यालादारी गरी दैनिक ३५ जनाले काम गर्ने केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख डा. श्रेष्ठले भने, ‘मासुको लागि विदेशबाट बोयर, बारबेरी, जमनबेरीलगायतका जातका बाख्रा ल्याइन्छ । नेपालको स्वदेशी बाख्रा पनि मासुको लागि पालिन्छ । दूध उत्पादनको लागि सानेन र सामी जातका बाख्रा पालिन्छ ।’

उनका अनुसार केन्द्रले अनुसन्धान सँगसँगै बोका तथा बाख्रा बिक्री वितरण गर्दै आएको छ ।

‘बाख्रा र बोका भेटेनरी विज्ञ केन्द्र तथा पशु शाखाको सिफारिसअनुसार बिक्री गर्ने गरेका छौं । बाख्राबाट उत्पादन भएको दूध ६० रुपैयाँ प्रतिलिटर बेच्ने गरेका छौं । दूधबाट उत्पादन भएको चिज भने प्रतिकेजी १ हजार रुपैयाँमा बिक्री हुन्छ’, उनले भने, ‘हामीले एक पटकमा १८ देखि २० लिटर दूध दैनिक उत्पादन गरिरहेका छौं । जसबाट दैनिक ४० लिटरसम्म हुन्छ । त्यसमा ८ देखि १० लिटरबाट १ केजी चिज बन्छ । अधिकतम १२ देखि २० लिटर दूध नै बिक्री हुने गरेको छ ।’

केन्द्रले उत्पादित चिज पोखराको मेट होम र बन्दीपुरमा बिक्री गर्ने गरेको छ । सरकारले प्रतिवर्ष ६ देखि ७ करोड बजेट दिने गरेको केन्द्रले जनाएको छ ।

केन्द्रले बर्कौंलासमेत केजीको ४ रुपैयाँको दरले बेच्ने गरेको छ । यो केन्द्र २०३३ सालमा खुलेको हो । २०४७ सालपछि नेपाल कृषि अनुसन्धान परिषद्ले अनुसन्धानमा लैजाने भनेपछि २०४८ सालमा केन्द्रले काम गर्न सुरु गरेको हो । हाल नेपाल सरकारअन्तर्गत बाख्रामा अनुसन्धान गर्ने निकाय केन्द्रमात्रै हो । विभागअन्तर्गत काम गर्ने एउटा चित्लाङमा र अर्काे बुढीतोला बाख्रा फार्म र भेंडी फाम रहेको छ ।

केन्द्रले देशभरका बाख्रापालक किसानमध्ये २० जनालाई कसरी बाख्रा पालन गर्ने भनेर तालिमसमेत दिने गरेको श्रेष्ठले बताए ।

अनुसन्धान केन्द्रमा सानेन प्रजातिका बाख्रा ५० भन्दा बढी र खरी, सिन्हाल, जमुनापारी, बोयर, बारबारीलगायत प्रजातिका करिब ५ सय बाख्रा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर