प्रचण्डको आत्मसमीक्षा : स्वभावजन्य कमजोरीले अन्तरमनको आवाजतिर फर्किहाल्दो रहेछु (भिडिओ) – Nepal Press

प्रचण्डको आत्मसमीक्षा : स्वभावजन्य कमजोरीले अन्तरमनको आवाजतिर फर्किहाल्दो रहेछु (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई दिल्लीले प्रधानमन्त्री बनाएको भनेर दिएको अभिव्यक्तिलाई लिएर आत्मसमीक्षा गर्ने बताएका छन् । उनले क्षमायाचना भने गरेनन् ।

आफूमाथि उठेको प्रश्नमा जवाफ दिँदै प्रचण्डले तार्किकभन्दा भावनात्मक कुरा बढी गरे । उनले आफ्नी छोरीलाई क्यान्सर हुँदा सरदार प्रितम सिंहले आश्रय दिएकाले भावनात्मक सम्बन्ध गाँसिएको बताए । उनै सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली र काठमाडौंमा समेत कुरा गरेको विषय आफूले सार्वजनिक कार्यक्रममा गरेको उनको भनाइ थियो ।

प्रचण्डले भने, ‘मेरो सबल पक्ष वा कमजोरी जे भने पनि सार्वजनिक र निजी कार्यक्रममा फरक रूपमा प्रस्तुत हुन धेरै गाह्रो पर्छ । सायद यो मेरो कमजोरी पनि हो, र सायद सबल पक्ष पनि यसभित्र अन्तर्निहित छ कि ? निजीजस्तै सार्वजनिक अभिव्यक्तिमा पनि म मनले बोल्छु । प्रधानमन्त्रीले बोल्नुपर्ने त दिमागले हो । यो कुराको सैद्धान्तिक ज्ञान मलाई नभएको होइन । तर, मान्छेको सत्त्व, जिन, उसको प्रवृत्ति विशेषता जसले हामीलाई अलग–अलग बनाएको छ, त्यही सत्त्वभित्र यो पर्छ । म दिमाग र मन दुवैले बोल्छु । कहिले मन अगाडि हुन्छ कहिले दिमाग ।

आफूलाई धेरै साथीहरूले यस्तो स्वभाव परिवर्तन गर्न सुझाव दिने गरेको प्रचण्डले बताए ।

‘तर, ७० वर्षतिर अगाडि बढिरहेको समयमा यो बदल्ने कुरा फलामको चिउरा हुँदो रहेछ । अब बदल्छु भन्यो बोल्न जाँदा आइहाल्छ । इमानदारिताका साथ यो तथ्य राख्नुबाहेक मसित के विकल्प छ ? यही हो म, यही हो प्रचण्ड ।’ उनले भने ।

यो तहको भावुकता ठिक नभएको निष्कर्षमा आफू पुगेको उनले बताए । सार्वजनिक अभिव्यक्तिमा आफ्नो भाषा नमिलेको उनको स्वीकारोक्ति थियो ।

‘स्वभाववश म अन्तरमनको आवाजतिर फर्किहाल्दो रहेछु । मनभित्र मैलो छैन । नियत सफा भए भित्र र बाहिरका अभिव्यक्ति समान हुँदा रहेछन् । म आत्मसमीक्षा गर्न चाहन्छु । भविष्यमा सतर्क हुन उत्प्रेरित गरेको ठानेको छु ।’ प्रचण्डले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर