युक्रेनकी स्भितोलिनासँग हार ब्यहोरेपछि रुस समर्थक बेलारुसकी अजारेन्कालाई विम्बल्डनमा दर्शकले गिज्याए
लन्डन। रुस-युक्रेन युद्धको प्रभाव प्रतिष्ठित ग्रान्डस्लाम टेनिस विम्बल्डनमा पनि देखिएको छ।
युक्रेनकी एलिना स्भितोलिनासँग पराजित भएपछि बेलारुसकी भिक्टोरिया अजारेन्कालाई दर्शकले गिज्याएका थिए।
जारी युद्धमा बेलारुसले रुसको पक्ष लिएको भन्दै त्यहाँका खेलाडीहरू निशानामा पर्दै आएका छन्।
हारपछि अजारेन्काले दर्शकले गरेको व्यवहार ‘फेयर’ नभएको भन्दै गुनासो गरेकी थिइन्।
युक्रेनमाथि आक्रमण सुरु भएयता स्भितोलिनाले रुस र बेलारुसका खेलाडीसँग हात मिलाएकी छैनन्।
‘मैले के गर्नु पर्थ्यो ? त्यहीँ रहनु र पर्खनु पर्थ्यो ?’, अजारेन्काले भनेकी छिन्, ‘उनी (स्भितोलिना) बेलारुस र रुसी मानिसहरूसँग हात मिलाउन चाहँदिनन्। मैले उनको निर्णयलाई सम्मान गरेँ’।
वाइल्ड कार्डबाट सहभागी भइरहेकी स्भितोलिनाले अजारेन्कालाई २-६, ६-४ र ७-६ को सेटमा पराजित गर्दै क्वाटर फाइनलमा स्थान बनाएकी छिन्।