‘ल्याब इन-ए-ब्याग’ को मद्दतमा कालीगण्डकीमा घरदैलो स्वास्थ्य परीक्षण – Nepal Press

‘ल्याब इन-ए-ब्याग’ को मद्दतमा कालीगण्डकीमा घरदैलो स्वास्थ्य परीक्षण

पोखरा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरेको छ । गाउँपालिकाले इजरायली प्रविधिको ‘ल्याब इन-ए-ब्याग’ कार्यक्रममार्फत घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने र सल्लाह दिने व्यवस्था गरेको हो ।

उक्त प्रविधिले घरघरमा पुगी पल्स रेट, ईसीजी, श्वासप्रश्वास दर, सुगरको मात्रा, युरिया क्रेटिनाइन, अक्सिजन सेचुरेसनलगायत २७ प्रकारका परीक्षण गरी उतिबेलै नतिजा उपलब्ध गराउँछ ।

उक्त प्रविधि सुरु गर्ने कालीगण्डकी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो स्थानीय तह हो । यसअघि काठमाडौं महानगरपालिकाले सो प्रविधि प्रयोग गरेको थियो ।

उक्त प्रविधिमा मोबाइल एपमार्फत घरमै बसेर स्वास्थ्य सेवा लिन सकिने गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए । पहिलो चरणमा २ जना स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिएर सेवा सुरु गरिएको अध्यक्ष थापाले बताए ।

‘२ जना स्वास्थ्यकर्मीलाई दुई वटा उपकरण छ । छिट्टै नै ५ वटा खरिद गरेर प्रत्येक वडामा स्वास्थ्य परीक्षण सेवालाई विस्तार गर्छौं’, उनले भने ।

उक्त प्रविधिमार्फत गाउँपालिकामा एक वर्षमा १२ हजार जनाको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य राखिएको छ । ‘भर्खर सुरु गरेका छौं, प्रत्येक वडामा सुरु भएको छ । एक वर्षमा १० देखि १२ हजार जनाको परीक्षण गर्ने लक्ष्य राखेका छौं’, अध्यक्ष थापाले भने ।

स्वास्थ्यकर्मी घरघरमै पुगी नागरिकको स्वास्थ्य जाँच र तत्काल ल्याब रिपोर्ट दिने कार्यबाट गाउँवासीको स्वास्थ्य उपचारमा टेवा पुग्ने विश्वास लिएको उनले बताए ।

गाउँका बासिन्दाले अहिलेसम्म औषधि सेवन नै नगरेको र केही नभएको भन्दै कुनै स्वास्थ्य परीक्षण नहुँदा दिनानुदिन रोगीको संख्या बढेको उनको भनाइ छ ।

रोग नलुकाऊन् र रोगको पहिचान गर्न सहज होस् भनेर उक्त सेवा सुरु गरिएको अध्यक्ष थापाले सुनाए । ‘हरेक नागरिकको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणको सेवा सुरु गरेका छौं, यसलाई थप विस्तार गर्दै लैजानेछौं’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *