लिथुआनियामा नेटो समिट हुँदै गर्दा उत्तर कोरियाद्वारा लामो दूरीको मिसाइल परीक्षण
काठमाडौं । हिजोबाट सुरु भएको दुई दिने नेटो सम्मेलनकै दौरानमा उत्तर कोरियाले लामो दूरीको मिसाइल परीक्षण गरेको छ ।
लिथुआनियाको राजधानीमा भएको अमेरिकी तथा युरोपेली ३१ देशहरूको सैन्य संगठन नेटोको बैठक बसिरहँदा परीक्षण भएको हो ।
परीक्षणबारेमा उत्तर कोरियाले कुनै सार्वजनिक प्रस्टीकरण दिएको छैन । तर, दक्षिण कोरिया र जापानले भने परीक्षणका पुष्टि गरेका छन् ।
जर्मनीको विश्व च्यानल डिडब्लुका अनुसार दक्षिण कोरियामा सेनापतिले जापान सागरमा उत्तर कोरियाले मिसाइल हानेको बताएका छन् ।
यस्तै जापानको तर्फबाट जापानी कोस्ट गार्डले कोरियाली प्रायद्विप भन्दा ५५० किलोमिटर पूर्वतर्फ स्थानीय समय अनुसार बिहान ११ः१३ मा मिसाइल हानिएको बताएको छ ।
मिसाइलले ६ हजार किलोमिटरको उचाइबाट एक हजार किलोमिटरको दूरी पार गरेर ७५ मिनेट उडेको बताइएको छ ।
पछिल्लो समयमा अमेरिकाले उत्तर कोरियाली सीमा क्षेत्रमा हवाइगस्ती बढाएकोमा उत्तर कोरिया असन्तुष्ट भएको थियो ।
त्यसैको प्रतिक्रियामा उत्तर कोरियाले अमेरिकी नेतृत्वको नेटो सम्मेलन हुँदै गर्दा मिसाइल परीक्षण गरेको धेरैले अनुमान गरेका छन् ।