भुक्तानी नपाएपछि सरकारविरुद्ध सडकमा निस्किए ठेकेदार, अर्थमन्त्रीको राजीनामा माग – Nepal Press

भुक्तानी नपाएपछि सरकारविरुद्ध सडकमा निस्किए ठेकेदार, अर्थमन्त्रीको राजीनामा माग

काठमाडौं । असार मसान्तमा पनि रकम भुक्तानी नगरेपछि निर्माण व्यवसायीले सरकारविरुद्ध आन्दोलन थालेका छन् ।

उनीहरूले विनाबजेटको आयोजना टेण्डर गरेर सरकारले भुक्तानीका लागि आफूहरू सडकमा आउन बाध्य भएको भन्दै आक्रोश पोखेका छन् । सरकारविरुद्ध बिहानै माइतीघरमा ठेकेदारहरू धर्नामा निस्किएका छन् । उनीहरूले अर्थमन्त्री प्रकाशशरण महतको राजीनामासमेत मागेका छन् ।

महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीले गरेको कामको भुक्तानीका लागि अनुनय गर्दा अर्थमन्त्रीले घरको अंश काटेर दिनुपर्नेजस्तो व्यवहार देखाएको टिप्पणी गरे ।

उनले भने, ‘काम गरेको बिल पेश गर्दा पनि रोकियो । रकम नभएको ४ खर्बको आयोजना किन टेण्डर गराइयो ? स्रोत सुनिश्चित नभएको आयोजना किन निर्माण जिम्मा दिइयो ?’

मूल्यवृद्धि निरन्तर भइरहेको भन्दै आयोजनाको खर्च समायोजन नगरेकोमा पनि उनीहरूको गुनासो छ । बैंक, सप्लायर्स, कामदार जताततै उधारो बाँकी हुँदा आफूहरूले आत्मदाह गर्नुपर्ने अवस्था आइलागेको उनीहरूले बताएका छन् ।

प्रक्रिया पुर्‍याएर बिल लिएर जाँदा भुक्तानी रोकेको व्यवसायीले दाबी गरेका छन् ।

व्यवसायीहरूले काम गरेको पैसा नदिएर उल्टै ठेकेदारलाई बदनाम गरेको बताएका छन् । मूल्य समायोजन कार्यान्वयन गर्नुपर्ने, निर्माण कार्यको म्याद थप गर्नुपर्नेलगायतका माग राखेका छन् ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

One thought on “भुक्तानी नपाएपछि सरकारविरुद्ध सडकमा निस्किए ठेकेदार, अर्थमन्त्रीको राजीनामा माग

  1. दस दलीय सरकारले ठेकेदारहरुलाइ दिन पर्ने रकम समेत नदिएर सत्ता टिकाउन भागबन्दामै सके जस्तो छ । ठेकेदारहरुले भुक्तानी नपाएपछि त्यहाँ काम गर्ने श्रमिकहरुले पारिश्रमिक पाउने कुरै हुँदैन । त्यसैले यो दस दलीय सरकार सबै हिसावले देशको बोझ बन्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *