आगामी बजेटको तयारीका लागि पर्यटन बोर्डले निजी क्षेत्रसँग माग्यो सुझाव
काठमाडौं । नेपाल पर्यटन बोर्डले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याउन लागेको बजेटका सम्बन्धमा निजी क्षेत्रसँग छलफल गरेको छ । बिहीबार बोर्डमा आयोजित छलफलमा विगत वर्षहरुको बजेटको समीक्षासहित नयाँ बजेटमा निजी क्षेत्रको सुझाव मागिएको हो ।
पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाका प्रमुख तथा प्रतिनिधीले बोर्डको बजेट डिजिटाइजेशन र कार्यान्वयनमा जोड दिएका छन् । उनीहरूले अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका कार्यक्रम गर्दा परम्परागत भन्दा पनि नयाँ ढंगले गर्न बोर्डलाई सुझाव दिए । यस्तै निजी क्षेत्रले बोर्डले आयोजना गर्ने आन्तरिक तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा निजी क्षेत्रको सहभागिता वृद्धिका लागि ध्यानाकर्षण गराए ।
बोर्डले निजी क्षेत्रको सुझावलाई समेटेर बजेट तर्जुमा गर्ने र बजेट निजी क्षेत्रमैत्री हुने बोर्डका उपाध्यक्ष चन्द्र रिजालले आश्वस्त पारे ।
निजी क्षेत्रबाट प्राप्त सुझावले बजेट कार्यान्वयनमा सहजता लयाउने बजेट समिति संयोजक तथा बोर्ड सदस्य मिलन देवकोटाले बताइन् ।
संयोजक देवकोटाका अनुसार आगामी आर्थिक वर्षको ८० प्रतिशत बजेटले अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धन तथा बाँकी रकम आन्तरिक पर्यटन प्रवर्छन तथा पूर्वाधारमा खर्चिने बोर्डको योजना छ ।
छलफलका क्रममा होटल संघ नेपाल (हान), प्यासिफक एशोसिएसन अफ ट्रावल ऐन्टस (पाटा) ट्रेकिङ ऐजेन्सिज एशोसिएसन अफ नेपाल (टान) नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्सिज (नाटा) , नेपाल रफिटिङ एजेन्सिज (नारा), नेपाल माउण्टेनियरिङ एशोसिएसन (एनएमए) एनटीभिए, एनटीबीए, सोट्टो, लयायतका संस्थाहरूका प्रमुखहरूले बोर्डको आगामी बजेटका सम्बनधमा आफ्ना सुझाव दिएका थिए ।