सुधीर बस्नेतद्वारा मुद्दा फिर्ता, ओरेन्टलका एक लाखमुनिका बचतकर्ताले साउनभित्रै रकम पाउने – Nepal Press

सुधीर बस्नेतद्वारा मुद्दा फिर्ता, ओरेन्टलका एक लाखमुनिका बचतकर्ताले साउनभित्रै रकम पाउने

काठमाडौं । ओरेन्टल बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले आफ्नो रकम फिर्ता पाउने ढोका खुलेको छ । ओरेन्टलका अध्यक्ष सुधीर बस्नेतले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिविरुद्ध दायर गरेको मुद्दा फिर्ता लिएसँगै बचतकर्ताहरुले रकम फिर्ता पाउने सम्भावना बढेको हो । बस्नेतले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा बुधबार फिर्ता लिएका थिए ।

सरकारले २०७९ असोज ७ गते ओरेन्टल सहकारीलाई दोस्रो पटक समस्याग्रस्त घोषणा गरेको थियो । उक्त घोषणा प्रक्रिया गलत भएको भन्दै अध्यक्ष बस्नेतले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । बस्नेतले तत्कालीन सहकारीमन्त्री, सचिव, सहकारी विभागका रजिष्ट्रारविरुद्ध मुद्दा दायर गरेका थिए ।

बस्नेतकै मुद्दाका कारणले समितिले ओरेन्टलसम्बन्धी कुनै पनि काम अघि बढाउन सकेको थिएन । मुद्दाकै कारण ४ हजार ३०० बचतकर्ताले आफ्नो रकम फिर्ता पाउने बाटो अवरुद्ध भएको थियो ।

हाल ओरेन्टलबाट ४ हजार ३०० बचतकर्ताले साढे ६ अर्ब रुपैयाँ फिर्ता पाउन बाँकी छ । मुद्दा फिर्तासँगै समितिले सहकारीको जग्गा लिलामी प्रक्रियामा लैजाने बताएको छ । जसमा साउनअगाडि नै १ लाखभन्दा कम बचत भएका बचतकर्ताहरुलाई रकम फिर्ता गर्ने गरिने समितिका सदस्यसचिव केशव पौडलेले बताए ।

‘समितिले तीन वटा निर्णय गरिसकेको छ । जसमा ऋणीहरुलाई पत्राचार गरिरहेको छ’, पौडेलले भने, ‘जग्गा लिलामको विवरण निकालिरहेका छौं । बस्नेत आफ्नो सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्न तयार भैसकेका छन् ।’

उनका अनुसार बचतकर्ताहरुलाई रकम फिर्ता गर्न सबैभन्दा ठूलो बाधा बस्नेतले सर्वोच्चमा हालेको मुद्दा थियो । जुन मुद्दा बस्नेतले फिर्ता लिइसकेका छन् ।

‘बस्नेतको सम्पत्ति अहिले भक्तपुरको गुण्डुमा मात्रै २८४ रोपनी फेला परेको छ । पोखरा, वीरगञ्ज, दाङलगायत देशका १४ जिल्लामा उनको जग्गा देखिएको छ’, पौडेलले भने, ‘अझै सम्पत्ति भेटिन सक्ने सम्भावना छ । थप अनुसन्धान अगाडि बढिसकेको छ ।’

घरजग्गा व्यवसायी रहेका बस्नेतले बचतकर्ताको रकम जग्गामा लगाएका थिए । ओरेन्टललाई पहिलो पटक २०७४ कात्तिकमा समस्याग्रस्त घोषणा गरिएको थियो । २०६९ साल भदौदेखि ओरेन्टल सहकारी बन्द थियो ।

गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको समस्याग्रस्त सहकारी जाँचबुझ आयोगको अध्ययनका क्रममा ओरेन्टलविरुद्ध १२ हजार ९६२ वटा उजुरी दर्ता भएका थिए । विभिन्न सहकारीहरूमा परेको दाबी रकमको करिब ६० प्रतिशत रकम ओरेन्टल सहकारीका अध्यक्ष बस्नेतले भुक्तान गर्नुपर्ने त्यतिबेलाको अध्ययनले देखाएको थियो ।

ओरेन्टलबाट निक्षेपकर्ता, अपार्टमेन्ट बुकिङकर्ता, शेयर सदस्य तथा अन्य साहु गरी सात हजार ५४६ जना पीडित रहेको भनिए पनि अहिले ४ हजार ३०० बचतकर्तामा झरेको समितिले जनाएको छ । जसको दायित्व साढे ६ अर्ब रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर