गण्डकी प्रदेशका ५० हजार पशु चौपायमा फैलियो लम्पी स्किन – Nepal Press

गण्डकी प्रदेशका ५० हजार पशु चौपायमा फैलियो लम्पी स्किन

पोखरा । गण्डकी प्रदेशमा करिब ५० हजार पशु चौपायमा लम्पी स्किन रोग फैलिएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशका अनुसार गण्डकीपमा ४८ हजार १३९ पशु चौपायमा लम्पी स्किन रोग फैलिएको हो ।

२०१९ मा आएको कोरोनाजस्तै फैलिएको उक्त रोग प्रदेशका ११ वटै जिल्लामा नै फैलिसकेको छ । गण्डकीका ८० पालिकामा संक्रमण फैलिसकेको छ । मनाङका ३ र मुस्ताङका २ पालिकामा अहिलेसम्म लम्पी स्किन रोग पुगेको छैन ।

अन्तिम पटक मनाङको चामेस्थित थान्चोकका किसानले पालेको गोरुमा यो रोग देखिएको थियो । संक्रमित पशु चौपायमध्ये १ हजार ८ सय १ पशु चौपायको मृत्यु भएको निर्देशनालयका पशु चिकित्सक सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।

गोरखामा सबैभन्दा धेरै १३ हजार ८ सय ३६ पशु चौपाय लम्पी स्किनको संक्रमित भएका छन् । लम्पी स्किनबाट ४ हजार ५ सय ७३ वटा बाच्छाबाच्छी, २४ हजार ३ गाई, १७ हजार ७ सय ६४ गोरु, १ सय २५ पाडापाडी, १ हजार ५ सय ५२ भैंसी र १ सय २२ वटा राँगो संक्रमित भएको तथ्यांक छ । संक्रमित मध्ये २ सय १४ बाच्छाबाच्छी, ८ सय ४९ गाई, ६ सय ९८ गोरु, १७ वटा पाडापाडी, २२ वटा भैंसी र एउटा राँगोको मृत्यु भएको छ ।

रोगबाट बच्न खोप अभियान सञ्चालन गरिएको पशु चिकित्सक श्रेष्ठले बताए । ५ सय ९५ जना किसानका ६० हजार ६ सय ९९ वटा पशुमा खोप लगाइसकिएको उनको भनाइ छ ।‘ठूलो फर्महरुमा क्षति भएको छैन । पहिले नै खोप लगाएर सुरक्षित गरिएको छ, अहिले पनि खोप अभियान तीव्र छ,’ उनले भने ।

निर्देशनालयका अनुसार गण्डकी प्रदेशका किसानले १० लाख वटा गाई र भैंसी पालेका छन् । लम्पी स्किन निरन्तर फैलिएको र अझै सर्न सक्ने भएकाले सबै गाईभैंसीमा खोप आवश्यक परेको निर्देशनालयले जनाएको छ । प्रदेश सरकारले आगामी वर्षको बजेटमा पूर्ण खोप अभियानका लागि ३ करोड ५० लाख र लम्पी स्किन विरूद्धको खोपका लागि १ करोड बजेट विनियोजन गरेको छ ।

लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग गर्छ । संक्रमित गाईभैंसीको ओसारपसार, सामुदायिक चरण क्षेत्र वा गर्भाधान र सुईको प्रयोगबाट पनि फरक पशुलाई रोग सर्न सक्छ । यो रोग लागेका गाईभैंसीको छालामा १ देखि ५ सेन्टिमिटरको साह्रा र गोला गाँठा हुन्छन् ।

लम्पी स्किन रोग पहिलो पटक अफ्रिकी मुलुक जाम्बियामा देखिएको थियो । नेपालमा २०७७ साउनमा पहिलो पटक मोरङमा लम्पी स्किन भित्रिएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा ८ जिल्लाका ११ वटा पालिकामा देखिएको थियो ।

अघिल्लो आव २०७८/०७९ मा ९ जिल्लाका १९ पालिकामा विस्तार भएको यो रोग चालु वर्षमा सबै जिल्लामा रोग पुगिसकेको छ । नेपालमा यसअघि सन् १९४० तिर गगौटी रोगले ठूलो संख्यामा गाईवस्तुको क्षति भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर