पाँच प्रश्नोत्तरमा बुझ्नुहोस् आजदेखि लागू भएको टेलिभिजन ‘आला कार्ट’ – Nepal Press

पाँच प्रश्नोत्तरमा बुझ्नुहोस् आजदेखि लागू भएको टेलिभिजन ‘आला कार्ट’

काठमाडौं । सरकारले आजबाट आला कार्ट प्रणाली लागू गर्ने निर्णय गरेसँगै तोकिएको मूल्य तिरेर सेवाग्राहीले ४५ भन्दा बढी विभिन्न विदेशी टेलिभिजन च्यानल हेर्न पाउने भएका छन् ।

सूचना तथा प्रसारण विभागका अनुसार डिजिटल सिस्टम अफ नेपाल प्राल वितरकलगायत तीनवटा कम्पनी आला कार्ट प्रणाली कार्यान्वयन गर्न तयार भएका हुन् ।

जसमा डिजिटल सिस्टम अफ नेपाल प्राली वितरकमार्फत विभिन्न तीनवटा कम्पनी अन्तर्गतका ४५ भन्दा बढी विदेशी टेलिभिजन च्यानल तोकिएको शुल्क तिरेर दर्शकले हेर्न पाइने भएका हुन् ।

टेलिभिजन क्षेत्रमा लागू गर्ने यो प्रणालीबारेमा हुनुपर्ने जत्तिको चर्चा भएको छैन । यो सामाग्रीमा त्यसको पाँच प्रश्नोत्तरमा चर्चा गरिएको छ ।

१. के हो आला कार्टा को अर्थ ?

फ्रान्सेली भाषाबाट आएको हो आलाकार्ट । यसको अर्थ मेन्यु जस्तै हो । आफूले चाहे अनुसारको खानपिन माग्ने विकल्प हुनुको अर्थमा यसको प्रयोग गरिन्छ । यही मेसोमै यसको प्रयोग टेलिभिजन दुनियाँमा पनि प्रयोग हुन्छ ।

ग्राहकले हेर्न चाहेको च्यानल मात्रै हेरेर तोकिएको शुल्क तिर्ने प्रणाली हो आल कार्टा । नेपालमा यसको लागी २०७९ चैत २४ बाट लागु भएको हो । नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यो लागु भएको सार्वजनिक सूचना गरेको थियो ।

२. आला कार्ट लागु हुँदाको शुल्क के कस्तो छ ?

मूलतः विदेशी च्यानलहरू दुई प्रकारका हुन्छन् । एक, फ्री टु एयर अर्थात् निःशुल्क र पे टिभी अर्थात् सशुल्क । आलाकार्ट प्रणालीमा नि:शुल्का पैशा तिर्नुपर्दैन । सशुल्कलाई भने तिर्नुपर्ने । तर, त्यो पनि हेरेको च्यानल अनुसार मात्रै तिर्नुपर्ने ।

शुल्कको सवालमा नेपाल सरकार, सञ्चार, तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रशारण विभागले निश्चित शुल्क तोकेको छ ।

विभागले २०८० असार ५ गते जारी गरेको सूचना अनुसार अधिकतम रुपमा पाँच सय तोकिएको छ । तर, यस अगाडि लिँदै आएको शुल्क यो भन्दा थोरै भएको अवस्थामा भने त्यत्ति नै कायम हुनुपर्ने भन्दै सूचनामा भनिएको छ, ‘इन्टरनेट सेवा बापत दूरसञ्चार ऐन, २०५३ बमोजिमको शुल्क भुक्तानी गर्नु पर्दा समेत हाल तिर्नु परिरहेको संयुक्त शुल्क भन्दा बढी हुन नहुने ।’

३. आला कार्ट लागु हुँदा उपभोक्ता र राज्यलाई फाइदा के छ ?

आला कार्ट लागु हुँदा उपभोक्ता र राज्य दुवै पक्षलाई फाइदा छ । उपभोक्तालाई आफूले हेर्ने च्यानलको मात्रै शुल्क तिरे पुग्छ । हाल इन्टरनेट र टेलिभिजनको फरक फरक शुल्क उठाइने गरेकोमा त्यसमा एकरूपता आउँछ । त्यसले उपभोक्तालाई सजिलो हुन्छ । राज्य पक्षबाट नियमनमा पनि सहज हुन्छ । झन्झटिलो हुन्न । शुल्कको लगत राम्रोसँग राख्न सहज हुने ।

वितरकहरूलाई पनि यसले फाइदा दिएको छ । सशुल्क च्यानलहरूको मनपरी अन्त्य हुनुका साथै शुल्क पारदर्शी र वैज्ञानिक हुनेछ । पूर्वानुमान गर्न लायक हुनेछ । यत्ति मात्रै होइन वैदेशिक मुद्रा खपतको आयतन पनि घट्नेछ ।

४. साँच्चिकै आलाकार्ट लागु भएको छ त ?

नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधिले गरेको पत्राचार र ताकेताहरुअनुसार लागु भएको छैन । नभएकै कारणले मन्त्रालयले गत असार १७ गते आलाकार्ट प्रणाली लागु गर्ने सवालमा पत्राचार गरेको थियो ।

यो पनि पढ्नुहाेस्-  ‘आला कार्ट’ कार्यान्वयनमा, अधिकांश भारतीय प्रसारकले पठाए च्यानलको ‘बुके र रेट’

भारतदेखि सिंगापुरसम्मका वितरक देखी नेपालका प्यासिफिक ट्रेडर्स, डि.एम.बी होल्डिङ्ग्स् र डिजिटल सिस्टम अफ नेपाल आदिलाई पत्राचार गरेको थियो । पत्राचारमा भनिएको थियो, ‘हालसम्म पनि बकेट तथा त्यसको दररेटको जानकारी प्राप्त नभएको हुनाले देहाय बमोजिम गर्न हुन निर्णयअनुसार अनुरोध छ ।’

त्यो भन्दापछि सोनी पिक्चर्स, जि इन्टरटेनमेन्टदेखि बीबीसी स्टुडियोज् जस्ता विदेशी च्यानलहरूलाई पनि मन्त्रालयले पत्र पठाएको थियो । पत्र सन २०२३ मे १४ मा अर्थात् २०८० वैशाख ३१ गते पठाइएको थियो ।

५. भारतीय पक्ष किन तयार छैन नेपाली आलाकार्ट लागु गर्न ?

नेपालमा आउने जतिपनि विदेशी च्यानलहरु छन्, तिनीहरू सबैको सिग्नल वितरणको हब भारत हो । त्यसमा भारतीयहरूको हात माथि छ ।

उनीहरूले नेपालमा आलाकार्ट लागु गरेको खण्डमा असर हुने तर्क गरेका छन् । त्यो तर्क उनीहरूले आफ्नो औपचारिक पत्रमै पनि उल्लेख गरेका छन् । उदाहरणका लागी सन २०२३ मे २६ (२०८० जेठ २१ गते) र जुलाई १२ (२०८० असार २७ गते) मा गरिएको पत्राचारहरूमा नेपाली पक्षलाई आलाकार्ट लागु नगर्न आग्रह गरिएको छ ।

पत्रहरूमा आलाकार्ट प्रणालीले नेपाली उपभोक्तादेखि विदेशी वितरक सबैलाई समस्यामा पर्ने भन्दै त्यो लागु नगर्न भनिएको छ । इन्डियन ब्रोडकास्टिङ एण्ड डिजिटल फाउण्डेसनका महासचिव सिद्धार्थ जैनले पठाएको पत्रमा व्यापक छलफल गरेर मात्रै आलाकार्ट लागु गर्न आग्रह गरेका छन् । तर, जैनले कोसँग र के कुरामा कस्तो खाले छलफल भनेर खुलाएका छैनन् ।

उद्यपि अहिले भने भारतीय च्यानलहरु आलाकार्टका लागि तयार भएका छन् ।


प्रतिक्रिया

One thought on “पाँच प्रश्नोत्तरमा बुझ्नुहोस् आजदेखि लागू भएको टेलिभिजन ‘आला कार्ट’

Leave a Reply

Your email address will not be published. Required fields are marked *