हरियो बजार : यसैमा हराउने कि बाहिर निस्किने ? – Nepal Press

हरियो बजार : यसैमा हराउने कि बाहिर निस्किने ?

कुनै विषयमा लेखिहाल्नुअघि निकै पटक घोत्लिरहनुपर्ने अवस्था आइसक्यो । प्रविधिको समयमा कहाँ कसरी बोल्ने मान्छेलाई घेरिन्छ पत्तो हुँदैन । यद्यपि केही विषय यस्ता छन्, तिनका विषयमा मौन बसे स्वयंलाई प्रश्नको घेरामा सधैंभरि राखिन्छ ।

सिमोन दि बोउवारको ‘द सेकेण्ड सेक्स’ किताब पढ्ने क्रममा उनले आधुनिक स्त्री निर्माणकाल खण्डको युवती शीर्षकमा पुगेपछि म निकैबेर घोत्लिएकी थिएँ । कहींकतै तीतो यथार्थले आफ्नै मुटुमा घोचे झैं भएको थियो ।

उनले लेखेकी छिन्- केटी आफ्नो जीवनमा अनिवार्यता चाहन्छे । ऊ व्यक्ति हुन चाहन्छे र पुरुषको सहायताविना ऊ व्यक्ति हुन सक्दिन । पुरुषको सहायता उसलाई तब नै मिल्न सक्छ जब ऊ स्वयंलाई पुरुषको नजरमा वस्तु रुपमा पेश गर्दछे र उसको सामु आफू गौण बनिदिन्छे ।

हामी महिलामा यी पूर्वनिर्धारित हीनता विकास हुनुमा कतिपय त आफ्नै समाज र हुर्काइको पृष्ठभूमि होला । कतिपय आफ्नै कमजोरी । जुन समय हामी पूर्ण मानव हो भन्ने बुझ्ने परिपक्वतामा पुग्छौं त्यतिबेला पनि हामी आफू हुनुको अस्तित्व स्वीकार गर्दैनौं । अर्थात्, हामी टेको खोजिरहन्छौं ।

भूमिका लामो भयो होला । कुरा ठूला छैनन् । समाजका ससाना विषय नै छलफलका लागि पर्याप्त छन् । परिवर्तन पनि सानै कुराबाट हुने हो ।

आज साउन महिना सुरु भयो । त्यसमाथि सोमबार पनि । शिव मन्दिरहरु महिलाले भरिएका छन् । उनीहरु सामान्य पोशाकमा छैनन् । हातमा मेहन्दी, शरीरमा हरिया पहेंला पोशाकले चिटिक्क छन् ।

धर्ममा आस्था राख्नेहरुले आफूले मान्ने भगवान पुज्नु ठूलो विषय होइन । अन्यथा त हुने कुरै भएन । भगवानमा समर्पित हुनु समाधि प्राप्तिको अर्को बाटो पनि होला । तर, हामीले धर्मका नाममा फेसन त गरिरहेका छैनौं ? म स्वयं आफैंलाई प्रश्न गरिरहेको छु ।

न्यूज पोर्टलहरु आज मन्दिरमा शिवलिंग पुज्दै गरेका महिलाहरुका हरिया तस्वीरले रंगीएका छन् । आखिर, मिडिया पनि आफ्नो बजार कहाँ भुल्छ र ! त्यसभन्दा बढी टिकटक, फेसबुक, इन्स्टा त पूरै हरियै छ भने पनि हुन्छ ।

धर्ममा आस्था राख्नेहरुले आफूले मान्ने भगवान पुज्नु ठूलो विषय होइन । अन्यथा त हुने कुरै भएन । भगवानमा समर्पित हुनु समाधि प्राप्तिको अर्को बाटो पनि होला । तर, हामीले धर्मका नाममा फेसन त गरिरहेका छैनौं ? म स्वयं आफैंलाई प्रश्न गरिरहेको छु । अनि मन्दिर जानुअघि हामीले आफूलाई कसरी तयार पा¥यौं ? हरिया रंगका फेसन सामग्री जुटाउन कति समय व्यतित भयो ? विवेचना पनि गरिहेरौं न !

हिजोअस्तिदेखि बजार हरियाली भएको छ । बजार, जहाँ पाइन्छ हामीलाई ‘वस्तु’ मा परिवर्तन गर्ने सामग्रीहरु । हामी अर्थात महिला यो चरम उपभोक्तावादको काबुमा छौं । सीधै भन्दा बजारले हामीलाई कब्जा गरिसक्यो । आफ्नै पहिचान पनि हामी बजारमा खोज्ने भइसक्न लाग्यौं झैं भान हुन्छ कहिलेकाहीं ।

अर्थशास्त्रमा माग र आपूर्तिबीचको अन्तरसम्बन्धमा मागले आपूर्तिलाई निर्धारण गर्छ भनेर पढेका हामीहरुका सैद्धान्तिक ज्ञानलाई आजको बजारले माथ खुवाइदिएको छ । हामी आफूले पहिचान गरेका आवश्यकतामा साँच्चै चलेका छौं त ?

हाम्रा आमाहरुले तिउरी फूल थिचेर हातखुट्टामा लगाउँदा खेत रोप्दा, घाँस दाउरा गर्दा वर्षाकोे हिलोले हातखुट्टा खाँदैन भनेर सिकाउनुभएको थियो । आज हामी सिमेन्टेड घरमा छौं । झरीमा फरिया कस्दै घाँसदाउरा खोज्न जंगल जानुपर्ने अवस्थामा निकै कम छौं । जो त्यस अवस्थामा छौं, उहाँहरुका भिडियो टिकटक, इन्स्टा वा फेसबुकतिर भेटिँदैन ।

तर, आजको बजारले हातमा यो चाहिँ मेहन्दीको बुट्टा लगाउँदा आकर्षक देखिन्छ भनेर सिकाएको छ । हाम्रो आवश्यकता यही थियो त ?

महिला प्राकृतिक रुपले भावुक हुन्छ । हामी अलि छिटो बहकिन्छौं पनि । अनि हुर्काइमै आफूलाई चिटिक्क सुन्दर बनाऔं भन्दै सामाजिकीकरण भएका हामीलाई हरिया बजारले नतानोस् पनि कसरी ?

मान्छे खुशी हुन चाहेको कुरामा पनि कस्तो टिप्पणी हो । सामान्यतया यस्ता विचारमा यी टिप्पणी आउँछन् । यस्ता प्रतिक्रिया सामान्य झैं पनि लाग्छ । तर, आफ्नो बौद्धिकतामा सधैं कमजोर हुने हामी स्वयंलाई बजारले टिप्पणी गर्ने अवस्थामा पुर्‍याइदिएको छ । सुन्दा नमीठो लाग्नसक्छ । तर, साउने हरियो बजारले हामीलाई यसरी बिकाइदिएको छ कि सिमोन बोउवारले भनेको पुरुषको ठाउँमा बजार आएर हामीलाई वस्तु बनाइदिन हावी भइसक्यो ।

महिला प्राकृतिक रुपले भावुक हुन्छ । हामी अलि छिटो बहकिन्छौं पनि । अनि हुर्काइमै आफूलाई चिटिक्क सुन्दर बनाऔं भन्दै सामाजिकीकरण भएका हामीलाई हरिया बजारले नतानोस् पनि कसरी ?

तर, सम्झिउँ त, असारको अन्तिममा बैंकबाट लिएका ऋण किस्ता चुकाउन हाम्रै परिवारलाई कति धौ धौ भएको छ ? देशको अर्थ व्यवस्थासँगै हाम्रो आर्थिक अवस्था स्थिर वा ऋणात्मक रहँदा त्यही परिवारको हिस्सा त म, तपाईं अनि हामी बजारको नियन्त्रणमा बस्न सुहाउँछ ? हामी हरियो फेसन बजारमा हराइरहँदा हामीले दुःखले कमाएको आम्दानी कसरी खेर गइरहेको छ, कहिल्यै हिसाब गरेका छौं त ?

कार्यालयमा हातभरि चुरा लगाएर हामी पुगेका छौं । भान्छामात्रै सम्हाल्नेहरु पनि हरियोमै छौं । हातमा मेहन्दी । अझ, हरिया लुगा । देख्दा राम्रो छ । रंग छनोट गरेर ‘सुन्दर’ बन्ने वा स्वतन्त्रतापूर्वक जीवन बाँच्ने रहर हामी सबैलाई छ । त्यही स्वतन्त्रता उपभोग गरिरहँदा तपाईंलाई बजारले रनभुल्लमा त पारिसकेको महसुस भएको छ कि छैन ?

परीक्षाको मुखैमा सन्तानको लागि तिर्नुपर्ने शुल्क कटाएर रंगीन बजारमा कतै आफूलाई वस्तु बनाइरहेका छौं कि ? आखिर हामीलाई रंगीन देख्न चाहेको हामी स्वयंले कि समाजका विभिन्न संस्थाका नेतृत्वकर्ताले ? एकपटक आफ्नो अन्तरमनले स्वयंलाई जित्ने कोसिस पो गर्ने हो कि ?

परीक्षाको मुखैमा सन्तानको लागि तिर्नुपर्ने शुल्क कटाएर रंगीन बजारमा कतै आफूलाई वस्तु बनाइरहेका छौं कि ? आखिर हामीलाई रंगीन देख्न चाहेको हामी स्वयंले कि समाजका विभिन्न संस्थाका नेतृत्वकर्ताले ? एकपटक आफ्नो अन्तरमनले स्वयंलाई जित्ने कोसिस पो गर्ने हो कि ?

सामाजिक सञ्जालमा आफ्ना हरिया पोजहरु अपलोड गर्ने होडमा आफू र आफ्नो अवस्थालाई चिन्न बिर्सियौं भने हामी समाजको पिँधबाट फेरि उठ्न बिर्सिन्छौं । यो त्यही बजार हो, जसले आफ्नो डिजाइनमा हामीलाई नचाइरहेको छ । उनीहरुलाई थाहा छ, कसरी ग्राहकको रोजाइलाई आफू अनुकूलमा ढाल्न सकिन्छ । आज हरियो रंगको स्वरुपमा होला । तीज लागेपछि रातो रंगको स्वरुपमा होला वा अरु कुनै बहानामा झिलिक्क देखिने रंगीन दुनियाँमा कसरी आफ्ना लक्षित ग्राहकलाई तान्न सकिन्छ, बजारका नेतृत्वकर्ताले राम्रोसँग जानेको हुन्छ । उनीहरु त्यहीअनुसार सिर्जना गर्छन्, जहाँ हामी भुल्छौं ।

अभर पर्दालाई चाहिनसक्छ भनेर घर खर्च कटौती गरेर जोगाएको रकम यस्तैमा सकियो वा तपाईंको मेहनतको कमाइ क्षणिक देखावटी रंगले धुतिसक्यो भने त हामी अर्को स्टेपमा कसरी उक्लिने ?

हामी सधैं पितृसत्तालाई धारेहात लगाइरहन्छौं । पितृसत्ताको नाममा पुरुषलाई गाली गरिरहने तप्कामा पनि हामीमध्ये अझै केही छौं । तर, होइन नि हामी स्वयंले पितृसत्तालाई बोकेर हिंडेका छौं । हामी आफ्नो नजरमा अब्बल होइन, उनीहरुको नजरमा सुन्दर बन्नुमा गौरव गर्छौं भने हामीले कहिल्यै बराबरीमा चढ्ने भर्‍याङ भेट्न सक्दैनौं । त्यसैले हरियो भुलभूलैयामा हराउनुको सट्टा बरु ससानो खर्च कटाएर उद्यममा लागौं । अनावश्यक खर्च कटाएर थप आम्दानी हुने बाटोमा लगाऔं । अनि हामीलाई बजारको कब्जामा ल्याउन बिच्छ्याइएको बल्छीहरुलाई समयमै खुट्याउन सकौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *