कांग्रेस वरिष्ठ नेतामा गोपालमान कि शेखर ? पदाधिकारी बैठकमा आयो यस्तो प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ नेता पदमा गोपालमान श्रेष्ठलाई मनोनयन गर्नेबारे छलफल भएको छ । सोमवार बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकमा आफ्नो नाम प्रस्ताव भएको श्रेष्ठले बताए ।
सभापति शेरबहादुर देउवाले थप छलफल गरेर वरिष्ठ नेताको प्रस्ताव केन्द्रीय समितिमा पेश गर्ने तयारी रहेको उनले बताए । श्रेष्ठ नेपाली कांग्रेसका पूर्व उपसभापति हुन् ।
उनले आफू शेरबहादुर देउवापछिको वरिष्ठतम नेता भएकाले पहिले देखि नै सो पदको दाबेदार रहेको बताए । रामचन्द्र पौडेल राष्ट्रपति भएपछि कांग्रेसमा वरिष्ठ नेता पद रिक्त छ । यद्यपि सो पदमा सभापतिमा पराजित भएका नेता डा.शेखर कोइरालाको चर्चा पनि छ ।
पदाधिकारी बैठकमा पूर्व महामन्त्री डा.शशांक कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङ्दम्बे र फर्मुल्ला मन्सुरले श्रेष्ठलाई वरिष्ठ नेता बनाउने प्रस्ताव राखेका थिए । देउवाले भने निर्णय दिइसकेका छैनन् ।
कांग्रेसमा वरिष्ठ नेता पद विधानमा परिभाषित नभएकाले राख्दा पनि हुने र नराखे पनि हुने तर्क कतिपय नेताको छ । कतिपयले गोपालमान र डा. शेखर कोइराला दुवैलाई वरिष्ठ नेता बनाउन सकिने उपाय पनि सुझाएका छन् ।
कांग्रेसमा सभापतिमा पराजित भएको व्यक्ति वरिष्ठ नेता बन्ने प्रचलन देउवाबाटै शुरु भएकाले सोही परम्परा अनुसार डा. कोइराला सो पदको दाबेदार रहेको अर्काथरी नेताहरूको तर्क छ ।
देउवाले कोइरालालाई केन्द्रीय कार्यालयमा अलग्गै कार्यकक्ष समेत दिएपछि वरिष्ठ नेता बनाउन लागेको चर्चा पनि चलेको थियो ।