भोजपुरका डीएसपी अपराध अनुसन्धानमा गैरजिम्मेवार बनेको आरोप, तीन घटनाका पीडितले मुख खोले (भिडिओ) – Nepal Press

भोजपुरका डीएसपी अपराध अनुसन्धानमा गैरजिम्मेवार बनेको आरोप, तीन घटनाका पीडितले मुख खोले (भिडिओ)

भोजपुर । जिल्लामा पछिल्लो समय भएका आपराधिक घटनाको अनुसन्धान तथा दोषीमाथि कारबाहीमा उदासीन भएको भन्दै प्रहरी प्रशासनको विरोध भएको छ । केही घटनाका पीडित परिवार र सरोकारवालाले सदरमुकाममा पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी प्रमुख डीएसपी शरदकुमार थापा क्षेत्रीको भूमिकामाथि प्रश्न उठाएका छन् ।

डीएसपी क्षेत्रीले मुद्दा दर्ता गर्न नमानेको, किटानी जाहेरी दिँदा पनि दोषी पक्राउ नपरेको, दबाब र प्रभावमा काम गर्न थालेको भन्दै असुरक्षित महसुस भएको उनीहरूको गुनासो छ ।

पीडितको पत्रकार सम्मेलन ।

पत्रकार सम्मेलनमा पछिल्ला तीन घटनाका पीडित परिवारले न्यायका लागि याचना गरेका छन् ।

टेम्केमैयुङ गाउँपालिकाको राउते खोलामा शव भेटिएका सब इन्जिनियर मन्दीप राई, आम्चोक गाउँपालिका थिदिङ्खामा गोविन्द कुँवरको आत्महत्या र भोजपुर नगरपालिकाका दीप्सन प्रधानको हत्यासम्बन्धी घटना विवरण सार्वजनिक गर्दै परिवारले अनुसन्धानमा डीएसपी क्षेत्रीले बेवास्ता गरेको बताएका छन् । गृहमन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, प्रहरी मुख्यालय, नागरिक समाज र पत्रकारसमक्ष यी घटनाको निष्पक्ष छानबिनको मागसमेत गरिएको छ ।

राउते खोलामा पक्की पुल बनाइरहेको ठाउँमा गत जेठ ३१ गते बाढी आइरहेको बेला स्काइभेटर साइड लगाउन पठाएको घटनामा भवितव्य नभई आफ्नो छोरा मन्दीपलाई कर्तव्य गरी मारेको पत्रकार सम्मेलनमा बुबा ईश्वरकुमार राईले बताए ।

पीडकहरू सबैले सल्लाह गरेर एउटै बोली बोलेको भन्दै उनले घटनापछि अपरेटर लेखर्कस्थित पदम सेन्चुरीको घरमा सकुशल पुगेको र पेटी ठेकेदार बालम राईसँगको फोन कुराकानीपछि भागेको देखिएको भन्दै छोराको मृत्यु रहस्यमय भएको उनले बताए ।

उनका अनुसार छोराको हत्यामा संलग्नहरूलाई कारबाही र सम्बन्धित व्यक्तिहरूको कल डिटेल झिकाइ अनुसन्धान गर्न असार १३ मा दिएको किटानी जाहेरी प्रहरीले दर्ता गर्न मानेन ।

२८ गते सरकारी वकिलको कार्यालयमार्फत् जाहेरी दर्ता गराएकोमा कसुरदारलाई पक्राउ नगरेको भन्दै उनले आक्रोश पोखे, ‘यहाँभन्दा पीडा कति हुन्छ । डीएसपीको नाम लेखेर प्रहरी कार्यालयमै आएर आत्महत्या गर्छु ।’

आम्चोक गाउँपालिका-३ की रिता कुँवरले असार ८ गते आफ्नो दाजु गोविन्दले आत्महत्या गर्नुमा डीएसपीलाई दोष देखाएकी छन् । असार ७ गते घरमै बसेको बेला तीर्थ राईले घरबाट बोलाएर गंगा राईको घरमा लगि कुटेर घाइते बनाएको र सोसम्बन्धमा उजुरी दिँदा प्रहरीले उपचार खर्च दिने भनि सहमति गराएको तर उपचार खर्च पनि नदिएपछि उपचारको अभावले दाजु आत्महत्या गर्न बाध्य भएको उनले विज्ञप्तिमा लेखेकी छन् ।

‘घटना पछि पटक पटक जिल्ला प्रहरी कार्यालय भोजपुर गएर किटानी जाहेरी दिन खोज्दा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख शरदकुमार क्षेत्रीले बेवास्ता गर्दै छलफलसमेत गर्न नमानेको र जाहेरी दर्ता समेत नगरेकोले हामी पिडित पक्षले न्याय पाउन सकेका छैनौ । प्रस्टसँग आत्महत्या दुरुत्सहान भएको देखिएपनि जिल्ला प्रहरी कार्यलय भोजपुरले मुद्दा दर्ता गर्न नमिल्ने भनी आलटाल गरेकाले कानूनी प्रक्रियाको लागि अनुरोध गर्दछु’, रिताले विज्ञप्तिमा लेखेकी छन् ।

त्यस्तै टक्सारका दीप्सन प्रधानको असार २२ गते अखुवा खोलामा भएको हत्यामा संलग्नहरूलाई उन्मुक्ति दिन खोजेको भन्दै उनका परिवारले ध्यानाकर्षण गराएको छ ।

‘पैयाँपानीका सुमन श्रेष्ठले सामान पुर्‍याउन जाऊँ भनी लिएर गएको र खोलामा पुगेपश्चात मणिकुमार प्रधान, उमेश कार्की, निरज कार्की, रोजिश कार्की आम्तेकका सुमन श्रेष्ठसमेतले भरूवा बन्दुकले हानी बर्बरतापूर्क हत्या गरिएको हो । वास्तविक सबै दोषीहरूलाई कारबाही नगरी एकजनालाई मात्र मुख्य दोषी बनाई उन्मुक्ति दिन खोजेर घटना तोडमोड गर्न खोजिएको छ’, बुबा देविप्रसादले विज्ञप्तिमा लेखेका छन् ।

घटनामा संलग्न सुमनको भाइ विनम डीएसपीकै भान्से भएकाले सो घटनालाई किटानी जाहेरी दिँदासम्म अनुसन्धानमा जिम्मेवार नदेखिएको उनको दाबी छ ।

नागरिक समाज भोजपुरका संयोजक परशुराम तिवारीले अहिलेसम्म जिल्लामा आएका डीएसपीमध्ये अहिलेका क्षेत्रीबाट नागरिकले उल्टै असुरक्षित महसुस गरेको टिप्पणी गरे ।

‘अहिलेसम्म यस्ता घटनाहरूमा कोही प्रहरी प्रमुखले यस्तो गैरजिम्मेवारपूर्ण काम गरेको थिएन । यी घटनाहरूको बेवास्ता उनको सरासर ज्यादती हो’, तिवारीले भने ।

पीडितसँग पटकपटक नागरिक समाज, पत्रकार र सरोकारवालाहरू डेलिगेसन जाँदा क्षेत्री केही सुन्न नचाहने पत्रकार महासंघ भोजपुरका अध्यक्ष एक्सन राईले बताए ।

उनले भने, ‘घटनाको यथार्थ विवरण जानकारी गराउँदा उहाँ सुन्नै चाहनुहुन्न । प्रमाण छैन भनेर मात्र पन्छिनुहुन्छ । अनुसन्धान नै गर्न नखोजेपछि कहाँबाट भेटिन्छ प्रमाण ?, राई प्रश्न गर्छन् ।

११ महिनाअघि रसुवाबाट सरुवा भएर आएका डीएसपी क्षेत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पीएसओसमेत थिए । प्रचण्ड यसअघि प्रधानमन्त्री हुँदा र नहुँदा दुवैबेला उनी पीएसओ छँदा मालदार कार्यालयमा सरुवा जाने र सेटिङ मिलाउने गरेको भन्दै विवादित बनेका थिए ।

जिल्ला प्रहरी कार्यालय, भोजपुरका एक अनुसन्धान अधिकारी डीएसपीले मुद्दा चलाउन नसक्नुमा ‘माथिको प्रेसर’ भन्ने गरेको सुनाउँछन् ।

उनले भने, ‘वान सरले माथिको प्रेसर छ मुद्दा नचलाउन । यहाँ यत्तिकै दबाब हुन्छ काम गर्नै गार्‍हो भन्दै कहिलेकाहीँ हामीसँग सेयर गर्नुहुन्छ । हामी त हाकिमको आदेश मान्ने हो’, ती प्रहरी अधिकृतले नेपाल प्रेससँग भने ।

‘अहिले पनि प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजीसँग आफ्नो प्रत्यक्ष सम्पर्क रहेको भन्दै त्यही आडभरोसा देखाएर जिम्मेवारीबाट हट्नुहुन्छ । स्वार्थको काम र जागिरे मानसिकतामात्रै देखिन्छ उहाँमा’, एक पीडितले सुनाए ।

हेर्नुस् पीडितको पत्रकार सम्मेलनको भिडिओ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *