साहुको अवैध धन्दाका कारण जेल परेका मजदुर लालबहादुरको न्याय माग्दै इटहरीमा प्रदर्शन
विराटनगर । इटहरी १९ तरहराका लालबहादुर विश्वकर्माको न्यायको माग गर्दै इटहरीमा प्रदर्शन गरिएको छ । आठ महिना अघिदेखि विश्वकर्मा ठगी गरेको अभियोगमा झुम्का कारागारमा रहेका छन् । स्थानीय सिंहदेवी ज्वेलर्समा ज्यालादारी मजदुरको रूपमा उनी कार्यरत थिए ।
मजदुरको रूपमा कार्यरत लालबहादुरलाई साहुले गरेको हिनामिनामा सामेल भएको भन्दै सुनसरी जिल्ला अदालतबाट ठगी मुद्दामा १८ महिना जेल र ३ करोड १४ लाख ३३ हजार बिगो तिर्नुपर्ने फैसला गरेको छ ।
जिल्ला अदालत सुनसरीको फैसलाले लालबहादुर अन्यायमा परेको भन्दै पुनरावेदन दिए पनि सुनवाइ नभएको भन्दै स्थानीयले विरोध गरेका छन् । इटहरी–१९ बरमपुर फूलबारी टोलका लालबहादुरलाई चाँडो न्याय दिन माग गर्दै इटहरीमा आज प्रदर्शन गरिएको हो ।
लालबहादुरका आफन्त तथा छिमेकीसहित इटहरी उपमहानगरपालिका कार्यालय अगाडी भेला भएका स्थानीयले गरिब निमुखाले अदालतबाट न्याय पाउन निक्कै कष्ट भोग्नुपरेको भन्दै नाराबाजी गरेका छन् ।
जिल्ला अदालतको फैसला विरुद्ध लालबहादुरले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको आठ महिनामा उच्च अदालतले आठ पटक पेसी तोकिसकेको छ । तीमध्ये एउटा पेसीमा प्रत्यक्षदर्शी झिकाउने र अर्कोमा प्रमाण बुझ्ने आदेश आएको छ ।
त्यसबाहेक चार वटा पेसी हेर्न नमिल्ने र दुइटा स्थगितमा परेको छ । नवौँ पेसी साउन १६ गते तोकिएको लालबहादुरकी श्रीमती दिलकुमारी विश्वकर्माले जानकारी दिइन् ।
इटहरी-२० तरहरामा २०७२ देखि सञ्चालनमा आएको सिंहदेवी ज्वेलर्समा उनी ज्यालादारीमा गहना बनाउने काम गर्दे आएका थिए ।
सो ज्वेर्लस कृष्ण विश्वकर्मा, दीपक गजमेर, कमल गजमेर र सीता विकले सञ्चालन गर्दै आएका थिए ।
सञ्चालकले सुन पसलमार्फत अवैध बैङ्किङ कारोबार गर्दे आएका थिए । सर्वसाधारणसँग अवैध बचत गर्ने गरेका सञ्चालकले बचत पास बुकमा लालबहादुरलाई समेत सही गराएका थिए ।
छोराहरू नभएका बेला लालबहादुरलाई साहु कृष्णबहादुरले आफू लेखपढ गर्न नजान्ने भन्दै पास बुकमा हस्ताक्षर गराउने गरेका थिए ।
सोही पास बुकमा बुकमा हस्ताक्षर गरेर अवैध रूपमा बैङ्क तथा वित्तीय संस्था सञ्चालन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीले उनीमाथि मुद्दा चलाएको थियो ।
ज्वेलर्स सञ्चालकले सर्वसाधारणको करोडौँ रुपैयाँ बचत फिर्ता नगरपछि प्रहरीमा सञ्चालक विरुद्ध किटानी जाहेरी परेको थियो ।
किटानी जाहेरीपछि अनुसन्धानका क्रममा पासबुकमा लालबहादुरको पनि हस्ताक्षर भेटिएपछि उनी पक्राउ परेका हुन् । ज्वेलर्समा बचत गर्नेहरूले समेत लालबहादुर निर्दोष भएको बताउँदै आएका छन् ।