कांग्रेस बैठकमा प्रश्न- शरणार्थी प्रकरणमा पार्टीको नेता पक्राउ पर्दा गृहमन्त्रीकहाँ धन्यवाद दिन किन पुग्नुभयो ?
काठमाडौं । नेपाली कांग्रेसको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाण पक्राउ परेपछि कांग्रेस नेताहरु गृहमन्त्रीलाई धन्यवाद दिन गएको प्रसंग उठेको छ । आफ्नै पार्टीका नेता पक्राउ परेपछि इतर पक्षका नेताहरुले नारायणकाजी श्रेष्ठलाई भेटेर धन्यवाद दिएका थिए ।
बैठकमा बोल्दै केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले पार्टी नेता पक्राउ गर्दा गृहमन्त्रीलाई धन्यवाद दिन गएकोप्रति आलोचना गरिन् ।
उनले भनिन्, ‘कांग्रेसको एउटा नेता कुनै अभियोग लागेर समातिँदै गर्दा कांग्रेसका केन्द्रीय सदस्य तथा नेताहरु गृहमन्त्रीकहाँ धन्यवाद दिन पुग्नुहुन्छ । किन धन्यवाद दिन पुग्नुभयो ? थाहा छैन । के कारणले पुग्नुभयो, थाहा छैन । त्यस्तो अभियोग लागेको अमुख पार्टीको नेताका बारेमा प्रश्न उठ्दा उहाँहरु केही बोल्नुहुन्न उहाँहरुको मुख फुट्दैन । बोली फुट्दैन ।’
उनको भनाइ जस्ताको तस्तैः
भ्रष्टाचाररहित समाजको परिकल्पना गर्नु हामी सबैको दायित्व हो । कांग्रेस विधि, विधान र पद्धति मान्ने पार्टी हो । कांग्रेस कानूनी राज्य मान्छ । कांग्रेस न्यायिक सर्वोच्चता मान्छ। कांग्रेसका हरेक कार्यकर्ता कानूनी राज्यको पक्षमा उभिनुपर्छ । तर, कांग्रेसको एउटा नेता कुनै अभियोग लागेर समातिँदै गर्दा कांग्रेसका केन्द्रीय सदस्य तथा नेताहरु गृहमन्त्रीकहाँ धन्यवाद दिन पुग्नुहुन्छ । किन धन्यवाद दिन पुग्नुभयो ? थाहा छैन । के कारणले पुग्नुभयो, थाहा छैन ।
त्यस्तो अभियोग लागेको अमुख पार्टीको नेताका बारेमा प्रश्न उठ्दा उहाँहरु केही बोल्नुहुन्न उहाँहरुको मुख फुट्दैन। बोली फुट्दैन । लागेको होला उहाँहरुलाई कुनै एउटा फरक विचार समूहको फरक गुटको मान्छेलाई खुइल्याउनको लागि डेक्ची बसाको तातोपानी आफूलाई मन परेको मान्छेतिर पनि खनिनसक्छ त्यो पनि विचार पुर्याउनुहोला ।
यस्ता भ्रष्टाचारीलाई जोगाउने पार्टी नै भ्रष्टाचारी हो । यस्तो भ्रष्टाचारी पार्टी निमिट्यान्न नपारी देशमा विकास हुँदैन ।
सर्पको खुट्टा सर्पले देख्छ रे? लोकको उक्ति