सानेपा लाइभले भित्र एउटा बाहिर अर्को कुरा गरेर भ्रम पार्ने कामको अन्त्य भयो : प्रवक्ता महत
काठमाडौं । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय समितिको बैठक लाइभ हुनुले जनतामा भ्रम पैदा नहुने बताउनुभएको छ ।
बुधबार दोस्रो दिनको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवाले बैठकको लाइभ गरेर जनतालाई यथार्थ कुरा बुझाएको जिकिर गरे । विगतमा भित्र एउटा र बाहिर अर्को हुने कुरालाई लाइभका कारण रोकिएको महतको दाबी थियो ।
उनले भने, ‘लाइभले राम्रो गरेको छ । नत्र भित्र एउटा कुरा भएको छ, बाहिर अर्को कुरा बोल्दा पार्टी अप्ठ्यारोमा पर्ने गर्दथ्यो । यो लाइभले गर्दा यो भ्रम बाहिर पर्ने कुराको अन्त्य गरेको छ । सबैकुरा पारदर्शी
हुन्छ, जिम्मेवारीपूर्वक बोल्ने काम भएको छ । भित्र एउटा हुन्थे, बाहिर यस्तो भयो भन्थे, अब त सबैकुरा आउने भयो, कसैले भ्रम पार्ने भएनन् ।’
पार्टी बलियो बनाएमात्रै पार्टीका व्यक्तिहरू बलियो हुने कुरा बैठकमा बहस भएको र यसले पार्टीलाई सुदृढ पार्ने उनको विश्वास थियो । पार्टी नेता बालकृष्ण खाणको मुद्दाका बारेमा महतले कांग्रेस विधिको शासनमा विश्वास गर्ने पार्टी भएकाले कसैले गरेका कमी कमजोरी विधिबाट समाधान हुनुपर्ने बताए ।