सुनको भाउ हालसम्मकै सबैभन्दा धेरै कसरी पुग्यो, अझै बढ्छ ?
काठमाडौं । आज सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । बिहीबार नेपाली बजारमा छापवाल सुन तोलामा १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि जेठ १९ गते १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
हाल बजारमा सुनचाँदी व्यवसायीहरूले गर्ने माग न्यून रहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । अझै बजारमा सुनको मूल्य बढ्दै जाने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताए ।
शाक्य भन्छन्, ‘अहिलेको अवस्थालाई हेर्दा सुनको मूल्य घट्ने सम्भावना एकदमै कम रहेको छ । तर, बढ्ने सम्भावना भने अत्यधिक छ ।सामान्य रूपमा हेर्दा बैंक तथा वित्तीय संस्थामा निक्षेप बढिरहेको छ । बजारमा लगानी कम भइरहेको छ । यसरी बजारमा लगानी न्यून हुँदा सुनचाँदीमा लगानी बढ्ने गरेको देखिन्छ । सुनको मूल्य बढेर कति पुग्छ भनेर ठ्याक्कै भन्न सकिँदैन तर बढ्ने वातावरण भने देख्न सकिन्छ । किनभने मानिसहरूको व्यापार व्यवसायभन्दा सुनमा लगानी गर्ने मानसिकता बढ्दो छ ।’
बजार माग र पूर्तिको सन्तुलनमा राष्ट्र बैंक रहेको छ । सुनको मूल्य वृद्धि हुनुको कारण व्यापार व्यवसायी तथा उद्योगहरूमा घट्दो लगानी तथा अन्तर्राष्ट्रिय बजार रहेको अध्यक्ष शाक्य बताउँछन् ।
‘आजभन्दा ४० वर्ष पहिला सीमित निकायहरूबाट सुनचाँदीको व्यवस्थापन हुन्थ्यो । मानिसहरू चाडपर्वको समयमा मात्रै सुनचाँदीको किनबेच गर्थे । किसानहरूले मौसम अनुसार कारोबार गरिन्थ्यो । बजारको माग पनि सोही अनुसार चलिरहेको हुन्थ्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघको स्थापनापछि नेपाली बजार र अन्तर्राष्ट्रिय मूल्य मान्यता जोडिन पुग्यो । वैज्ञानिक बजार जस्तो अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष प्रभाव पर्ने भएकाले सुनचाँदीको कारोबार बढ्न चाडपर्व मात्रै आउनुपर्ने अवस्था छैन,’ उनले भने, ‘व्यापार व्यवसायमा पैसा डुब्ने जोखिम उच्च हुन्छ तर, सुनचाँदीमा भने त्यस्तो नहुने हुँदा अहिले मानिसहरूमा सुनमा लगानी गर्दै गएको देखिन्छ । मानीहरूको मानसिकताले पनि धेरै कुराको माग बढाएको छ ।’
यसअघि मात्रै महासंघले सुनको मूल्य १ लाख २५ हजार पुग्ने प्रक्षेपण गरेको थियो । तर, बजारमा उक्त प्रक्षेपण मेल खान सकेन । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विश्लेषकले त्यति बेलाको अवस्थालाई हेर्दै प्रक्षेपण गरेको अध्यक्ष शाक्य बताउँछन् ।
उनले भने, ‘अन्तर्राष्ट्रिय बजारको स्थिति, मुद्राको दर लगायतका विविध पक्ष तथा रुस युक्रेन युद्धले गर्दा परेको प्रभाव सबैलाई हेरेर गरिएको प्रक्षेपण थियो । जुन सबै कुरा प्रतिकुल हुँदै गएपछि ठुलो प्रभाव पर्न सकेँन । नेपालको आन्तिरिक व्यवस्था तथा मामिलाहरूले सुनको मूल्य निर्धारण गर्दैन । मूल्य निर्धारण गर्ने छुट्टै तत्त्वहरू छन् । हामीले व्यापार गर्ने भनेको अन्तर्राष्ट्रिय बजारसँग जोडिएर हो । त्यसैले बाह्य प्रभावले भने यसमा ठूलो भूमिका निर्वाह गर्छ ।’