८८ वर्षीय ‘लाहुरे बा’ भन्छन्- भाषा बिगार्नेले सबै सत्यनाश बनाउँछ – Nepal Press

८८ वर्षीय ‘लाहुरे बा’ भन्छन्- भाषा बिगार्नेले सबै सत्यनाश बनाउँछ

‘असुरयन्त्र (मोबाइल)ले पठन संस्कृति ध्वस्त बनायो’

रुपन्देही । नाम जंगबहादुर शाह । उमेर ८८ । भारतीय सेनाबाट रिटायर्ड । तर, नेपाली, अंग्रेजी, संस्कृत, हिन्दी र उर्दू भाषाका ज्ञाता । यो उमेरमा पनि निर्धक्क हिँड्ने, खाने, योगा गर्ने र दैनिक ८ देखि १२ घन्टासम्म नियमित अध्ययन र लेखनमा समय बिताउँछन् शाह ।

‘लाहुरे बा’ भनी चिनिएका शाह रुपन्देही आसपासका अधिकतम साहित्य र शिक्षासम्बन्धी कार्यक्रममा पुग्छन् र भाषा बिगार्नेहरुलाई खबरदारी गर्छन् । सञ्चारमाध्यममा प्रकाशन र प्रशारण हुने भाषामा गडबडी हुनासाथ तत्काल सम्पादकलाई सजग बनाउँछन् उनी । धेरै कार्यक्रममा उनको एउटै भनाइ थेगो हुन्छ- ‘म त लाहुरे । धेरै केही जानेको छैन । तर, तिमीहरुलाई भाषा बिगार्न भने दिनेछैन । भाषा बिगार्नेले सबै सत्यनाश बनाउँछ ।’

शाहले निवासमा निजी पुस्तकालय बनाएका छन् । यस क्षेत्रका अध्ययनमा रुचि राख्नेहरु समय मिलाएर उनको पुस्तकालयमा जान्छन् र घन्टौं अध्ययन गरेर फर्कन्छन् । पुस्तकालयमा इतिहास, धर्म, संस्कृति र ज्ञानका किताबहरु छन् । शाह पुस्तकालयका एक्ला स्याहारकर्ता पनि हुन् ।

‘किताबलाई कीरा, धुलोबाट जोगाउन उत्तिकै मेहनत गर्नुपर्छ । आउने बन्धुहरुलाई पढ्न दिएपछि पुनः मिलाएर राख्ने काम धेरैजसो म आफैं गर्न रुचाउँछु’, उनले भने, ‘पढ्ने मान्छे देखेपछि धेरै माया लाग्छ । आजभोलि पढ्ने संस्कृति हराएकोमा धेरै चिन्ता लागेको छ ।’

भारतीय सेनाबाट रिटायर्ड भएका शाह कसरी साहित्य तथा पुस्तक संग्रहकर्ता भए भन्ने विषयमा धेरै अनौठो मान्छन् । उनको दैनिकी हरेक दिन एकै किसिमले बितिरहेको छ । बिहान पौने ६ बजे उठ्ने उनी नियमित कर्मपछि मध्यान्ह १२ बजेसम्म अध्ययन गर्छन् । खाना खाएपछि करिव तीन घण्टा आँखालाई आराम दिने उनी साँझ ५ बजेसम्म फेरि अध्ययन गर्छन् । त्यसपछि प्रणायाम गर्छन् । घरभित्रै आधा घण्टा हिँड्छन् ।

प्यूठानमा जन्मेका उनी सन् १९५७ मा भारतको गोरखपुरमा आईए पास गरेर सेनामा क्लर्क भएका थिए । किताब पढ्ने उनको रुचिलाई क्लर्क भएपछि थप सहयोग भएको उनी बताउँछन् । हुन त उनी लडाइँमा नगएका होइनन् । त्यहाँ जाँदा पनि रसदको व्यवस्थापन गर्ने, लडाइँका लागि आवश्यक गोलाबारुदको प्रवन्ध मिलाउने, युद्धमा मरेका लडाकूहरुको डाटा राख्ने उनको काम हुन्थ्यो ।

सेनामा भर्ती हुँदा तलब स्केल ५० रुपैयाँ भारु रहेको स्मरण गर्छन् उनी । तर, अहिले पेन्सन नै ७० हजारभन्दा माथि नेपाली रुपैयाँ छ । आएको पेन्सनले किताब किन्छन् । उनको पुस्तकालयमा करिब तीन हजार पुस्तक छ । संस्कृत, हिन्दी, अंग्रेजी र बौद्ध साहित्यका पुस्तकहरु छन् । कहिलेकाहीं एकैपटक २०-२२ हजारको पुस्तक किन्ने गरेको उनी बताउँछन् । पुस्तक मेला वा प्रदर्शनीमा मात्र होइन, आफूले पुस्तक लेख्नुपर्दा सन्दर्भ सामग्रीका निम्ति समेत मनग्य पुस्तक किन्ने गरेको शाहले बताए ।

उनले यस्ता पोका कथा, सेक्सपियरका नाटकहरु, मन्टोजका कथाहरु नेपाली भाषामा अनुवाद गरेका छन्, विश्वामित्र जस्तो वैदिक उपन्यास लेखेका छन् । पश्चिमाहरुको कथालाई समेटेर १९औं पुराण लेखेका छन् । उदयन (उपन्यास), इति ह आस (कथा संग्रह) र धम्मपद (बौद्ध कथा) प्रकाशन गर्ने तयारीमा छन् शाह ।

विश्वामित्र उपन्यास लेख्न उनलाई योगी नरहरिनाथले सल्लाह दिएको शाह बताउँछन् । राजनीतिज्ञ एवम् साहित्यकार राजेश्वर देवकोटाले वनारससम्म पुग्न दिशानिर्देश र आवश्यक पुस्तकहरुको क्याटलग उपलब्ध गराएको उनको भनाइ छ । त्यतिबेला उनले २० हजार भारुको वैदिक साहित्यका पुस्तकहरु खरिद गरे । किनेका पुस्तकहरु चार वर्ष निरन्तर पढे । एक वर्ष घुँडा धसेर लेखे । विश्वामित्र उपन्यास करिव पाँच सय पृष्ठको छ ।

२०५८ सालतिर उक्त पुस्तक रणबहादुर शाहले प्रकाशन गरिदिएका थिए । शल्यक्रिया उनको पछिल्लो प्रकाशित कृति हो ।

शाहले भारतमा रहँदा कक्षा ६ देखि ८ सम्म अनिवार्य र ९ तथा १० मा ऐच्छिक विषयका रुपमा संस्कृत भाषा पढेका थिए । उनका बाबा भारतको रेलवे लाइनमा जागिरे थिए । एनसीसीमा तालिम लिएर उनी भारतीय सेनामा भर्ती भएका थिए । सन् १९८४ मा सेवा निवृत्त भएर बुटवलमा आउँदा उनको पेन्सन मासिक ४६४ भारु थियो । त्यसबेला उनले टोलछिमेकका केटाकेटीलाई एक वर्षभन्दा बढी समय अंग्रेजी भाषा निःशुल्क पढाएका थिए । पछि बुटवल पब्लिक स्कूलमा पाँच वर्ष जति सल्लाहकार शिक्षकका रुपमा सेवा गरे ।

आफ्नो निजी पुस्तकालयमा रहेका ९० प्रतिशत पुस्तक उनले आद्योपान्त पढेका छन् । कुनै कुनै पुस्तकहरु त उनले पचास साठी पटक दोहोराएर पढेका छन् । ‘एक दिन पढ्न पाइएन भने के बिर्सें के बिर्सें जस्तो हुन्छ’, उनी भन्छन्, ‘पढ्नुमै जीवनको अर्थ छ । पुस्तकका पानाहरुमा रहेका अक्षरहरु केवल अक्षरहरु होइनन्, ज्ञानका बीज हुन् । जसले मानिसलाई हरेक समस्याहरुबाट पार लगाउन सक्छ ।’

त्यसैले त शाह साहित्यका घुरन्धर विद्वान हुन्, लेखक हुन् । तैपनि उनी आफूलाई लाहुरे भन्न रुचाउँछन् । लालमान दिवान, उदवीरसिंह थापा जस्ता लाहुरेबाट आफूले पढ्ने प्रेरणा मिलेको बताउँदै उनी पढ्नमै आनन्द मान्छन्, सर्वस्व किताबमा पाउँछन् ।

शाह एकएक छोराछोरीले स्नातकसम्म अध्ययन गरेका छन् । लाहुरे बा जंगबहादुरले भने पल्टनै हुँदा प्राइभेटमा बीए र हिन्दीमा विशारद पास गरेका थिए ।

साहित्य तथा लेखनमा उनले विभिन्न पुरस्कार तथा सम्मानसमेत पाएका छन् । सुब्बेनी आमा रतनवाई खाती प्रतिष्ठानको प्रशस्तिपत्र, त्रिकूर्ति पुरस्कार, लुम्बिनी साहित्य पुरस्कार, सिद्घार्थ साहित्य परिषद भानु सम्मान, नेत्र-शोभा स्मृति साहित्यिक पुरस्कार, टेकबहादुर पन्थी स्मृति साहित्यिक पुरस्कार, कवि लेखनाथ ज्ञवाली वाङ्मय पुरस्कार, लुम्बिनी वाङ्मय प्रतिष्ठानबाट सम्मान, भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समिति प्रशंस्ती पत्र र स्वर्णपदक, नइ धनरुप पुरस्कार र नइ रजत महोत्सव पदक उनले पाएका मुख्य पुरस्कार तथा सम्मान हुन् ।

बुटवलको जोगीकुटी शान्ति चोकदेखि उत्तरतिरको देवसिद्ध चोकतिर जाने बाटोमा उनको घर छ । उमेरले आठ दशक कटे पनि उनी घरिघरि मोबाइल चलाउँछन् । इन्टरनेटमा आफूलाई मनपर्ने विषयवस्तु खोज्छन् । मोबाइललाई उनी अशुर यन्त्र भन्छन् । ‘चलाउन जाने वरुण जस्तै राम्रो र नजाने राक्षस । पठन संस्कृतिलाई यही अशुर यन्त्रले ध्वस्त बनाएको हो’, उनले भने ।

शाहका प्रकाशित कृतिहरुमा विश्वभित्र (गायत्री मंत्रदष्टाबारे उपन्यास), शल्यक्रिया (माधवी ऋग्वैदिक नारी चरित्र र असहमति को साहित्यिक चिरफार) रहेका छन् । प्रकाशोन्मूख किताबहरुमा मण्टोको कथा (पाकिस्तानी कथाकार सआढत हसन मण्टोका कथाहरुको नेपाली अनुवाद), इति ह आस (ब्रह्मादेखि एनिमल फार्मको घोडासम्म), शल्यक्रिया-२ ‘भूमिसूक्त’, ‘वाल्मीकि र व्यास’, ‘तरलनात्मक अनुशीलन र वोल्गा से गंगाको साहित्यिक चिरफार रहेका छन् ।

त्यसैगरी प्रकाशनको पर्खाइमा वेदायन- वैदिक कथाहरुका संगालोे, बुद्धायन- शास्तासम्बन्धी कथाहरु, धम्मपद- पालि श्लोकको रोमन लिपिमा लिप्चन्तरण नेपाली र हिन्दी अनुवाद युजिन वाट्सन, बर्लिलिङगेमकृत बुद्घिस्ट लेजेण्डसबाट, घीरललित- बुदका कान्छा समकालीन वत्सराज उदयनबारे उपन्यास, शेक्सपियरायण- शेक्सपियरका नाटकहरुको कथामा रुपान्तरण (अनुवाद), उन्नाइसौं पुराण- पाश्चात्य पुराकथा, वाल्गादेखि गंगासम्म- वोग्गा से गंगा की अनुवाद, यस्ता पो कथा- भारतका प्रसिद्ध कथाहरुको अनुवाद रहेका छन् ।

शाहले पाञ्चालराज- ऋग्वेदयुगीन दिवोदास, शम्बर सुदास, दाशराज युद्घबारे उपन्यास, खिच्रो- विविध विषयक लेखहरुको संगालो, अकिञ्चन कथा- लाहुरेको संस्मरण पुस्तकलाई आफ्नो तालिकामा राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *