भाेलिदेखि खप्तड- शैलेश्वरी गोल्डकप प्रतियोगिता हुने
डोटी । खप्तड–शैलेश्वरी गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो संस्करणको आयोजना हुने भएको छ ।डोटी उद्योग वाणिज्य संघको आयोजना र नेपाली सेनाको भैरव प्रसाद गणको व्यावस्थापनामा जिल्लास्तरीय खप्तड शैलेश्वरी गोल्ड कप फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो ।
जिल्लामा खेल क्षेत्रको विकासमा सहयोग पुर्याउन र खेलाडीहरूको मनोबल बढाउन प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्था डोटी उद्योग बाणिज्य संघ अध्यक्ष मोहन कलेलले जानकारी दिए ।
शनिबारदेखि सुरु हुने प्रतियोगिता अन्तर्गत फुटबलमा डोटी जिल्लाभित्रका ८ वटा टिमले सहभागिता जनाउने छन् । जस अनुसार पोल “ए” मा भैरव प्रसाद गण (ए), पूर्वीचौकी गाउँपालिका, डोटी उद्योग बाणिज्य संघ र डि एस एस टिम रहेका छन् । यस्तै, पोल “बि” अन्तरगत सिवाईएस सिलगढी, ब्ल्याक स्टोन ब्वाइज, भैरवप्रसाद गण (बिं) र सेती प्राविधिक शिक्षालयको टिम रहेका छन् ।
उद्घाटन खेल भैरव प्रसाद गण (ए) र पूर्वीचौकी गाउँपालिकाबीच शनिबार ४ बजे स्थानीय टुँडिखेलमा हुने भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमतबहादुर कार्कीले जानकारी दिए । खेल नकआउट प्रणालीद्वारा खेलाइने समेत काकीले वताए । प्रतियोगिता साउन १२ गतेसम्म चल्नेछ ।