ओलीलाई महेशको आग्रह- अबदेखि एक्लै चुनाव लडौं, कसैको वैशाखी नबनौं – Nepal Press

ओलीलाई महेशको आग्रह- अबदेखि एक्लै चुनाव लडौं, कसैको वैशाखी नबनौं

पोखरा । पूर्वमन्त्री एवम् नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले आगामी चुनावदेखि एक्लै चुनाव लड्न र कसैसँग गठबन्धन नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल पोखरा महानगर कमिटीको प्रथम पूर्ण बैठकलाई शुक्रबार सम्बोधन गर्दै युवा संघका पूर्वाध्यक्षसमेत रहेका बस्नेतले चुनावमा मिलेका शक्तिले धोका दिने गरेकाले अब कसैको वैशाखी बन्न नहुने बताए ।

‘पार्टी नेतृत्वलाई भन्न चाहन्छु । एमाले एक्लै चुनावमा जानुपर्छ । एमाले वैशाखी बनेर माओवादी, राप्रपालाई बोक्नु हुँदैन । यिनीहरुको संगतले एमालेका मान्छे पनि बिग्रिएका छन्’, उनले भने ।

सुशासन दिन नसक्नुको मुख्य कारण कुनै पनि राजनीतिक दल राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न नसक्नु भएको बस्नेतले दाबी गरे ।

त्रिभुवन विमानस्थलबाट सुन तस्करी भएको विषयमा बोल्दा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतविरुद्ध उजुरी गरिएको भन्दै उनले आपत्ति जनाए ।

‘चार्ल्स शोभराजले तिमीहरुको एअरपोर्टबाट सुनको हात्ती छिराइदिन्छु भनेका थिए । अहिले सय किलो सुन छिरेको छ’, उनले थपे, ‘विदेशबाट मोबाइल आउँदा डिटेक्टर कराउँछ । त्यत्रो सुन आउँदा त्यहाँको डिटेक्टर कराउँदैन । राजस्व अनुसन्धानले दोलखाका गरिब, चाइनिज, इन्डियन समात्छ । उनीहरुको कल डिटेल माओवादीका नेतासँग जोडिन्छ । अनि सुन तस्करलाई होइन गणेश बस्नेतलाई समात्न लाग्छ ।’

उनले राप्रपाले राजतन्त्रको प्रेतआत्मा बोकेको र राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै भिजन नभएकाले ती पार्टीबाट देश विकास सम्भव नरहेको जिकिर गरे ।

 


प्रतिक्रिया

One thought on “ओलीलाई महेशको आग्रह- अबदेखि एक्लै चुनाव लडौं, कसैको वैशाखी नबनौं

  1. सही कुरा । उपेन्द्रको पार्टीले एमाले कै भोटले जित्यो तर कोशी सरकार ढाल्यो । यस्ता दलालहरूलाई किन सँगै लैजाने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर