डा. उप्रेतीको ‘मैले देखेको नेपाल’ सार्वजनिक – Nepal Press

डा. उप्रेतीको ‘मैले देखेको नेपाल’ सार्वजनिक

काठमाडौं । पूर्व सचिव तथा वाटर एसिया इन्टरनेशनलका अध्यक्ष डा. त्रिलोचन उप्रेतीको आठौँ कृति ‘मैले देखेको नेपाल’ शनिवार सार्वजनिक गरिएको छ ।

कृतिमा २०३५ सालदेखि २०८० सम्मका प्रमुख राजनीतिक, सामाजिक, आर्थिक घटनाक्रमलाई प्रस्तुत गरिएको छ ।

एसिया वाटर इन्टरनेशनलद्वारा प्रज्ञा भवन, कमलादीमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतका पूर्व न्यायाधीश टोपबहादुर सिंह, पूर्व मुख्यसचिव डा. विमलप्रसाद कोइराला, पूर्व सचिव डा. द्वारिकानाथ ढुङ्गेल, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेती र महिला अधिकारकर्मी डा. रेणु राजभण्डारीले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।

प्रमुख अतिथि पूर्व न्यायाधीश टोपबहादुर सिंहले २००७ सालको परिवर्तनपछि नेपालमा भारतले माइक्रोम्यानेजमेन्ट गरिरहेको र पछिल्लो समय चीनले समेत त्यसको सिको गर्दै आएको बताए ।

उनले पछिल्लो समय पश्चिमा शक्तिको समेत नेपालमा प्रभाव बढाउँदै लगेको चर्चा गर्दै मुलुकको विकासमा सचेत नेपालीले चिन्तन मनन गर्नुपर्नेमा जोड दिए ।

पूर्व सचिव डा.विमल कोइरालाले पुस्तकको समीक्षा गर्दै मैले देखेको नेपालभित्र आफूले नदेखेको नेपालको चित्र पाएको बताए । उनले पुस्तकमा इतिहास, समाजशास्त्र, राजनीति सबै मिसमास भएर आएको चर्चा गर्दै यसलाई छुट्याउन कठिन भएको बताए ।

यस्तै पूर्व सचिव डा. द्वारिकानाथ ढुङ्गेलले पुस्तकको चर्चा गर्दै आर्थिक, राजनीतिक, सामाजिक, वैदेशिक स्थितिको चित्रण कृतिमा गरिएको बताए ।

यस्तै, महिला अधिकारकर्मी डा. रेणु राजभण्डारीले मानवअधिकार र महिला दृष्टिकोणबाट पुस्तकको चर्चा गर्दै शब्दकै हिसाबले भए पनि लैङ्गिक संवेदनशीलतामा पुस्तक सचेत रहेको टिप्पणी गरिन् ।

पुस्तकका लेखक डा.त्रिलोचन उप्रेतीले आफूले भोगेका, देखेका घटनालाई मिहिन ढङ्गले पुस्तकमा उतार्ने जमर्को गरेको बताए । उनले कुनै पनि विषयलाई ठीक र बेठीक भनेर छुट्याउन नेपाली समाज असफल हुँदैगएको चर्चा गर्दै तर आफूले पुस्तक लेख्दा कुनै पनि प्रभावमा नपरी लेखेको जिकिर गरे ।

कार्यक्रमको अध्यक्ष पूर्वकुलपति गंगाप्रसाद उप्रेतीले प्रस्तुत पुस्तकले नेपाली समाजका विविध पक्षलाई बहसमा ल्याउने बताए ।

कार्यक्रमको उद्देश्यमाथि वाटर एसिया इन्टरनेसनलका सञ्चालक सदस्य पदम तामाङले प्रकाश पारे । कार्यक्रमको सहजीकरण बुद्धि तिमिल्सिनाले गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *