पीएसजीले प्रि सिजन भ्रमणमा नराखेपछि अन्योलमा एमबाप्पे, खेलाडी संघले जनायो आपत्ति
पेरिस। स्टार स्ट्राइकर केलियन एमबाप्पेलाई जापान र दक्षिण कोरिया भ्रमणमा नराखिएपछि फ्रान्सको लिग च्याम्पियन पेरिस सेन्ट जर्मन(पीएसजी)को आलोचना बढिरहेको छ।
पीएसजी प्रिसिजन भ्रमणमा निस्कनु अघि, अन्य क्लबमा जाने इच्छा व्यक्त गरिरहेका एमबाप्पेसँग सम्बन्ध चिसिएको संकेत सार्वजनिक भएको हो। एमबाप्पे र पीएसजीबीच आगामी सिजन सम्झौता सकिँदै छ।
तर पीएसजीले यसै सिजन एमबाप्पेलाई बिदा गर्दै ट्रान्सफरबाट केही रकम हात पार्ने योजनामा रहेको छ। त्यसका लागि एमबाप्पेमाथि दबाब बढाइएको हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
एमबाप्पे पीएसजीका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन्। एमबाप्पेलाई आबद्ध गर्न चाहने क्लबहरूले अगष्ट ३१ तारिखसम्म प्रक्रिया पुरा गर्नुपर्ने छ।
फ्रान्सको फुटबल खेलाडी संघले एमबाप्पेविरुद्ध गरिएको व्यवहारलाई लिएर पीएसजीविरुद्ध कानुनी उपचार खोजिने चेतावनी दिएको छ। एमबाप्पेविरुद्ध नैतिक दुर्व्यवहार भएको खेलाडी संघको ठहर छ।
एमबाप्पेलाई दबाब दिएर क्लब छाड्न बाध्य पार्न लागिएको उसले उल्लेख गरेको छ। एमबाप्पे फ्रान्सको राष्ट्रिय टोलीका कप्तान हुन्। उनकै प्रेरणामा फ्रान्सले सन् २०१८ को विश्वकप जितेको थियो भने गत वर्ष फेरी फाइनलसम्म यात्रा तय गरेको थियो।
२४ वर्षीय एमबाप्पेलाई स्पेनिस क्लब रियल म्याड्रिडसहित इङ्लिस प्रिमियर क्लबहरू समेत भित्र्याउन चाहन्छन्।
आगामी वर्ष सम्झौता अवधि सकिएपछि एमबाप्पे फ्रि एजेन्टमार्फत आफूले चाहेको क्लबमा जान सक्नेछन्। त्यसबापत पीएसजीलाई कुनै रकम प्राप्त हुने छैन। एमबाप्पेलाई पीएसजीले सन् २०१७ मा अर्को घरेलु क्लब मोनाकोबाट भित्र्याएको थियो।
पीएसजी फ्रान्सको घरेलु लिग लिग-१ का पछिल्लो लगातार ५ संस्करणमा गोल्डेन बुट विजेता हुन्। उनले पीएसजी भित्रिएयता क्लबका लागि २ सय ६० खेलमा २ सय १२ गोल गरेका छन्।
एमबाप्पे र पीएसजीबीच सन् २०२२ मा सम्झौता सकिएपनि यी दुवै पक्ष २ वर्ष करार लम्ब्याउन सहमत भएका थिए।
२ सिजन अघि क्लब भित्रिएका लियोनल मेस्सी यसै सिजन पीएसजी छाडेर अमेरिकाको मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामी पुगेका छन्।
लियोनल मेस्सी, एमबाप्पे, नेमारजस्ता स्टार खेलाडीलाई २ वर्ष एकसाथ मैदान उतारेपनि पीएसजीले महत्वाकांक्षी युरोपियन च्याम्पियन्स लिग उपाधि सपना पुरा गर्न सकेको थिएन।