लाइसेन्स बनाइदिने भन्दै ठगी गर्ने र ठगेको सुन किन्ने पक्राउ
काठमाडौं । सवारी ट्रायल पास गराइदिने र लाइसेन्स बनाइदिने भन्दै यातायातको कर्मचारी भनेर ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महालक्ष्मी नगरपालिका एकान्तकुनाका ३० वर्षीय राजु परियारलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
परियारले आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको भन्दै विभिन्न व्यक्तिबाट नगद तथा सुनको गहना लिएका थिए । विभिन्न पीडितहरूको उजुरीको आधारमा उनलाई ४ लाख ३० हजार नगदसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।
राजुले ठगी गरेर लिएको सुन खरिद गर्ने कृष्ण ज्वेलर्स एण्ड सन्सका सञ्चालक कलंकी सुनारगाउँका ३६ वर्षीय ब्रम्हा रिसाललाई पनि पक्राउ गरेको रेग्मीले जानकारी दिए ।
उनीहरूमाथि ठगीसम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर जावलाखेलमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।