संसदीय दलको बैठक बोलाउन कांग्रेस सांसद शर्माको माग, सुन तस्करीमा अर्थ र गृहमन्त्रीको भूमिका शंकास्पद
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।
मोरङ-३ बाट निर्वाचित सांसद शर्माले सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा लिखित निवेदन दिँदै साउन १० अगावै दलको बैठक बोलाउन माग गरेका हुन् । उनले एयरपोर्टबाट भएको सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीको भूमिकाप्रति शंका उत्पन्न भएकाले यसबारेमा कांग्रेस संसदीय दलको बैठकमै छलफल हुनुपर्ने देखिएकाले बैठक बोलाउन माग गरेको बताएका छन् ।
यसअघि संसदीय समितिको बैठकमा सांसद शर्माले राजनीति नेतृत्वको संरक्षणबिना सुन तस्करी नहुने भन्दै अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका थिए ।