रुपन्देही शिक्षा समन्वय इकाई प्रमुख ढकालको सरुवा
रुपन्देही । सेवा निवृत्त हुन थोरै समय बाँकी रहेका रुपन्देही जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख दीपेन्द्र ढकाल विवादमा परेपछि सरुवा भएका छन् ।
शनिवार पासबिना सरकारी गाडी लिएर निजी विद्यालयका सञ्चालकसँग भोजमा भेटिएपछि उनी सवार सरकारी गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएपछि उनी विवादमा तानिएका थिए ।
बिदाको दिन विद्यालय अनुगमनको बहानामा प्रशासनको पासबिना गाडीमा सवार भएको अवस्थामा ट्राफिक प्रहरीले गाडी नियन्त्रणमा लिएको हो ।
सेवा निवृत्त हुन करिब एक महिना बाँकी रहेका ढकालको रुपन्देहीबाट गण्डकी प्रदेशमा रहेको राष्ट्रिय परीक्षा बोर्डमा सरुवा भएको हो ।
उनले सोमबार नै आफू निकटका साथीहरूसँग बिदाइ भइसकेको स्रोतले जनाएको छ ।
ढकाल करिब ४ वर्षअघि रुपन्देहीको जिम्मेवारीमा आएका थिए ।
उनको सरुवा भएसँगै रुपन्देहीको जिल्ला शिक्षा समन्वय इकाई मा माधव बन्जाडे आएका छन् । उनी शिक्षा मन्त्रालयको तालिम शाखामा रहेका थिए ।
सेवाको अन्तिम समयमा विवादमा तानिएपछि ढकाल छोटो समयका लागि सरुवा भएका हुन् । धेरैले उनलाई कारबाही गरिएको बुझे पनि उनी आफैले भने सहकर्मीहरूसँग घरमा हेर्नुपर्ने भएकाले सरुवा भएको जनाएका छन् ।
शनिवार उनी सवार पासबिनाको जिल्ला शिक्षा समन्वयको बा २ झ १०१० नम्बरको सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिएपछि सँगै गएका निजी विद्यालयका सञ्चालकले उनलाई घरमा छोडिदिएका थिए । सामान्य विषयलाई प्रमुख जिल्ला अधिकारीले इगो बनाएर गाडी नियन्त्रणमा लिएपछि उनी तनावमा रहेका थिए ।
शनिवारको दिन सरकारी गाडीको दुरुपयोग गर्दै पाल्पाको नुवाकोट पुगेर मदिरा पार्टीमा सहभागी भएको अवस्थामा भेटिएको समाचार सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले गाडी नियन्त्रणमा लिन निर्देशन दिएका थिए ।