केन्द्रीय समितिको बैठक शक्ति प्रदर्शन गर्ने थलो बन्यो, सबै महामन्त्रीविरुद्ध खनिए: चन्द्र भण्डारी (भिडिओ)
‘नेपालका कम्युनिष्टहरुसँग प्रतिस्पर्धा गर्नु राजासँग लड्नुभन्दा कठिन हो भन्ने कुरा कांग्रेसले बुझ्नुपर्छ’
काठमाडौं । कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेस केन्द्रीय समितिको बैठकमा राष्ट्रिय मुद्दा छाडेर शक्ति प्रदर्शनको गर्ने थलो बनेको टिप्पणी गरेका छन् ।
बीपी स्मृति सप्ताह कार्यक्रममा बोल्दै उनले सबै नेताहरु दुई युवा महामन्त्रीमाथि खनिएकोप्रति आलोचना गरे ।
उनले भने, ‘मैले सोचेको थिएँ, कांग्रेसको केन्द्रीय समितिको बैठकले धेरै मुद्दाहरु उठाउनेछ । तर, कांग्रेस केन्द्रीय समितिको मिटिङ कस्तो भयो ? केन्द्रीय समितिको बैठकमा एकले अर्कालाई गाली गर्ने, खुइल्याउने ? राष्ट्रिय एजेण्डाहरुलाई नछुने ? यसको कारणले कांग्रेस बलियो भएको छ कि कमजोर भएको छ ? अहिलेको हाम्रो चुनौती यही हो ।’
उनले नेपालका कम्युनिष्टहरुसँग प्रतिस्पर्धा गर्नु राजासँग लड्नुभन्दा कठिन हो भन्ने कुरा कांग्रेसले बुझ्नुपर्ने बताए । अहिले कांग्रेसको व्यवहार र शैलीले आफूहरुले चाहेको कुनै प्रयास सफल नहुने उनको भनाइ छ ।
महामन्त्रीले प्रस्तुत गरेको एजेण्डा राम्रो भएको उल्लेख गर्दै नेता भण्डारीले रुपान्तरण अभियानको सुझावलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।