बालकृष्ण खाणलक्षित गुरुराज घिमिरेको टिप्पणी- उहाँको आफ्नै कर्म हो, दुःख मानिँदैन (भिडिओ)
‘केन्द्रीय समितिको बैठक महाराजको इशारा चलेजस्तो भयो’
काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले केन्द्रीय कार्यसमिति बैठकमा गम्भिरतापूर्वक छलफल नभएको टिप्पणी गरेका छन् । बीपी स्मृति सप्ताह कार्यक्रममा बोल्दै उनले बैठक भारदारी सभाजस्तो भएको बताए ।
उनले भने, ‘महाराजको इशारा जता छ, त्यतैतिर आवाजहरू आउँछन् । त्यतैतिर अभिव्यक्ति आउँछन् । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति भारदारी सभा होइन । पार्टी प्रमुखको इशारामा, जता पार्टी सभापतिले इसारा गर्नुहुन्छ, त्यतै बोल्ने मैले देखेँ । दुःख र कर्म फरक हो । दुःख र कर्मको भेद छुट्टयाउन जान्नुपर्छ ।’
उनले केन्द्रीय समितिका नेताहरूले दुःख र कर्मको भेद नै छुट्याउन नसकेको उनको भनाइ छ । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुना रहेको पूर्वगृहमन्त्री बालकृष्ण खाण आफ्नै कर्म भोगिरहेको टिपपणी गरे ।
उनले खाणलक्षित गर्दै भने, ‘कर्मका कारण राज्यको जिम्मेवारीमा गएको व्यक्ति आफ्नै कर्मका कारण मुद्दाको पात्र बन्छ भने त्यसलाई दुःख मानिँदैन । त्यो कर्म हो । उहाँकै कर्मले हो। जति पनि व्यक्तिहरू आज भ्रष्टाचारको प्रकरणले मुछिएका छन् । भने अनुसन्धानबाट निष्पक्ष छानबिन भएर कारबाही हुने हो कि नहुने हो, एउटा टुंगो लागोस् ।’