फेरिँदै नयाँ बानेश्वरको मुहार, यसरी बनाइँदैछ ‘राइट टर्निङ लेन’ (तस्बिरहरू) – Nepal Press

फेरिँदै नयाँ बानेश्वरको मुहार, यसरी बनाइँदैछ ‘राइट टर्निङ लेन’ (तस्बिरहरू)

काठमाडौं । नयाँ बानेश्वर चोकबाट माइतीघर-कोटेश्वर सडकबीचमा रोपिएका बिरुवाहरू उखेलेर नयाँ लेन थप्ने काम भइरहेको छ । सुन्दर देखिने नयाँ बानेश्वर चोकमा रुख उखेलेपछि उजाड जस्तो देखिन थालेको छ ।

करिब १० वर्ष पहिले यहाँ बिरुवाहरू रोपिएका थिए, अहिले विरुवाहरु हुर्किएर सुन्दर देखिन थालेको थियो । तर, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अझ सुन्दर तथा व्यवस्थित बनाउन भन्दै बिरुवा उखेलेको हो ।

माइतीघर–तीनकुने खण्डमा ‘राइट टर्निङ’ लेन छैन । जसले गर्दा ट्राफिकमा समस्या आउँदै गरेको छ । बानेश्वर चोकबाट माइतीघर–तीनकुने खण्ड र पुरानो बानेश्वर–शंखमुलतर्फ खण्डमा आवतजावत गर्ने सवारी साधनलाई ‘राइट टर्निङ लेन’ बनाउन लागिएको हो ।

अहिले बानेश्वर चोकमा रहेका संरचनालाई यथास्थितिमा राख्दै ल्याण्ड मार्किङ गरेर ‘राइट टर्निङ लेन’ निकाल्न काम भइरहेको सडक सुरक्षा तथा ट्राफिक शाखा प्रमुख प्रकाशचन्द्र भण्डारीले बताए ।

‘ट्राफिक व्यवस्थापन पहिलेभन्दा केहि हदसम्म राम्रो हुने छ । ट्राफिकमा ठूलो सुधार गर्ने छैन,’ भण्डारीले भने ।

उनका अनुसार राईट टर्निङ लेन निकालिसकेपछि ट्राफिक सिग्नललाई अवरोध हुने छैन ।

उनले भने, ‘जामको समस्या पनि केहि हदसम्म कम हुनेछ । सडकलाई दुई लेनमा छुट्याइने भाग ‘मेडियन लेन’ लाई साँघुरो पारेर नयाँ लेन ‘राइट टर्निङ लेन’ को निर्माण गरिनेछ । जसले चोकमा ट्राफिक व्यवस्थापन सहज हुनेछ । ट्राफिक सिग्नललाई अवरोधमा पनि बाधा हुने छैन । चोकमा रहेका रुखहरू र पोल (खम्बा) हटाउने कामहरु भएकोले काम बढी देखिएको हो । तर, वास्तवमा ठूलो काम हुन लागेको होइन ।’

असारदेखि सुरु भएको काम भदौ महिनासम्म सम्पन्न गरिने विभागले बताएको छ । निर्माणको सबै लगानी जाईकाले गर्दै छ ।

 

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *