महामन्त्रीले आफूखुशी निर्णय थपेको भन्दै कांग्रेस प्रवक्ताको आपत्ति, देउवाको समर्थन (भिडिओ) – Nepal Press

महामन्त्रीले आफूखुशी निर्णय थपेको भन्दै कांग्रेस प्रवक्ताको आपत्ति, देउवाको समर्थन (भिडिओ)

महामन्त्री शर्मालाई देउवाले भने- आफैं जान्ने भाको ? मसित सल्लाह गर्नुपर्दैन ?

काठमाडौं । कांग्रेस कार्यसमितिको बैठकका निर्णयसम्बन्धी प्रस्तावहरु महामन्त्री विश्वप्रकाश शर्माले सार्जजनिक गरेपश्चात संस्थापन पक्षले केही असन्तुष्टि व्यक्त गरेको छ । देउवा निकट पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्रीले कुनै प्रस्ताव छुटाएको र कुनै आफूखुशी थपेको आरोप लगाए ।

डा. महतका अनुसार सामाजिक सञ्जालमा पार्टीको खिलाफ अभिव्यक्ति दिने तथा कांग्रेसका नाममा वेब पेजहरु खोलेर जथाभावी लेख्नेहरुमाथि एक्सन लिने प्रस्ताव राखिएको थियो । नेतृत्व र पार्टीलाई गालीगलौज गर्न बन्द नगरेको खण्डमा कारबाही गर्ने सहमति महामन्त्रीले छुटाएको डा. महतले बताए ।

भिडिओ:

‘प्रस्तावमा राखिएको विषय अहिले आएन, कसरी छुट्यो ? मिनेन्द्रजी कता जानु भो, मुख्य कुरै छुट्यो’, उनले भने, ‘प्रस्तावमै भएको कुरा किन पढिएन ?’

त्यसपछि डा. महतले महामन्त्रीले आफूखुशी एउटा बुँदा थपेको अर्को आरोप लगाए ।

भिडिओ:

‘यो अनुगमन सम्बन्धमा महामन्त्रीजीले नै नियुक्ती गर्ने भन्ने कुरा पनि आएको छ, यस्तो त पार्टी सभापतिको सल्लाहमा हुनुपर्छ नि… पहिले थिएन, महामन्त्रीज्यूले आफ्नै हिसाबमा थपेजस्तो छ’, उनले भने ।

डा. महतको भनाइमा देउवाले समर्थन जनाए । ‘आफैं जान्ने भाको ? मसित सल्लाह गर्नुपर्ने थियो नि त ?’, उनले रिसाउँदै भने ।

सभापति देउवाले एकछिन हँसाए पनि । एक केन्द्रीय सदस्यले आफ्नो प्रस्ताव छुटेको कुरा बताइरहँदा देउवाले भने, ‘मलाई भनन मलाई, के हो कुरा । शेरबहादुर भन्ने मान्छेलाई चिन्या छ ?’

नेता डा. मिनेन्द्र रिजालले डा. महतलाई जवाफ दिँदै छिटफुट कुराहरुपछि मिलाउन सकिने बताए ।

उनले भने, ‘प्रस्तावमा सामान्य भाषागत त्रुटी मिलाउन सकिन्छ । तर, यो बेलामा स्पेसिफिक यो राखौं, यो नराखौं भन्ने कुरा नगरौं । हामी लाइभमा गइरहेका छौं ।’

रिजालको भनाइमा देउवा सहमत भएनन् ।

‘छुट्या कुरा थाहा पाएपछि भन्छ नि त मान्छेले’, उनले झोक्किँदै भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर