पोखराको फिर्के खोलामै घर ! – Nepal Press

पोखराको फिर्के खोलामै घर !

पोखरा । फिर्के खोला पोखरा बजार हुँदै फेवाताल पुगेर टुंगिन्छ । यही खोलाले बीच बाटोमा सजिलै बग्न पाएको छैन । फिर्के खोला चौतर्फी अतिक्रमणको चपेटामा छ ।

केही दशकअघिसम्म पिउनयोग्य पानी बग्ने उक्त खोला अहिले अचाक्ली दूषित छ । खोला कतै फराकिलो छ, कतै खोल्सो जस्तो देखिन्छ । खोलामाथि नै घरहरु ठडिएका छन् । खोला कतै ४ मिटरमा खुम्चिएको छ त कहीं ४० मिटरसम्म फैलिन पाएको छ ।

केही सरकारी तथा व्यक्तिगत संरचना तथा भवन र सेफ्टी ट्यांकीको ढल मिसिँदा फिर्के खोला दुर्गन्धित बनेको छ ।

प्रदूषण र अतिक्रमणको चपेटामा परेको फिर्के खोला संरक्षण गर्न भन्दै पोखरा महानगरपालिका खोला सीमांकन गर्न टोली गठन गरेर अगाडि बढेको छ । वासुदेव पौडेल नेतृत्वको सर्वेक्षण टोलीले साउन ३ गतेबाट खोलाको सीमांकन गरिरहेको छ ।

हालसम्म सीमांकनको काम आधा जति सकिएको टोलीका संयोजक पौडेलले बताए । फिर्के फेवातालमा मिसिएको स्थानदेखि सुरु भएको सीमांकन सशस्त्र प्रहरी गण मालेपाटनसम्म पुगेको उनले जानकारी दिए ।

खोला सीमांकनका लागि महानगरले सुरुमा ४ टोली बनाएर काम सुरु गरे पनि अहिले फिर्के वारिपारि आधाआधा जनशक्तिले नापजाँच गरिरहेको सर्वेक्षण प्रमुख पौडेलले बताए ।

‘अहिले जग्गाधनीका नक्सा र खोला किनार हेरेर पोल गाडेका छौं । खोला कतै ३-४ मिटरमात्र चौडा देखिन्छ भने कतैकतै ३०-४० मिटर फराकिलो पनि छ’, उनले भने ।

टोलीले खोलाको क्षेत्र छुट्याउँदै किला गाडेको छ । सर्वेक्षण टोलीले किला गाडेअनुसार सिर्जना चोक र जिरोकिलोको बीचमा बनेका केही संरचना खोलाको क्षेत्राधिकारभित्र पर्छन् । त्यहाँ केही सार्वजनिक भवन तथा व्यक्तिका संरचना खोलामाथि नै निर्माण भएका छन् ।

किला गाडिएको क्षेत्र अर्थात किलाबीचको क्षेत्र खोलाको क्षेत्र रहेको सर्वेक्षण प्रमुख पौडेलले उल्लेख गरे । खोलाको क्षेत्रभित्र कहीं घर त कतै पर्खाल भेटिएको उनले जानकारी दिए ।

‘खोलाको क्षेत्रभित्र केही संरचना नै ठडिएका पनि देखिए, कतै पिलर ठड्याइएको पनि देखियो, हामीले सम्भव भएसम्म किला, नत्र चिन्ह लगाएर खोलाको क्षेत्र छुट्याएका छौं’, उनले भने ।

स्थानीयले महानगरले बारम्बार नापजाँचमात्रै गर्ने तर काम नगरेको भन्दै आक्रोश पोखेको सर्वेक्षण प्रमुख पौडेलले बताए । टोलीले बिहान ७ देखि बेलुकासम्म सीमांकन गरिरहेको छ । खोलाको बाँकी क्षेत्र तुलनात्मक रुपमा खुला भएकाले केही दिनमै सीमांकन सकिने पौडेलले सुनाए ।

टोलीले खोलाको सीमांकन गरी प्रतिवेदन महानगरमा पेश गर्नेछ । अहिले फिर्के खोलाको मापदण्ड १० मिटर छ । मापदण्डमा पुनर्विचार गरी लागू गर्ने महानगरको तयारी छ ।

जुनसुकै हालतमा फिर्केको सीमांकनसहित यसलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने योजना पूरा हुने महानगरपालिकाका मेयर धनराज आचार्यले बताए ।

‘अहिले घर र खोला छुट्याउँदै छौं । साइट क्लियर भएपछि दायाँबायाँ साइकल लेन, ठाउँठाउँमा चेकड्याम र लाइटिङको काम गर्ने योजना छ’, उनले भने ।

महानगरले अहिले फिर्के सीमांकनसहितका कामका लागि सवा करोड बजेट विनियोजन गरेको छ । मेयर आचार्यले साइट क्लियर भए रकमान्तर गरेरै भए पनि बजेट थप्ने र कुनै पनि हालतमा फिर्के परियोजनाका लागि बजेट अभाव हुन नदिने दाबी गरे ।

निवर्तमान मेयर मानबहादुर जिसीको पालामा इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वमा गठित फिर्के रेखांकन समितिले खोला मिचेर १९२ संरचना बनेको देखाएको थियो । त्यसअघि पनि खोलाको पटक पटक सीमांकन र नक्सांकन भएका छन् । प्रतिवेदन पनि बनेका छन् । तर, ती प्रतिवेदन कार्यान्वयन नहुँदा फिर्के खोला बर्सेनि अतिक्रमणको चपेटामा परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर