कांग्रेस बैठकमा कैलारी अध्यक्षको चर्चा : कारबाहीबारे साउद र बलायरकै फरक बुझाइ (भिडिओ) – Nepal Press

कांग्रेस बैठकमा कैलारी अध्यक्षको चर्चा : कारबाहीबारे साउद र बलायरकै फरक बुझाइ (भिडिओ)

कैलाली । कांग्रेस केन्द्रीय समिति बैठकमा बुधबार महामन्त्री विश्वप्रकाश शर्माले प्रदेश सांसददेखि वडाध्यक्षसम्मका १२ जनाको कारबाही फुकुवा भएको जानकारी गराए । त्यसलगत्तै परराष्ट्रमन्त्री समेत रहेका केन्द्रीय सदस्य एनपी साउदले कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको पनि आजै कारबाही फुकुवा हुनुपर्ने कुरा उठाए ।

उनले भने, ‘उहाँ (राजसमझ चौधरी) रुखबाट चुनाव लड्नु भएको हो । तालमेलमा जाँदा केही कठिनाइ भएको हुँदा राजसमझ चौधरीको पनि आज नै निर्णय गरिदिँदा उपयुक्त होला । यति आग्रह गरेँ । ’

साउदले चौधरीको कारबाही आजै फुकुवाको माग गर्दा प्रदेश सभापति वीरबहादुर बलायरले उनी कारबाहीमा नै नरहेको केन्द्रीय समितिलाई जानकारी गराइरहेका थिए ।

उनले भने, जिल्लाले कारबाही गरेको छैन भनेर लेखेर दिएको छ । गठबन्धनका रहेका दलहरूले साझा सहमति गरेर मित्रवत् प्रतिस्पर्धामा जान तयार छौं भनेर निर्णय गरेका थिए । उहाँलाई कारबाही भएको छैन । ’

कैलारी गाउँपालिका अध्यक्ष चौधरीको कारबाहीबारे साउद र बलायरकै बुझाइ फरक परेको देखिन्छ । चौधरीलाई पार्टीले कारबाही नगरेको दाबी गरेका प्रदेश सभापति बलायरले मित्रवत् प्रतिस्पर्धा गर्ने गठबन्धनका दलहरूबीच सहमति भएको भन्दै गलत रिपोर्टिङ गरे ।

वैशाख १२ गते कांग्रेस जिल्ला सभापति नारायणदत्त भट्ट, माओवादी प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सव र नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा इन्चार्ज दीर्घ सोडारीले संयुक्त विज्ञप्ति जारी गर्दै कैलालीमा पालिका भागबन्डा भएको सार्वजनिक गरेका थिए ।

वैशाख १९ गते गते ती तीनैजनाले संयुक्त विज्ञप्ति जारी गर्दै राजसमझ चौधरीलगायत गठबन्धनको बागी उम्मेदवार बनेका ८ जनालाई आ-आफ्नो पार्टीले कारबाही गर्ने निर्णय गरिएको थियो ।
त्यतिमात्रै होइन कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गरी बागी उम्मेदवार, उनीहरूका प्रस्तावक तथा समर्थक स्वतः निष्कासित भएको जनाएका थिए ।

उनले भनेका थिए, ‘पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध विद्रोही उम्मेदवार बनेका तथा त्यस्ता विद्रोही उम्मेदवारका प्रस्तावक र समर्थक बनेकाहरूको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासन भएको यसै विज्ञप्ति मार्फत सूचित गरिन्छ ।’

गठबन्धनको बागी उम्मेदवार हुँदा केन्द्रीय सर्कुलर र जिल्लामा गठबन्धनका दलहरूले कारबाही गर्ने भनेपछि चौधरी आफू कारबाहीमा परेको परेको स्वीकार गरिसकेका थिए । त्यसबीचमै उनी गाउँपालिका अध्यक्षमा निर्वाचित भए । चौधरीले १० हजार ४२२ मत प्राप्त गरेर जित्दा गठबन्धनका साझा उम्मेदवार रहेका माओवादी केन्द्रका लाजुराम चौधरीले ६४३० मत मात्रै ल्याए ।

विजयी भएको १५ महिनासम्म पनि उनी आफू कारबाहीमा रहेको वा नरहेको भन्नेबारे प्रस्ट नहरेको बताउँछन् । त्यसैमाथि केन्द्रीय सदस्य साउद र प्रदेश सभापति बलायरको फरक बुझाइले उनलाई अझै अन्योलमा पारेको छ । यसअघि गाउँपालिका राष्ट्रिय महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदा आफूलाई पार्टीले कारबाही गरेको उनले बताएका थिए ।

उम्मेदवार बन्न नदिएको स्मरण गर्दै उनले भने, ‘मलाई कसैले कारबाही गरेको भन्छन् कसैले होइन भन्छन्, गाउँपालिका राष्ट्रिय महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदा पार्टीकै मान्छेले कारबाहीमा परेको भन्दै उम्मेदवार नै बन्न दिइएन । अहिलेसम्म म आफैँ अन्योलमा छु । अहिले कारबाहीमा परेको छैन फुकुवा गर्नु पर्दैन भनेर १५ औँ महाधिवेशनमा त्यहि विषयले फेरि रोक्ने काम हुन सक्छ । ’

जिल्ला सभापति नारायण दत्त भट्टले पनि उनलाई कुनै कारबाही नगरिएको बताए ।

एक महिना पछि देउवाको फोन

वैशाख ३० गतेको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई हराएका राजसमझ चौधरीलाई एक महिनापछि पार्टी सभापति शेरबहादुर देउवाले फोन गरेका थिए ।

जेठ ३० गते कैलालीमा जिल्ला समन्वय समितिको निर्वाचन हुँदै थियो । कांग्रेस, माओवादी र नेकपा एस मिलेर जिल्ला समन्वय समितिको निर्वाचनमा भाग लिएका थिए भने एमाले र नागरिक उन्मुक्ति मिलेका थिए ।

यहाँ १३ पालिकाका २६ जना मतदाता थिए । तर, भ्रष्टाचार अभियोगमा विशेष अदालतमा विचाराधीन मुद्दाका कारण मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले चुनावी प्रक्रियामा सहभागी हुन नपाउने निर्वाचन आयोगको निर्णयपछि मतदाता संख्या २५ मा झरेको थियो ।

२५ जनामध्ये कांग्रेसले ८, माओवादीले मोहन्याल बाहेकको ३ र नेकपा एकीकृत समाजवादी १ जना गरि १२ मतदाता थिए । नागरिक उन्मुक्ति पार्टीका ७ र एमालेका ५ मतदाता जोड्दा उनीहरूको पनि १२ पुगिरहेको थियो । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र जितेका गोपाल हमाल पनि थिए ।

कांग्रेसबाट जिते पनि गठबन्धनको साझा उम्मेदवारविरुद्ध निर्वाचित भएका राजसमझ चौधरीलाई पार्टीले कारबाही गरेको थियो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलको विज्ञप्ति अनुसार उनी कारबाहीमा परेका थिए । आफ्नो कारबाही फुकुवा नभए सम्म कांग्रेस नेतृत्वको गठबन्धनमा भोट नहाल्ने अडान लिएपछि निर्वाचित भएका १ महिना पछि जेठ ३० गते पार्टी सभापति शेरबहादुर देउवाले राज समझ चौधरीलाई फोन गरेर कारबाही फुकुवा भएको बताएका थिए ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले फोन गरेपछि आफू गठबन्धनलाई मत दिन तयार भएको उनले बताएका थिए ।

‘मेरो कारबाही फुकुवा भएको छ’ उनले नेपाल प्रेससँग भनेका थिए ‘सभापति ज्यूले तपाईँ नै कांग्रेसको आधिकारिक उम्मेदवार हो भन्नु भयो । अब म गठबन्धनका उम्मेदवारहरूलाई मत दिन तयार छु ।’

जिसस निर्वाचनको अघिल्लो दिन साँझ स्वकीय सचिव भानु देउवामार्फत प्रधानमन्त्री शेरबहादुर देउवाले राज समझसँग संवाद गरेका थिए । करिब पाँच मिनेटसम्म दुईजनाबीच संवाद भएको थियो ।
पार्टी सभापतिले चौधरीलाई नै पार्टीको आधिकारिक उम्मेदवार भएको बताएपछि उनले जिल्ला समन्वय समितिको निर्वाचनमा भोट दिए । एक मतले कांग्रेस नेतृत्वको गठबन्धनले जिल्ला समन्वय समितिको अध्यक्ष उपाध्यक्षलगायत सबैजसो पदमा निर्वाचित भए ।

बलायरले मित्रवत् प्रतिस्पर्धा गर्ने भनिएको बताएपनि यसरी सम्झौता भएको थियो पालिकाहरूमा :
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर