खर्च नियन्त्रण गर्ने नाउँमा ‘गरिब बिरामी’ को उपहास गर्दै भरतपुर अस्पताल
चितवन । चितवनस्थित भरतपुर अस्पतालले आफूकहाँ उपचार गर्न आउने ‘गरिब बिरामी’को उपहास गर्दै हुर्मत लिन थालेको छ । आफू गरिब एवं आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहजीकरण गर्न गराउन स्थानीय तहको सिफारिस लिएर आएका बिरामी र उनका आफन्तहरुको विवरण सार्वजनिक गरेर अस्पतालले हुर्मत लिएर उपहास गरेको हो ।
केन्द्रीय सरकारको मातहतमा रहेको उक्त अस्पतालले आइतबार मनहरी गाउँपालिका- ८ की सुर्जमाया नगरकोटीको तस्वीरसहितको कमजोर आर्थिक अवस्था भएको भन्ने स्थानीय तहको सिफारिसपत्र सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको थियो ।
अस्पतालले उक्त विवरण सार्वजनिक गर्दै लेखेको स्टाटसमा सर्वसाधारणलाई गरिब हो भने आफ्नो तस्वीर टाँस गरिएको सिफारिसपत्र सामाजिक सञ्जालमा सार्वजनिक गर्न तयार भएरमात्रै उपचारमा आउन ‘धम्कीपूर्ण’ अपिलसमेत गरेको छ ।
मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले साउन ७ गते सिफारिस गरेको कमजोर आर्थिक अवस्था प्रमाणित पत्रमा नगरकोटीको श्रीमानको नाम, नागरिकता प्रमाणपत्र नम्बर, जारी मितिलगायत व्यक्तिगत परिचय उल्लेख छ । उनको व्यक्तिगत विवरण नछोपेर अस्पतालले नगरकोटीको गोपनीयतासम्बन्धी संवैधानिक मौलिक हकको हनन गरेको छ ।
अस्पतालको उक्त पोस्टमा विकल्प काफ्ले कमेन्ट गर्दै त्यसको विरोध गरेका छन् । उनले लेखेका छन्, ‘निःशुल्क उपचार पाउनु अत्यन्तै राम्रो । तर, गरिबी र विपन्न व्यक्तिको फोटोसहित फेसबुकमा वा सामाजिक सञ्जालमा राख्नु उनीहरुको घाउमा थप नूनचुक छर्कनु हो । यसरी गरिबीलाई थप उपहास गर्नु कानूनविपरीत छ ।’
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर कृष्णप्रसाद पौडेलले अस्पतालको व्यवस्थापन समितिको नभइ प्रशासनले एक साताअघि सामाजिक सेवा इकाईबाट सेवा लिन चाहने गरिब बिरामीको सबै विवरण सार्वजनिक गर्ने निर्णय गरिएको बताए ।
उनले उक्त सुविधा लिने बिरामीको संख्या बढेर उपचार खर्च बढेकाले त्यसलाई नियन्त्रण गर्न उक्त उपाय अपनाइएको जिकिर गरे ।
‘सरकारले हाम्रो सामाजिक सेवा इकाइमा अघिल्लो आर्थिक वर्षमा सरकारले डेढ करोड बजेट पठाएको थियो’, मेसु डा. पौडेलले भने, ‘गरिब सिफारिस लिइ उपचार सुविधा लिनेको संख्या यति धेरै भएछ कि हाम्रो चार करोडको खर्च नाघेछ । त्यसैलाई नियन्त्रण गर्न यस्तो निर्णय लिएका हौं ।’
अस्पतालमा गरिब भनेर आएपछि आफ्नो सबै विवरण फेसबुकमा सार्वजनिक हुँदा उनीहरुलाई कुनै समस्या नहुने मेसु पौडेलको दाबी छ । उनले थपे, ‘धनी तर भनसुनका आधारमा आउनेलाई मात्रै हो गरिब भनेर सार्वजनिक गर्न लाज हुने, साँच्चैको गरिबलाई केही लाज हुन्न । त्यसैले हामी फेसबुकबाट उनीहरुको विवरण सार्वजनिक गर्छौं ।’
अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले पनि अस्पताल विकास समितिको नभइ मौखिक आधारमा गरिब भनेर उपचार गर्न आउनेको विवरण सामाजिक सञ्जालमा राख्ने निर्णय गरिएको बताए ।
उनले भनसुनका आधारमा गरिब बनेर आउनेहरुको संख्या बढेकाले त्यसलाई नियन्त्रण गर्ने उपायको रुपमा अस्पतालले गरिबहरुको सूची सामाजिक सञ्जालमा सार्वजनिक गर्ने निर्णय गरिएको दाबी गरे ।
यद्यपि आफूलाई कानूनअनुसार उनीहरुको विवरण सार्वजनिक गर्न हुने नहुनेबारे जानकारी नभएको अध्यक्ष पौडेलको भनाइ छ ।
अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा. भोजराज अधिकारीले भने कार्यालय प्रयोजनमा आएका यस्ता विवरण सम्बन्धित फाँट र कार्यालय प्रमुखबाहेक अरुलाई समेत जानकारी नहुने भएकोले सिफारिसकै आधारमा बिरामीको गरिबीलाई खिल्ली उडाएर र हुर्मत लिने गरी सामाजिक सञ्जालमा सार्वजनिक गर्नु नितान्त गलत भएको भन्दै आपत्ति जनाए ।
अस्पताल प्रचारमुखी भन्दा पनि आन्तरिक सुशासन हुनुपर्ने थलो भएको भन्दै उनले केन्द्रीय अस्पतालले बिरामीको संवेदनशीलतालाई सामाजिक सञ्जालमा राखेर गोपनीयताको हकको समेत उल्लंघन गरेको बताए ।
डा. अधिकारीले आर्थिक अवस्था राम्रो भएका मानिस पनि सेवा लिन आउने अवस्था हुनसक्ने र त्यसको नियन्त्रण गर्न अस्पताल प्रशासनसँग धेरै विकल्प भएको बताए । आवश्यक परे उनीहरुको स्थायी ठेगानामा नै गएर जाँच गर्न सकिने उनको भनाइ थियो ।
तर, गरिबलाई सार्वजनिक गरी उसको वर्गीय अवस्थाको उपहास गर्ने काम आपत्तिजनक भएको उनको जोड छ ।