बलात्कारको भिडिओ बनाइ ब्ल्याकमेल गर्ने युवक बुटवलबाट पक्राउ
रूपन्देही । जबरजस्ती करणीपछि बनाएको भिडियो सार्वजनिक गरी भाइरल गरिदिने डरत्रास देखाइ पटकपटक बलात्कार गर्ने युवक बुटवलबाट पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका- ९ बस्ने २४ वर्षीय आशिष सुनार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीका अनुसार सुनारले बैशाख ५ गते बिहान पाल्पाको तानसेन नगरपालिका- ३ भगवतीटोलस्थित एक होटलमा रुपन्देहीकै २५ वर्षीय महिलालाई करकापमा पारी डर त्रास देखाई जबरजस्ती करणी गरेका थिए । करणीपछि त्यसको भिडियो बनाइ सुनारले ती महिलालाई पटक-पटक फोन तथा म्यासेज गरी डर त्रास देखाई भेट्न नआए भिडियो भाइरल गर्ने धम्की दिएको खुलेको प्रहरीले जनाएको छ ।
सुनारले पछिल्लो पटक साउन ९ गते पीडितलाई फोन गरी बुटवल उपमहानगरपालिका- ११ माझगाउँमा बोलाई सोही स्थानमा रहेको होटलमा लगी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
पीडित महिलाले शुक्रबार जिल्ला प्रहरी कार्यालय पाल्पामा लिखित जाहेरी दिएकी थिएन् । त्यसलगत्तै पाल्पाबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय बुटवलको समन्वयमा सुनारलाई बुटवलबाट नियन्त्रणमा लिएको थियो ।