पन्ध्र बुँदे घोषणापत्र जारी गर्दै लुम्बिनीमा सकियो एमालेको जनप्रतिनिधि प्रशिक्षण – Nepal Press

पन्ध्र बुँदे घोषणापत्र जारी गर्दै लुम्बिनीमा सकियो एमालेको जनप्रतिनिधि प्रशिक्षण

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको आयोजनामा तीनै तहमा लुम्बिनी प्रदेशबाट निर्वाचित जनप्रतिनिधिको भेला तथा प्रशिक्षण कार्यक्रम १५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।

बाँकेको नेपालगन्जमा आयोजना गरिएको सो कार्यक्रममा पार्टीबाट निर्वाचित राष्ट्रिय सभा, संघीय तथा प्रदेश सभाका सांसदहरू, स्थानीय तहका प्रमुख तहका प्रमुख उपप्रमुख, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूलाई समेटिएको थियो । दुई दिनसम्म चलेको सो कार्यक्रममा ५ सय सहभागी रहेका थिए ।

भेलाको घोषणापत्र सुनाउँदै पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले सङ्घीयतालाई बलियो बनाउने गरी पार्टीबाट निर्वाचित जनप्रतिनिधिले भूमिका खेल्न आवश्यक रहेको बताए।

पारित घोषणापत्रमा वडाको आर्थिक अधिकार बढाउन लागिपर्ने, देश र जनताको हितका लागि बढीभन्दा बढी केन्द्रित हुने, निर्वाचनमा गरिएका वाचा र घोषणापत्रप्रति प्रतिबद्ध हुने, जनसरोकारका सवालमा प्रतिबद्ध हुने उल्लेख छ ।

यसैगरी महिला प्रमुख र उपप्रमुख रहेको स्थानीय तहमा कुनै पनि खालको विभेद हुन नदिने र महिलालाई कार्यकारी पदमा प्रोत्साहन गरिनुपर्ने उल्लेख छ ।

यसैगरी निर्वाचन प्रणालीमा सुधार गरी गरिब जनताका सन्तान पनि जनप्रतिनिधि बन्न सक्ने बनाउन पहल गरिने, भ्रष्टाचार अन्त्यका लागि पहल गरिनेलगायतका विषय समेटिएको छ ।

भेलालाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले एमालेविरुद्ध जतिसुकै भ्रम फिँजाइए पनि जनताको विश्वास र भरोसा जित्न सकेको पार्टी एमाले मात्रै भएको दाबी गरे । उनले एमालेबाट निर्वाचित जनप्रतिनिधि र अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिमा व्यवहार र कर्मबाट पहिचान हुनुपर्ने बताए ।

यसैगरी महासचिव शङ्कर पोखरेलले सङ्घीय सरकारले गरिरहेको विभिन्न गलत निर्णयको भण्डाफोर गर्नु आजको आवश्यकता भएको बताए।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिको भूमिकाले आगामी निर्वाचनमा प्रत्यक्ष प्रभाव पार्ने भन्दै जनताको अधिकतम हितमा काम गर्न उनले निर्देशन दिए ।

लुम्बिनी प्रदेशका १२ जिल्लाबाट सहभागिता रहेको कार्यक्रमको शनिवार एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर