विद्युत प्राधिकरणबाट देशभर एकै दिन एक लाखभन्दा बढी वृक्षरोपण – Nepal Press

विद्युत प्राधिकरणबाट देशभर एकै दिन एक लाखभन्दा बढी वृक्षरोपण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो ३८औं वार्षिकोत्सवको अवसरमा सोमबार देशभर एकै दिन एक लाखभन्दा बढी विरुवा रोपेको छ ।

प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालयहरु, वितरण केन्द्र/उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालयहरु, सबस्टेसन कार्यालयहरु, उत्पादन सेवाअन्तर्गतका विद्युत उत्पादन गृहरुमा कार्यारत कर्मचारीहरुले आफ्नो कार्यालय परिसर तथा अन्य उपयुक्त स्थानमा वृक्षरोपण गरेका हुन् ।

कार्यालयहरुले आआफ्नो क्षेत्रको हावापानी र माटोअनुसारका एक लाखभन्दा बढी फलफूल तथा अन्य प्रजातिका विरुवाहरु रोपेको प्राधिकरणले जनाएको छ ।

जलविद्युत, प्रसारण र वितरणतर्फका आयोजनाहरुको निर्माण गर्दा रुख काट्नेमात्र हैन रुखविरुवाको संरक्षण पनि गरिन्छ भन्ने सन्देश दिन प्राधिकरणले हरेक वर्ष साउन १५ गते देशभरका कार्यालयमार्फत वृक्षरोपण गर्दै आएको छ ।

प्राधिकरणको प्रधान कार्यालय तथा वृक्षरोपण गर्ने स्थान नभएका काठमाडौं उपत्यकाभित्रका कार्यालयहरुमा कार्यरत कर्मचारीहरुले सोमबार नेपालको पहिलो तथा ऐतिहासिक फर्पिङ जलविद्युत केन्द्र परिसरमा विरुवा रोपेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवम् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शक्तिबहादुर बस्नेतले केन्द्र परिसरमा नास्पातीको विरुवा रोपी वृक्षरोपण कार्यको सुरुवात गरेका थिए ।

मन्त्रालयका सचिव एवम् प्राधिकरण सञ्चालक समितिका सदस्य दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कर्मचारीहरुबाट विभिन्न प्रजातिका तीन सयभन्दा बढी विरुवा रोपिएको प्राधिकरणले जनाएको छ । नास्पातीको पकेट क्षेत्रको रुपमा रहेको फर्पिङमा अधिकांश विरुवा त्यसकै रोपिएका छन् ।

कार्यक्रममा मन्त्री बस्नेतले वृक्षरोपण गरिएका विरुवाको संरक्षण पनि उत्तिकै महत्वपूर्ण भएकाले त्यतातर्फ विशेष ध्यान दिन निर्देशन दिए ।

वातावरण संरक्षण र विकास एक अर्कार्को विरोधीको रुपमा चित्रण हुने गरेको उल्लेख गर्दै मन्त्री बस्नेतले वृक्षरोपणले दुई विषय एकपासका विरोधी हैनन् भन्ने सकारात्मक सन्देश जाने बताए ।

सचिव घिमिरेले वृक्षरोपण गरिएका विरुवाहरुलाई त्यतिकै नछाडेर हेरचाह र संरक्षण गर्न आग्रह गरे ।

कार्यकारी निर्देशक घिसिङले आगामी वर्षबाट जलविद्युत आयोजनाहरुको जलाधार क्षेत्रमा वृक्षरोपण गरिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर