आफ्नै नेताहरु संलग्न भएकाले सरकारले उच्चस्तरीय छानबिन समिति बनाउन मानेन: महेश बर्तौला – Nepal Press

आफ्नै नेताहरु संलग्न भएकाले सरकारले उच्चस्तरीय छानबिन समिति बनाउन मानेन: महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सुन प्रकरणमा आफ्नै नेताहरुको संलग्नता भएको कारणले सरकार उच्चस्तरीय छानबिन समिति गठन गर्ने पक्षमा नरहेको आरोप लगाएका छन् ।

संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सुन तस्करी प्रकरणमा सरकार पक्षको र सरकार निर्माण गर्ने मुर्धन्य नेताहरुको प्रत्यक्ष संलग्नता रहेको जिकिर गरे ।

उनले भने, ‘एकपछि अर्को तथ्य प्रमाणहरुले सरकारमै रहेका नेताहरुको संलग्नता पुष्टि हुन्छ । देश निर्माणको नेतृत्व गर्ने सरकार समृद्धिको प्रत्याभूति गर्नुपर्ने सरकार अनेकौं सेटिङ गरेर देशलाई बद्नाम गर्ने स्थिति भइरहेको छ । नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउने, चीनतर्फबाट क्विन्टलका क्विन्टल सुन नेपाल भित्र्याउने र अन्यत्रतर्फ निर्यात गर्ने यहाँबाट जे खालको गतिविधि सरकारको प्रत्यक्ष सहभागितामा भइरहेको छ ।’

उनले सरकारले उच्चस्तरीय छानबिन समिति बनाएर निष्पक्ष पारदर्शी ढंगबाट सत्यतथ्य बुझेर दोषीलाई कारबाही नगरेसम्म संसद अघि नबढ्ने बताए ।

सचेतक बर्तौलाले भने, ‘सामान्य मानिसहरु छैनन् यहाँ । दलका मुर्धन्य नेताहरु हुनुहुन्छ । महत्वपूर्ण ओहोदामा बसिसकेका, जिम्मेवारीमा बसिसकेका मन्त्रीहरु हामीले देखिरहेका छौं । तसर्थ संसदमार्फत सरकारलाई खबरदारी गर्छौं । सरकार अहिले पनि उच्चस्तरीय छानबिन समिति बनाउने पक्षमा छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर