शिवराज अस्पतालका प्रमुखविरुद्ध महिला सहकर्मीले दिए जबर्जस्ती करणी उद्योगको मुद्दा – Nepal Press

शिवराज अस्पतालका प्रमुखविरुद्ध महिला सहकर्मीले दिए जबर्जस्ती करणी उद्योगको मुद्दा

रुपन्देही । कपिलवस्तुको शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखमाथि सोही नगरपालिकामा काम गर्ने महिला कर्मचारीले जबर्जस्ती करणी उद्योगको मुद्दा दर्ता गराएकी छन् ।

राति मदिरा सेवन गरी सहकर्मी महिला कर्मचारीमाथि जबर्जस्ती करणी गर्न खोजेको आरोपमा कपिलवस्तुको शिवराज नगरपालिकाको आधारभूत स्वास्थ्य सेवा अस्पतालका प्रमुख तथा सीअहेब लेखनाथ पौडेलसहित उनका साथी भुवन पाण्डेयविरुद्ध जबरजस्ती करणी उद्योग मुद्दा दर्ता भएको छ ।

आइतबार साँझ पौडेल र उनका साथी शिवराज नगरपालिका वडा नम्बर-३ का भुवन पाण्डेयमाथि जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखरजंग मल्लले नेपाल प्रेसलाई बताए ।

आइतबार साँझ पीडित महिला कर्मचारीहरूले ती दुईमाथि जाहेरी दिएको र आरोपित दुवैजना सम्पर्कविहीन रहेको मल्लले बताए । पौडेललाई नगरपालिकाले आइतबार नै जिम्मेवारीबाट हटाएको थियो ।

शुक्रबार रात्रिकालीन ड्यूटीका बेला मदिरा सेवन गरी दुई महिला कर्मचारीमाथि ती दुईजनाले यौन दुर्व्यवहार गरेका थिए । आरोपित स्वास्थ्यकर्मीलाई जिम्मेवारीबाट हटाई सकिएको मेयर अजय थापाले बताए ।

उनले छानिबन गरी दोषीलाई कारबाही गरिने बताए । साउन १ गते नै पौडेललाई सो अस्पताल प्रमुखको जिम्मेवारी दिइएको थियो । पौडेल विगतमा पनि विभिन्न घटनामा विवादित भएको महिला कर्मचारीको आरोप छ । उनीहरूले दोषीलाई कडा कारबाहीको मागसहित कोही संरक्षणमा लाग्न खोजे राम्रो नहुने चेतावनी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *