‘फोहोर व्यवस्थापनका लागि काठमाडौंवासीलाई प्रशिक्षण दिनुपर्छ’ (भिडिओ) – Nepal Press

‘फोहोर व्यवस्थापनका लागि काठमाडौंवासीलाई प्रशिक्षण दिनुपर्छ’ (भिडिओ)

काठमाडौं । सरोकारवालाहरुले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि काठमाडौमा बसोवास गर्दै आएकाहरुलाई फोहोरको उचित व्यवस्थापनबारे प्रशिक्षण दिन सुझाव दिएका छन् ।

शहरी विकास मन्त्रालयमा मंगलवार भएको काठमाडौंको फोहोर व्यवस्थापन सम्बन्धी कार्ययोजना विषयक छलफलमा सरोकारवालाहरुले फोहोर घरघरमै छुट्याउनुपर्ने भन्दै नागरिकलाई फोहोरको उचित व्यवस्थापनबारे प्रशिक्षण दिन सुझाएका हुन् ।

प्रतिनिधि सभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले फोहोरमैला विसर्जन गरेको ठाउँका जनताले भोगिरहेका समस्या र समाधानका उपायबारे शहरी विकासमन्त्रीसँग छलफल भएको बताए । बैठकपछि पाण्डेले फोहोरको उचित व्यवस्थापन नहुँदा प्रभावित क्षेत्र ककनी र धुनीबेंशी गाउँपालिकाका नागरिकले वर्षेनी सास्ती भोग्दै आएको बताए ।

सांसद पाण्डेले भने, ‘मुख्यतः अल्पकालीन र दीर्घकालीन व्यवस्थाका बारेमा छलफल भयो । हामीले सुझाव दियौं । फोहोरमैला विसर्जन गरेको ठाउँका जनताले के भोगिरहेका छन् ? कति फोहोर छ ? कति अव्यवस्थित छ ? काठमाडौंमा बस्दै आएका ६५ लाख नागरिकले गरेको फोहोर लगेर दुई वटा पालिकामा फ्याँकिदिएर त्यो जनताले भोगिरहेको समस्याका बारेमा भोगिरहेको पीडा त्यहाँका जनप्रतिनिधिमार्फत सबैलाई जानकारी दिने काम भयो । अहिले लैजाने गरेको फोहोर हामीले ल्याण्डफिल्ड साइड भन्छौं, त्यो ल्याण्डफिल्ड साइड होइन डम्पीङ साइड हो ।’

नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले देशको सन्तुलित विकासका लागि फोहोरको उचित व्यवस्थापन गर्नुपर्ने बताए । उनले फोहोरले शहर प्रदुषण गराएको भन्दै यसको दिगो व्यवस्थापन हुनुपर्ने बताउनु भयो । फोहोर व्यवस्थापन गर्न बसाईंसराई निरुत्साहीत गर्नुपर्ने सुझाव दिए ।

धादिङस्थित धुनिबेंसी नगरपालिका नगरप्रमुख बालकृष्ण आचार्यले प्रभावितहरुसँग फोहोर सुंगेर मर्ने की गोली खाएर मर्ने भन्ने दुई वटा विकल्प मात्रै बाँकी रहेको बताए । उनले फोहोरको दीर्घकालीन समाधान भन्दापनि तत्कालीन समाधान खोजिनुपर्ने बताए । आचार्यले कार्ययोजना मात्रै होइन अब कार्यान्वयनमा जानुपर्ने धारणा राखे ।

आचार्यले भने, ‘शहरी विकास मन्त्रीज्युको अध्यक्षतामा एउटा सहजिकरण समिति छ । त्यो क्याबिनेट डिसिजनबाट बनेको समिति हो । दीर्घकालीन योजनाबारे सुझाव लिइएको हो । कार्ययोजना उहाँहरुले प्रस्तुत गर्नुभयो । कार्ययोजनामा दीर्घकालीन सोचका कुराहरु छन् । हाम्रो सुझाव के रह्यो भने दीर्घकालीनले मात्रै पुग्दैन आजको समस्या हल हुनुपर्छ । काठमाडौं महानगरपालीका १ वर्षदेखि सम्पर्कविच्छेद गरेर बस्यो । र, त्यहाँका जनतालाई प्रहरी लगाउने काम भयो । बञ्चरेडाँडा नितान्त धुनिबेंसीको भूभाग हो । तर, फोहोरको उचित व्यवस्थापन हुनै सकेन । अहिले खोलामा लिच्चेड बगिरहेको छ । जसले गर्दा किसानले खेतीपाती गर्न पाएका छैनन् । लिच्चेड बग्न नदिने समस्याको समाधान राज्यले तत्काल खोज्नुपर्छ । फोहोर र मान्छे एकै ठाउँमा बस्न सक्दैनन् । त्यहाँ बस्ने नागरिकलाई अन्यत्र व्यवस्थापन गरिदिनुपर्‍यो ।’

शहरी विकासमन्त्री सीता गुरुङको अध्यक्षतामा भएको छलफलमा फोहोरमैला प्रभावित क्षेत्रका सांसद, काठमाडौं उपत्यकाका सांसद, प्रदेश सभाका सदस्यहरु, ककनी र धुनीबेंसी नगरपालीकाका मेयरको सहभागिता थियो । शहरी विकास मन्त्रालयले फोहोरमैला व्यवस्थापन सम्बन्धी कार्ययोजना बनाएर प्रधानमन्त्री समक्ष पेस गर्ने योजना बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर