त्यसपछि नयनको राजनीतिक यात्रामा लाग्याे पूर्णविराम – Nepal Press

त्यसपछि नयनको राजनीतिक यात्रामा लाग्याे पूर्णविराम

सुर्खेत । घटना २०५९ सालतिरको हो । कालीकोटको खाडाचक्र नगरपालिका- ४ गल्लीमा एउटा धारा थियो । बिहानको समय नेपाली सेना, नेपाल प्रहरी र शुभकालिका गाउँपालिका- ३ भर्ताका नयनबहादुर शाहीसहित ३० जनाको टोली पानी खान भनेर त्यही धारातिर ओर्लियो ।

पलैपालो पानी खाँदाखाँदै एक्कासि धारा नजिक बम विस्फोट भयो । विस्फोटपछि घाइतेहरुको रगत धाराको पानी सँगै बग्यो । घाइतेहरु छटपटाउन थाले । उनीहरुमध्ये कसैको हात, कसैको खुट्टा, कसैको पेट, ढाँड र कसैको आँखासँगै शरीरका विभिन्न अङ्गमा चोट लागेको थियो ।

नेपाली सेना र नेपाल प्रहरीलाई बाटो देखाउन गएका शाहीसमेत उक्त विस्फोटमा परी घाइते भए । सबैभन्दा धेरै शाहीलाई चोट लाग्यो । उनको एउटा खुट्टै चुँडियो । गाउँलेले खोजेर पनि उनको चुँडिएको खुट्टा भेटाउन सकेनन् । उनको पेटमा पनि गम्भीर चोट लाग्यो । उनीसँगै नेपाली सेनाका एक जवानको एउटा आँखा गुम्यो, मेरुदण्ड भाँचियो । दुवै जनालाई सेनाको हेलिकप्टरमार्फत उपचारका लागि नेपालगञ्ज हुँदै तुरुन्तै काठमाडौं पुर्‍याइयो ।

नयन उपचारकै सिलसिलामा एक वर्ष काठमाडौंस्थित आर्मी हस्पिटलमा बसे । अस्पतालमा उनलाई उठ्न र बस्न पनि निकै समस्या भयो । २०६० साल कात्तिक ४ गते हस्पिटलबाट डिस्चार्ज भए । त्यतिबेलासम्म देशमा द्वन्द्व चर्केको हुँदा घर आउने वातावरण भएन । उनी नेपाली सेनाको नेपालगञ्ज पृतना बाहिनीमा एक महिना बसे । त्यसपछि नयन घर फर्किए । तर, माओवादीको डरले घर जाने आँट गरेनन् । कालीकोट सदरमुकाममा रहेको भैरव गुल्ममा एक महिना बसे ।

नयनले आफू कालीकोट आएको घरपरिवार कसैलाई जानकारी गराएका थिएनन् । एक महिनापछि भैरव गुल्मका मेजरले एक वर्षसम्मको कोठा भाडा तिरेर उनलाई सदरमुकाममा बस्ने व्यवस्था मिलाइदिए । द्वन्द्वकालका घाइते भएकाले तत्कालीन प्रमुख जिल्ला अधिकारीले नयनलाई महिला विकास कार्यालयमा करारमा कर्मचारी नियुक्त गरिदिएका थिए । मासिक ३ हजारको जागिरबाटै नयनले छोराछोरी पढाउनुदेखि घर खर्चसम्म थाल्ल थाले ।

रेडक्रसले बनाइदियो कृत्रिम खुट्टा

नेपाल रेडक्रसले २०६२ सालमा नयनको लागि कृत्रिम खुट्टाको व्यवस्था गर्‍यो । त्यसपछि मात्रै हिँडडुल गर्न सहज भएको उनी बताउँछन् । महिला विकासको करार सकिएपछि प्रशासनले नै नयनलाई बालमन्दिर विद्यालयमा नियुक्त गराइदियो । २०६२/०६३ सालमा राजनीतिक दल, प्रशासन, नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा तिला कर्णाली बहुमुखी क्याम्पसमा नियुक्त भए ।

शान्ति प्रक्रियापछि द्वन्द्व पीडितका घाइतेहरुलाई सरकारले राहत दिने भने पनि आफूले हालसम्म केही पाउन नसकेको नयन गुनासो गर्छन् । जिल्ला प्रशासन कार्यालय कालीकोटले राहत दिने भनेर ३-४ पटक निर्णय गरे पनि केन्द्र सरकारमा पुग्दा आफ्नो कागजात हराएको प्रतिक्रिया पाएको उनले बताए ।

उनी भन्छन्, ‘द्वन्द्वकालका धेरै घाइते र बेपत्ता परिवारले सरकारबाट राहत पाएका छन् । तर, मैले अहिलेसम्म केही पाएको छैन । पार्टीका नेताहरुबाट राहतको आश्वासन पाउँछु । तर, राहत पाउँदिनँ ।’

नयनले धेरै पटक तत्कालीन शान्ति समिति, जिल्ला प्रशासन कार्यालय, मानव अधिकारवादी संस्था सबै ठाउँ धाए पनि केही सहयोग नपाएको गुनासो गरे । ‘प्रत्येक वर्षको एक पटक उपचारका लागि काठमाडौं जानुपर्छ’, शाही भन्छन्, ‘यदि जागिर हुन्थेन भने गाह्रो हुन्थ्यो । दुईतीन वर्षमा कृत्रिम खुट्टा परिवर्तन गर्नुपर्छ । तर, खर्चिलो हुने हुँदा आर्थिक समस्या हुने गरेको छ ।’

सरकारले दिने राहत पाएको भए केही सहज हुने उनको भनाइ छ । पछिल्लो समय प्रदेश सरकारले पनि द्वन्द्व प्रभावितलाई राहत दिँदै आएको छ । तर, प्रदेश सरकारबाट पनि आफूले केही पाउन नसकेको उनको भनाइ छ ।

के थियो घटना ?

२०५८ सालमा नेकपा माओवादी केन्द्रको डरले नयन छोराछोरी र श्रीमती लिएर कालीकोट सदरमुकाम आएका थिए । उनले मान्म बजारको प्रतिमा चोकमा होटल चलाउँदै परिवार पाल्दै आएका थिए । मान्ममा व्यवसायसँगै उनले राजनीतिक यात्रालाई अघि बढाएका थिए । माओवादीको डरले सदरमुकाम आएका नयनले नेपाली कांग्रेसको राजनीति गरेका थिए ।

२०५९ सालमा नेपाली सेना, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको पहलमा राजनीतिक दलको तर्फबाट गाउँगाउँमा जानुपर्छ भन्ने खबर आयो । प्रशासन र सात दलको सहमतिमा नेपाली सेना र नेपाल प्रहरीको साथमा राजनीतिक दलका प्रतिनिधि एकएक जना गरेर जानुपर्ने निर्णय गरेको थियो ।

त्यही निर्णयअनुसार कांग्रेसका सभापति कालीबहादुर सहकारी र केही पार्टी नेताहरुले नयनलाई उक्त टोलीमा पठाउने निधो ग¥यो । भर्खरै पार्टीमा लागेका नयनलाई त्यसरी टोली (गस्ती) मा जानुपर्छ भन्ने थाहा थिएन । तर, उनले पार्टीका नेताहरुकोे आदेश टार्न सकेनन् ।

पहिल्यै लुकाइराखेकाे थियाे बम

नयनसहित दुई जना कांग्रेसका प्रतिनिधि, नेपाली सेना र नेपाल प्रहरी गरी ६२ जनाको टोलीले शुभकालिका, भर्ता, गेला, सुकाटिया हुँदै दाहाँका लागि बाटो तय गर्‍यो । सुरक्षाकर्मीलाई देखाउन हिँडेका नयनसहित दुवै जनाले पनि नेपाली सेनाको पोशाक लगाएका थिए । माओवादीले नचिनून् भनेर उनीहरुलाई सैनिक पोशाक लगाइदिएको बताउँछन् नयन । तर, त्यही पोशाकले गर्दा उनी पनि माओवादी आक्रमणमा परे ।

उनीहरु पोरिपाली हुँदै भत्र्ता, सुकाटिका, कालिकामुग्रा, गेलासम्म पुगेका थिए । नयन भन्छन्, ‘यता जिल्लामा नेकपा माओवादीले आक्रमण गरेछ । जिल्लाबाट खबर आयो । सुरक्षाकर्मी कम भए तुरुन्तै फर्किनुस् भनेर खबर आयो । हामी त्यही दिन राति दाँहा घोडेना आयौं । त्यही बेलुका घोडेनाको स्कुलमा माओवादीले आक्रमण गर्‍यो । माओवादीले बम, गोला हान्न थाले । दोहोरो भिडन्त भयो ।’

राति त्यही स्कुलमा बसेर बिहानीपख आफूहरु हिँडेको उनले बताए ।

‘३० जनाको टोली पहिल्यै सदरमुकाम गइसकेको थियो । बाँकी हामी पछि पर्‍यौं । हामी सदरमुकाम जाने क्रममा गल्ली पुगेका थियौं । त्यहाँ नजिक रहेको धारामा पानी खान जाँदा बम विस्फोट भयो’, नयनले भने, ‘विस्फोटमा परेर पाँच जना नेपाल प्रहरी, सात जना नेपाली सैनिक र म पर्‍यौं । धारा नजिक पहिल्यै बम लुकाएर राखेको रहेछ ।’

आफूले यस्तो घटना होला भनेर कहिल्यै कल्पना नगरेको उनी बताउँछन् । राजनीतिमा लागेर आफ्नो अवस्था यस्तो होला भनेर पनि नसोचेको उनको भनाइ छ ।

‘राजनीति गर्छु भनेर भर्खरै पार्टीमा लागेको थिएँ । त्यही राजनीतिमा वामे नसर्दै सुरक्षाकर्मीको पछि लाग्दा माओवादीको आक्रमणमा परियो’, नयनले भने, त्यही आक्रमणपछि मेरो राजनीतिक यात्रामा पूर्णविराम लाग्यो ।’


प्रतिक्रिया

One thought on “त्यसपछि नयनको राजनीतिक यात्रामा लाग्याे पूर्णविराम

  1. नयन बहादुर शाही सुभकालिका ३ भर्ता कालिकोट says:

    धन्यवाद बैनी अप्सरा बिष्ट ज्यु
    नेपाल सरकार सम्बन्धि जिल्ला प्रसासन र गृहमन्त्रालय सम्म ध्यानाकर्षण होस् ।
    सरकारले तत्काल पीडितलाइ न्याय दिन र पीडित का घरपरिवार लाइराहतको ब्यबस्थापन गरिनु प्रछ ।सरकार को सुनुवाइ नभयमा सम्मानित अदालत समक्ष न्यायका लागी विनम्र अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *