नेता चयनप्रति माओवादी बैठकमा असन्तुष्टि- प्रचण्ड पनि बाकस थाप्न तयार हुनुपर्छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका बैठकमा पार्टीको नेतृत्व चयनप्रति नेताहरूले प्रश्न उठाएका छन् । गत साल भएको ८ औं महाधिवेशनबाट अध्यक्ष प्रचण्डले आफूखुसी पदाधिकारी चयन गरेकोप्रति नेताहरूले बैठकमा आलोचना गरे ।
कमलादीस्थित प्रज्ञा भवनमा जारी केन्द्रीय कमिटीको बैठकको पहिलो दिन यही तरिकाले अघि बढे पार्टी नबन्ने नेताहरूले कुरा उठाएको एक नेताले बताए ।
ती नेताले भने, ‘संगठन निर्माणमा यो तरिकाले हुन्न कार्यकर्ताहरूले नेतृत्व चुन्न पाउनुपर्छ । प्रचण्ड पनि बाकस थाप्न तयार हुनुपर्छ । यो नभइकन माओवादी पार्टी बन्दैन । हामीले नेताहरू मान्नुपर्छ भन्ने छैन । अध्यक्षलगायत पदाधिकारीहरू निर्वाचनमा जान तयार हुनुपर्छ ।’
कार्यकारी राष्ट्रपतिको एजेण्डा बोक्ने पार्टीले पार्टी नेतृत्व पनि प्रत्यक्ष निर्वाचित हुनुपर्ने नेताहरूको भनाइ थियो ।
‘हामी नेतृत्व चयनमा कांग्रेस एमालेभन्दा पनि पछाडि पर्यौं त्यसैले अब निर्वाचनबाट जानुपर्छ’ उनले भने ।
अध्यक्षको प्रतिवेदनमा तीन महिने अभियानमा, विधान सम्मेलन, विशेष महाधिवेशनलगायको विषय उल्लेख भएको बताए । बैठकमा पार्टी सत्ता केन्द्रित भएकाले सरकार बाहिर बस्नेले पार्टी निर्माणको काममा लाग्नुपर्ने कुरामा नेताहरूले जोड दिएका छन् ।