प्रधानमन्त्री र उपप्रधानमन्त्रीको आलोचना- प्रचण्डलाई दाहाल चाहिने, नारायण काजीलाई श्रेष्ठ
केन्द्रीय सदस्यहरुको प्रश्न- भ्रष्टाचारमा थुन्नुपर्ने पार्टीकै मान्छेलाई खाेई थुनेकाे ? पार्टी बिग्रनुमा प्रचण्डबाहेक अरु को दोषी ?
काठमाडौं । प्रज्ञा भवनमा बुधबारदेखि सुरु नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको चौथौ पूर्ण बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । यद्यपी उक्त प्रतिवेदन उधुरो रहेको भन्दै सदस्यहरुलाई भने बाँडिएको छैन ।
बैठकमा १८ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् । प्रत्येक सदस्यले ५ मिनेटमा आफ्नो धारण राख्ने व्यवस्था गरेको बैठकमा प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले तीव्र आलोचना गरेका थिए ।
केन्द्रीय सदस्य ओम शर्माले पार्टी विग्रिनुको प्रमुख दोषी पार्टी अध्यक्ष प्रचण्ड नै भएको आरोप लगाए ।
उनले भने, ‘माओवादी पार्टी बिग्रियो । यसको अरु कोहि दोषी नभएर प्रमुख दोषी नै अध्यक्ष कमरेड प्रचण्ड हो ।’ उनले आगामी पाँच हजार वर्ष माओवादी पार्टी रहे पनि समाजवादको बाटोमा जान नसकिने तर्क गरे ।
उनले थप्दै भने, ‘म त भन्छु, पाँच हजार वर्ष माओवादी पार्टी रहे पनि अहिलेको तरिकारले समाजवादको बाटोमा जान सकिदैन ।’ नेता शर्माले अहिले राजनीतिक दलका नेतलाई पार्टीका कार्यकर्ता तथा जनताको सानो तिनो काम गर्दा पनि कमिसन बिना काम नगर्ने गरिएको बताए । उनले नेतृत्वमा परिवारवाद लागू भएको बताउदैँ भने, ‘अध्यक्ष प्रचण्ड कमरेडलाई हरेक काम गर्दा दाहाल नै चाहिने । बरिष्ठ उपाध्यक्ष नारायणकाजीलाई श्रेष्ठ कमरेडलाई श्रेष्ठ नै चाहिने ।’
अर्का केन्द्रीय सदस्य हिमाल शर्माले पनि पार्टी बिग्रिनुको प्रमुख दोषी नै अध्यक्ष प्रचण्ड भएको आरोप लगाए ।
उनले भने, ‘पार्टी यसरी विग्रिनुको दोषी अरु कोहि नभएर पार्टी अध्यक्ष कमरेड प्रचण्ड नै हो ।’ उनले सरकारमा गएका पार्टीका नेता अवसरवादी भएको बताए ।
उनले थप्दै भने, ‘जो नेता सरकारमा गयो उही अवसरबादी भएर निस्किन थाले । नेतृत्वमा अवसरबा लागू भयो ।’
केन्द्रीय सदस्य लक्ष्मण पन्तले भने सरकारमा गएको नेतृत्वले अनैतिक गैरकानूनी काम गर्नका लागि आफन्तलाई सचिवालयमा नियुक्त गरेको आरोप लगाए ।
नेता पन्तले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवमा छोरी गंगा दाहाल उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठको निजी सचिवमा सुरेशकाजी श्रेष्ठ भएकाले त्यसैलाई केन्द्रीत गर्दै भने, ‘दाहालको निजी सचिव दाहाल बनाउनु र श्रेष्ठको निजी सचिवमा श्रेष्ठ हुनु संयोग मात्रै जुरेको होइन । अनैतिक र गैरकानूनी काम गर्नका लागि परिवारकै सदस्य सचिवालयमा नियुक्त गरिएको हो ।’
यतिमात्र नभएर पन्तले नेताको पारिवारिक सदस्यलाई निजी वा स्वकीय सचिवबाट हटाउन केन्द्रीय समिति बैठकबाट निर्णय गर्नुपर्ने मागसमेत गरे ।
उनले थप्दै भने, ‘सचिवालयमा बस्ने बिस्वास पात्रै नै हो त्यो हामीलाई पनि जानकारी छ । तर, हिजो १० वर्षे जनयुद्धका बेला पार्टीको जुनसुकै व्यक्ति सचिवालयमा राख्दा बिस्वास कायम हुने, तर आज लाभको पदमा जाने वित्तिकै पार्टीको नेता कार्यकर्ताप्रति विस्वास कायम नगर्ने ? १० वर्षे जनयुद्धमा किन आफ्ना छोराछोरी आफन्त सचिवालयमा राखिएन ?’
अर्का केन्द्रीय सदस्य कृष्ण केसीले माओवादी नेतृत्वको सरकारले भष्ट्रचारको अभियोगमा विभिन्न व्यक्तिलाई पक्राउ तथा थुनामा राखेकोमा प्रशंसा गर्दै कतिपय थुन्नुपर्ने मान्छे नै पार्टी भित्र रहेको आरोप लगाए ।
उनले भने, ‘पार्टी भित्रकै नेतृत्वको २०४६ सालयताको सम्पत्ति छानबिन गर्नुपर्यो । कतिपय अकुत सम्पत्ति नै कमाएका नेता पार्टी भित्रै छन् । थुन्नुपर्ने मान्छे माओवादीभित्रै रहेकाले उनीहरुलाई खै थुनेको ?’
केन्द्रीय सदस्य लक्ष्यराम आचार्यले पनि पार्टी नेता कार्यकर्ताको सम्पत्ति छानबिन गर्न माग गरे । उनले भने, ‘हाम्रो पार्टी नेताको सम्पत्ति छानविन गर्नुपर्यो । भष्ट्राचारका भाषण गरेर मात्रै भएन । आफ्नै पार्टी र नेता कार्यकर्ताबाट सुरु गर्नुपर्यो ।’
अर्का केन्द्रीय सदस्य रबिन्द्र श्रेष्ठले माओवादी नेतृत्वले काठमाडौं उपत्यकालाई प्राथमिकता नदिएका कारण संगठन विस्तार हुन नसकेको र कमजोर भन्दै गएको बताए ।
उनले भने, ‘जनयुद्धमा नेवा राज्यलाई प्राथमिकता धेरै दिइएको थियो । तर, जब पार्टी सरकारमा गयो र नेतृत्वमा पुग्यो अहिले काठमाडौं उपत्यकालाई प्राथमिकता दिइएको छैन ।’ उनले प्रधानमन्त्री प्रचण्डका निजी सचिव रमेश मल्लसँग भेट गर्न खोज्दा भेट्न नपाएको र सम्पर्क गर्दा पनि उल्टै हेप्ने गरेको दुखेसो पनि सुनाए ।
उनले भने, ‘प्रधानमन्त्री एवम पार्टी अध्यक्ष प्रचण्ड कमरेडका निजी सचिव ज्यूलाई हामी सम्पर्क गर्न र भेट्न खोज्दा उहाले हामीलाई उल्टै प्रश्न गर्नुहुन्छ । ‘‘तपाइले काठमाडौंबाट कति सिट र स्थानीय तह ल्याउनुभयो ?’’ उहाँले हामीलाई व्याग्यात्मक शैलीबाट भेट्न अस्वीकार गर्ने गर्नुभएको छ ।’
यतिमात्र नभएर पार्टीका बरिष्ठ उपाध्यक्ष एवम उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट्न खोज्दा पनि समय नपाएको केन्द्रीय सदस्य श्रेष्ठले गुनासो पोखे ।
उनले भने, ‘उपप्रधान एवम गृहमन्त्री एवम हाम्रा पार्टीका बरिष्ठ उपाध्यक्ष ज्यूलाईसमेत हामीले भेट्न पाउदैनौ । पीएसँग सम्पर्क गर्दासमेत आफ्नो नेतालाई भेट्न पाउदैनौ । तर, उहाँहरुलाई व्यापारी, माफिया, कमिसनखोरीले भने सहजै भेट गर्न पाउनुहुन्छ ।’
केन्द्रीय सदस्य पुष्पविक्रम मल्लले पनि पार्टीको हेडक्वार्टर तथा सचिवालय नै विग्रीएकाले त्यहाँबाटै सुधार गर्न माग गरे । उनले भने, ‘यहाँ नेता कार्यकर्ता मात्रै बिग्रिएका छैनन् । पार्टीको मुख्य हेडक्वार्टर र सचिवालय नै विग्रिएको छ । त्यहिबाट पार्टीलाई पुर्नसंरचना गरेर सुधार गर्न जरुरी छ । यति पुरानै शैली र ढर्राबाट जाने हो भने पार्टी सुधार गर्न सम्भव छैन ।’
अर्को केन्द्रीय सदस्य गोविन्द रोका ‘सचिन’ले पनि पार्टीको तर्फबाट राज्यका निकायमा पुगेका र लाभको पद ग्रहण गरिसकेका नेता कार्यकर्ताको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरे । उनले भने, ‘विस २०६३ यता पार्टीको तर्फबाट राजकीय जिम्मेवारी वा विभिन्न लाभको पदमा बसेका नेता कार्यकर्ताको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ र आवश्यकता अनुसार राज्यको निकायद्वारा छानविन पनि गराउनुपर्छ ।’
उनले पार्टी तथा जनवर्गीय संगठनका हरेक तहका कमिटी दुई अंकको बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘पार्टीकाृ केन्द्रीय समिति बढीमा ९९, प्रदेश समिति ८५, जिल्ला समन्वय समितिलाई कार्यकारी समितिमा बदलेर ७५ सदस्यीय, महानगर समिति ५५, उपमहानगर समिति ४५, नगर समिति ३५, गाँउ समिति २५, वडा समिति १५, टोल समिति नौ र सेल कमिटी बढीमा सात सदस्यीय बनाउ ।’
यतिमात्र नभइ रोकाले हरेक कमिटि निर्माण गर्दा टिके प्रणाली भन्दा पनि निर्वाचन प्रक्रियाबाट चयन गर्नुपर्नेमा पनि जोड दिए । आन्तरिक रुपमा निर्वाचन प्रक्रिया गएर नेतृत्व चयन गर्ने प्रणाली अपनाए मात्रै बाह्य निर्वाचनमा सफल हुने उनको भनाई थियो ।
उनले थप्दै भने, ‘हरेक कमिटी निर्वाचनद्वारा चयन गर्नुपर्छ । नेता पनि निर्वाचनबाटै चुनिनुपर्छ । निर्वाचनबाट मात्र सानो आकारका कमिटी बनाउन सकिन्छ । निर्वाचनले मात्र विभिन्न किसिमका दवाव, प्रभाव, नातावाद, कृपावाद, परिवारवाद, चाकडी, चाप्लुसी प्रथा कमजोर हुन्छ र नेता कार्यकर्तामुखी, जनतामुखी हुन्छन् । आन्तरिक निर्वाचनमा अभ्यस्त भएर मात्र बाह्य निर्वाचनमा सफल हुन सकिन्छ ।’
केन्द्रीय सदस्य रोकाले पार्टीमा उमेर हद लागू गर्नुपर्नेमा पनि जोड दिँदै त्यसो नगरिए पुस्तान्तरणको नारा नारामै सिमिति हुने दाबी गरे ।
उनले भने, ‘सरकारले तोकेको ६८ वर्ष (जेष्ठ नागरिक भत्ता पाउने उमेर)लाई मापदण्ड बनाउन सकिन्छ । अथवा यो कम भयो भन्ने हो भने ७० वा ७५ गर्न पनि गर्न सकिएला । तर, उमेर हदको व्यवस्था हुनैपर्छ नभए युवाले पार्टीमा भविश्य देख्दैनन् । पुस्तान्तरणको नारा नारामै सीमित हुन्छ ।’ नेता रोकाले हरेक तहको पार्टी कमिटीको मुख्य नेतृत्वमा लगातार २ कार्यकाल मात्र रहन पाउने व्यवस्था गर्न पनि माग राखे ।
केन्द्रीय सदस्यले धारण राख्नुअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरका थिए ।
अनावश्यक समिति विस्तारले पार्टीको काम सजिलै अघि बढ्न नसकिरहेको भन्दै पार्टीको कमिटीलाई सानो आकार, चुस्त र दुरूस्त बनाउने प्रतिवेदनको सार थियो । तर, लगत्तै ३८५ सदस्यीय केन्द्रीय समितिमा २४ जना महिला सदस्य थपेर ४०९ पु¥याउने गरी विधान संशोधनको प्रस्ताव अघि सारेपछि उक्त प्रस्ताव विना छलफल पारित भएको थियो ।
बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, विभिन्न आयोगका पदाधिकारी र प्रदेश पदाधिकारी गरी ७५८ जना सहभागी भएका छन् । १८ जना केन्द्रीय सदस्ले आफ्नो धारणा राखेपछि बैठक भोलिसम्मके लागि स्थगित भएको छ ।
पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार पहिलो दिन धारणा राख्नका लागि ५६ जनाले नाम टिपाएका थिए । जसमध्ये १८ जनाले राजनीतिक प्रतिवेदन र विधानमाथि धारणा राखेका हुन् । बैठक विहान ११ बजेबाट बेलुका ६ बजेसम्म संचालन गर्ने कार्यतालिका भए पनि पहिलो दिन पाँच बजेसमम्म मात्रै चलेको छ ।
पहिलो दिनको बैठकमा कृष्ण केसी, ओम शर्मा, हिमाल शर्मा, लक्ष्यराम आचार्य, लोकेन्द्र लम्साल, टिका बुढाथोकी, रामकुमारी चौधरी, गोविन्द रोका ‘सचिन’, विसेन्द्र चेमजोङ, पुष्पविक्रम मल्ल, सुरेन्द्र बस्नेत, कृष्णकुमार चौधरी, रविन्द्र श्रेष्ठ, धनजीत शाहीसहित १८ जनाले आफ्नो धारणा राखेका छन् । बैठक बिहीबार विहान ११ पुनः बस्ने पार्टी महासचिव देव गुरुङले जानकारी दिए ।