माओवादीमा ६७ वर्षे उमेरहदको प्रस्ताव, २०६३ यता लाभको पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्न माग – Nepal Press

माओवादीमा ६७ वर्षे उमेरहदको प्रस्ताव, २०६३ यता लाभको पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्न माग

पार्टी कमिटीको मुख्य नेतृत्वमा २ कार्यकाल, केन्द्रीय समिति बढीमा ९९ जना

काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठकमा पार्टीमा उमेरहद लागू गरिनुपर्ने माग उठेको छ । जारी केन्द्रीय समितिको बैठकमा सचिन रोकाले सरकारले तोकेको ६८ वर्ष (ज्येष्ठ नागरिक भत्ता पाउने उमेर)लाई मापदण्ड बनाउन सकिने बताए ।

उनले भने, ‘यो कम भयो भन्ने हो भने ७० वा ७५ गर्न पनि सकिएला । तर, उमेर हदको व्यवस्था हुनैपर्छ । नत्र युवाहरुले पार्टीमा भविष्य देख्दैनन् । पुस्तान्तरणको माग नारामै सीमित हुन्छ ।’

उनले हरेक कमिटीहरु निर्वाचनद्वारा चयन हुनुपर्ने माग गरे ।

नेता रोकाले भने, ‘नेताहरु पनि निर्वाचनबाटै चुनिनुपर्छ । निर्वाचनबाट मात्र सानो आकारको कमिटी बनाउन सकिन्छ । निर्वाचनले मात्र विभिन्न किसिमका दबाब, प्रभाव, नातावाद, कृपावाद, परिवारवाद, चाकडी, चाप्लुसी प्रथा कमजोर हुन्छ र नेताहरु कार्यकर्तामुखी, जनतामुखी हुन्छन् । आन्तरिक निर्वाचनमा अभ्यस्त भएरमात्र बाह्य निर्वाचनमा सफल हुन सकिन्छ ।’

पार्टी तथा जनवर्गीय संगठनका हरेक तहका कमिटी २ अङ्कको बनाउनुपर्ने उनको सुझाव छ ।

उनले भने, ‘केन्द्रीय समिति बढीमा ९९, प्रदेश समिति ८५, जिल्ला समन्वय समितिलाई कार्यकारी समितिमा बदलेर ७५ सदस्यीय, महानगर समिति ५५, उपमहानगर समिति ४५, नगर समिति ३५, गाउँ समिति २५, वडा समिति १५, टोल समिति ९ र सेल कमिटी बढीमा ७ सदस्यीय बनाउनुपर्छ ।’

हरेक तहको पार्टी कमिटीको मुख्य नेतृत्वमा लगातार २ कार्यकालमात्र रहन पाउने व्यवस्था गर्न नेता रोकाले माग गरे ।

२०६३ यता पार्टीको तर्फबाट राजकीय जिम्मेवारी वा विभिन्न लाभको पदमा बसेका नेता कार्यकर्ताहरुको सम्पत्ति विवरण सार्वजनिक गर्नुका साथै आवश्यकताअनुसार राज्यको निकायद्वारा छानबिन पनि गराउनुपर्ने उनको भनाइ छ ।

देशमा गरिबी न्यूनीकरण र रोजगारी सृजनाको लागि सरकारको तर्फबाट ठोस कार्यक्रम अघि सार्नुपर्ने भन्दै युवाहरुको बाध्यात्मक विदेश पलायन रोक्नुपर्ने उनको माग छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर