कोशीमा सभामुखको निर्वाचन कहिले ? स्पष्ट छैन संविधान र प्रदेशसभा नियमावली – Nepal Press

कोशीमा सभामुखको निर्वाचन कहिले ? स्पष्ट छैन संविधान र प्रदेशसभा नियमावली

विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सत्ता गठबन्धनलाई बहुमत पुर्‍याउन पदबाट राजीनामा दिए । सरकार गठनमा बहुमत दाबी गर्न नसक्ने भएपछि सत्ता गठबन्धनले उनलाई पदबाट राजीनामा गर्न लगाएको थियो ।

माओवादीबाट निर्वाचित गौतमले आफूलाई पार्टी अध्यक्ष पुष्पकमल दाहालको निर्देशन दिएपछि राजीनामा दिएको बताउँदै आएका छन् । उनी सभामुखबाट राजीनामा दिएको भोलिपल्ट कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बने ।

गौतमको राजीनामापछि अहिले कोशीमा सभामुख पद खाली छ । तर, सभामुखको निर्वाचन कसरी र कहिले गर्ने भन्ने विषयमा कोशी प्रदेशसभा सचिवालयका कर्मचारीहरू अन्योलमा छन् ।

कोशी प्रदेशसभा नियमावली २०७४ (संशोधन) मा सभामुखले राजीनामा दिएपछि कसरी र कहिलेसम्ममा सभामुख निर्वाचन गर्ने भन्ने विषय मौन छ । नियमावलीमा सभामुखको पुनः निर्वाचनबारे उल्लेख नहुँदा के गर्ने भन्ने विषयमा अन्योल भएको सचिवालयका उपसचिव तथा प्रवक्ता गौतमराज अमात्यले बताए । नियमावली पुनः निर्वाचनमा मौन रहेकाले आफूहरू छलफलमा रहेको उनको भनाइ छ ।

उनले भने, ‘अहिले हामी अन्योलमा छौं । सभामुख पद रिक्त रहेको अवस्थामा सभाको अध्यक्षता उपसभामुखले गर्नु हुनेछ । उपसभामुखले पनि राजीनामा दिएको अवस्थामा ज्येष्ठ सदस्यले सभाको अध्यक्षता गर्नु हुनेछ । पुनः निर्वाचन गर्ने विषयमा भने हामी सभामा रहेका दलहरूसँग छलफल गर्नेछौं ।’

नेपालको संविधानको धारा १८२ मा प्रदेशसभाको सभामुख र उपसभामुखको व्यवस्था छ । धारा १८२ को उपधारा १ मा प्रदेशसभाको बैठक सुरु भएको १५ दिनभित्र सभामा रहेका सदस्यमध्येबाट एक जना सभामुख र एक जना उपसभामुख निर्वाचित गरी सक्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार कोशी प्रदेशसभाबाट बाबुराम गौतम सभामुख र सिर्जना दनुवार उपसभामुखमा निर्वाचित भएका थिए ।

धारा १८२ को उपधारा ३ मा ‘प्रदेश सभामुख वा उपसभामुखको पद रिक्त भएमा प्रदेशसभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचन गरी प्रदेश सभामुख वा उपसभामुखको पदपूर्ति गर्ने सक्नेछन्’ भनिएको छ । तर, रिक्त रहेको सभामुख र उपसभामुख पद कति दिनभित्र पूर्ति गर्ने भन्ने विषयमा संविधानले समेत केही बोलेको छैन । धारा १८२ कै उपधारामा ५ मा प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रदेशसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ ।

कोशी प्रदेशसभा नियमावली २०७४ (संशोधन) समेतको नियम १६९ ले सभामुख र उपसभामुखको राजीनामाको व्यवस्था गरेको छ । नियम १६९ को उपनियम १ मा सभामुखले उपसभामुखलाई सम्बोधन गरी आफ्नो पदबाट राजीनामा दिनसक्ने व्यवस्था छ । उपसभामुख वा कुनै सदस्यले आफ्नो पदबाट राजीनामा दिँदा सभामुखलाई सम्बोधन गरी दिनुपर्ने उल्लेख छ ।

सोही नियम २ को उपनियम १ बमोजिम दिइएको राजीनामा अध्यक्षता गर्ने व्यक्तिले बैठकमा पढेर सुनाउनेछ । बैठक चालू नरहेको अवस्थामा सूचना पत्रमा प्रकाशन गरी त्यसको प्रचारप्रसारसमेत गराइने उल्लेख छ । सभामुख गौतमसहितको हस्ताक्षर बुझाउँदै नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले असार २१ गते कोशी प्रदेशसभामा बहुमत रहेको दाबी प्रदेश प्रमुखसमक्ष पेस गरेका थिए । सोही दाबीका आधारमा प्रदेश प्रमुखले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

तर, नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की सरकार गठनमा सभामुखको हस्ताक्षर असंवैधानिक भएको भन्दै मुख्यमन्त्री नियुक्ति बदरको माग दाबीसहित रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चको साउन ११ गतेको फैसलाले थापाको नियुक्त बदर भएको थियो ।

यसपछि सभामुख रहेका गौतमले साउन १६ गते राजीनामा दिएका थिए । गौतमले सभामुखबाट राजीनामा दिएपछि थापा पुनः सरकार गठन गर्न बहुमत दाबी गर्दै प्रदेश प्रमुखसमक्ष पुगेका थिए । सोही दिन उनलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्तसमेत गरेका थिए । मुख्यमन्त्री थापाले साउन १७ गते गौतमसहित तीन जनालाई मन्त्री नियुक्त गरेका छन् ।

कोशी प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले सभामुखको निर्वाचन राजनीतिक सहमतिको आधारमा हुने बताए । उनले संविधान र नियमावलीले यति दिनभित्रै सभामुखको निर्वाचन गर्नुपर्छ भन्ने विषय नबोलेको बताए ।

एमाले प्रदेशसभा सदस्य लीलाबल्लव अधिकारी मुख्यमन्त्रीले विश्वासको मत लिनु अगाडि सभामुखको निर्वाचन हुने सम्भावना नरहेको बताउँछन् । उनले भने, ‘उपसभामुखले सभा चलाउनु हुनेछ । सभाको अध्यक्षता गर्न मान्छेको खाँचो नहुने भएकाले पनि नियमावलीमा पुनः निर्वाचनका विषयमा नलेखिएको हो ।’

मुख्यमन्त्री थापाले साउन १६ गतेका मितिले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । कोशीमा विश्वासको मत लिन ४७ सीट आवश्यक पर्छ । ९३ सदस्यीय प्रदेशसभामा अहिले सत्ता गठबन्धनसँग ४७ सीट छ । एमाले र राप्रपासँग उपसभामुखसहित ४६ सीट छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर