भ्रष्टाचार प्रकरणमा प्रचण्डलाई पार्टीभित्रबाटै दबाब- आफैंभित्र पनि निर्मम बन्न तयार हुनुपर्छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय समितिको बैठकमा भ्रष्टाचार प्रकरणको विषयमा पार्टीभित्रै पनि निर्मम बन्न नेतृत्वलाई दबाब आएको छ । पार्टीको जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले चालेको भ्रष्टाचारविरोधी कदमको समर्थन गरेका छन् ।
बैठक पार्टीलाई कसरी अघि बढाउने भन्नेबारे विचारको बहसमा केन्द्रित भएर चलिरहेको वैकल्पिक केन्द्रीय सदस्य भोला सापकोटाले बताए ।
उनले भने, ‘बैठकमा सुन प्रकरणमा पनि कोही दोषी छ भने छाड्नु हुन्न । आफैभित्र पनि निर्मम बन्न तयार हुनुपर्छ भन्ने नेताहरुको सरकारलाई दबाब छ ।’
त्यसो त आजको ६८ जनाले बोलेको प्रवक्ता कृष्णबहादुर महराले बताए । नेताहरुले जनतामा गएर बोलेअनुसार काम गर्नुपर्छ भनेर सुझाव दिएको बताए ।
उनले केन्द्रीय कमिटी घटाउनेबारे नेताहरुले सुझाव दिएको उल्लेख गर्दै विधान सम्मेलनबाट सबै टुंग्याउने बताए । यस्तै, पार्टी किटान नगरेपनि सिद्धान्त र विचार मिल्नेहरुसँग एकता गर्न नेताहरुले सुझाव दिएको बताए ।
त्यसो त बैठकमा नेताहरुले सुन प्रकरणमा उपाध्यक्ष तथा प्रवक्ता महरामाथि पनि प्रश्न उठाएका छन् । केन्द्रीय सदस्य लेखनाथ दाहाललले प्रश्न उठेपछि आफू दोषी छैन भनेर पन्छिन नमिल्ने भन्दै आफैंले छानबिनका लागि सीआईबीमा निवेदन दिनुपर्ने बताए ।
सीआईबीले केही समयअघि भेपमा ल्याइएको ९ किलो सुनको अनुसन्धान गर्दा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोराको संलग्नता देखिएको आशंका छ । यद्यपि, अहिले छानबिन भइरहेको छ ।
यस्तै, क्विन्टल सुन प्रकरणमा पनि उपमहासचिव वर्षमान पुनलगायत माओवादी नेताहरुको नाम जोडिएको छ । एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठकै संलग्नता भएको आरोप लगाउँदै राजीनामा दिएर उच्चस्तरीय छानविन समिति गठन गर्न माग गर्दै आइरहेको छ ।