तराईको दुर्गम गाउँमा जन्मेकी रन्जनाः यसरी बनिन् विशेषज्ञ डाक्टर हुँदै प्रहरी नायव उपरीक्षक
रुपन्देही । तराईका भित्री गाउँ, जहाँ अहिले पनि धेरै महिला पढाईबाट बन्चित हुनुपर्दछ । देशमा राजनीतिक रुपमा धेरै परिवर्तन आएपनि अभिभावक, समाजले त्यहाँका चेलीलाई धेरै पढाउन नहुने र छिटै विहे गरिदिने गलत संस्कार अझै पूर्णरुपमा नहटेकाले अहिले पनि सबै चेलीले चाहेर पढ्न नपाउने अवस्था छ तराईका भित्री गाउँहरुमा । खासगरी तराईका दक्षिणी क्षेत्रहरुमा अहिले पनि यो समस्या पूर्णरुपमा हट्न सकेको छैन ।
यस्तै दुर्गम गाउँ कपिलवस्तुको बहादुरगन्जमा जन्मेकी रन्जना यादव विशेषज्ञ डाक्टर मात्रै होइन नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक बन्न सफल भएकी छन् । उनी खुला प्रतिस्पर्धाबाटै यो स्थानमा पुगेकी हुन् । उनी आफै र उनको परिवारले तराईका महिलाबाट यो पदमा यसअघि अरु कोही पुग्न नसकेको बताइरहेका छन् ।
साबिकको कृष्णनगर हाल बहादुरगन्ज नगरपालिका वडा न ९ (जुन दक्षिण कपिलवस्तु भारतीय सीमा क्षेत्रमा रहेको छ) मा जन्मेकी रन्जनाको समाजमा यस्तो समस्या भएपनि उनी बुवाको प्रेरणाले नै यहाँसम्मको सफलता पाएको बताउँछिन् ।
‘तराईका भित्री गाउँमा छोरी पढाउनेहरुलाई समाजले नै वास्ता नगर्ने चलन थियो, अहिले पनि छ, तर मेरो बुवा आफू पनि पढेको र शिक्षाको धेरै ज्ञान भएकाले हामीलाई चाहेअनुसारको पढाउनुपर्छ भनेर अगाडि सार्नुभयो, त्यही आधारमा म यहाँसम्म आएँ, पढ्ने, काम गर्ने, अवसर भेटाउने त आफै हो तर बाटो देखाउने, आँट दिने नै ठूलो कुरा हो, जुन मेरो बुवाले गर्नुभयो’ रन्जनाले भनिन् ।
कपिलवस्तुको दुर्गम गाउँमा जन्मेपनि बुवाको साथ र उनको मेहनतले जेम्स स्कुलबाट एसएलसी, ह्वाइहाउसबाट प्लस टु र नेपालगन्ज मेडिकल कलेजबाट छात्रवृत्तिमा एमबीबीएस पूरा गरेकी हुन् रन्जनाले ।
काठमाडाैं मेडिकल कलेजबाट स्त्री रोग अध्ययन गरेकी उनले खुला प्रतिस्पर्धामा २०७३ सालमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीको सेवामा प्रवेश गरेकी हुन् ।
अहिले केही दिनअघि मात्रै उनी बढुवा भएर प्रहरी नायव उपरीक्षक बनेकी छन् । अहिले गाइनोमा एमडी अध्ययनका लागि बिदामा बसेकी उनलाई बढुवाले थप हौसला थपेको छ ।
नेपाल प्रहरी अस्पताल, बुटवलको प्रहरी तालिम केन्द्रमा बसेर सेवा प्रदान गरेकी छन् उनले । प्राविधिक क्षेत्रको अध्ययन गरेकी रन्जना कसरी प्रहरी सेवामा पुगिन् भन्ने विषय पनि उस्तै रोचक छ । तराईको दुर्गम गाउँमा जन्मेपनि सरकारी सेवामा उनका बुवा स्व. रामानन्द यादव नेपाल सरकारको सचिव भइसकेका हुन् । जलस्रोत मन्त्रालयमा सचिव रहेकै बखत उनी प्रहरी निरीक्षक भएकै समयमा त्रिशुलीमा गाडी खसेर बुवा र भाइको दुःखद निधन भएको थियो ।
त्यो पीडामा पनि उनले आफ्नो सेवालाई निरन्तरता दिएर पाएको उत्कृष्ट सम्मानले रन्जनालाई सधैँ हौसला दिइरहन्छ । परिवारका विषयमा प्रश्न गर्दा भक्कानिने रन्जनालाई त्यो असैह्य पीडा सहेर अगाडि जानुको विकल्प थिएन । माइती परिवारमा ३ दिदी बहिनी र एक भाइ रहेका थिए । उनको बहिनी पनि डेन्टल पास गरेकी छन् ।
२०७५ सालमा रुपन्देहीको भैरहवा निवासी डा. रन्जित यादवसँग विवाह गरेकी रन्जनाको एक छोरी छन् । श्रीमान रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा आवद्ध छन् र उनी रुपन्देहीमै बस्छन् । रन्जना आफ्नो आमा, छोरी र बहिनीसँग काठमाण्डौंमै बसेर अध्ययन गरिरहेकी छन् । ‘परिवारसँगै बस्न त कसलाई रहर हुँदैन र तर पेशा यस्तै पर्यो, श्रीमान रुपन्देहीमै हुनुहुन्छ, समय मिलाएर ओहोरदोहोर गर्नेगर्छौं, आमा र बहिनीको साथले मेरो पेशा र अध्ययनका लागि र छोरीका लागि सहजता भएको छ’ उनले भनिन् ।
रन्जनाले आफ्नो सफलताको स्रोतबारे प्रश्न गर्दा भन्छिन्–‘अभिभावकबाट साथ सपोर्ट चाहिन्छ, मलाई त्यो सबै बुवाले दिनुभयो, परिवारको सपोर्टबाट यो उपलब्धी पाएको हुँ, खुलारुपमै ४५ जनाको लडाईबाट नाम निकालेको हुँ ।’
‘तराईमा छोरी पढाउन हुन्न, पर्दैन भन्ने पहिले धेरै नै थियो, अहिले पनि छ, ग्रासरुढबाट बुवाले पढ्न, अगाडि बढ्न प्रेरित गर्नुभयो, उहाँको छोरी भएकै कारण त्यो गाउँमा जन्मेर अहिले यहाँ पुगेको छु, मेरै गाउँमा मसँग जन्मेका धेरै चेलीले पढ्न नपाएको सुन्दा र देख्दा पीडा हुन्छ, त्यो ठाउँमा जनचेतना जगाउन अब सबैको पहल जरुरी छ’ रन्जनाले थपिन् ।
‘सिंगो तराईका महिलाबाट प्रहरीको उच्च पदमा पुगेको भेटाएको छैन, हाम्रो थरबाट देखेको छैन, अरुले पनि त्यही भन्नुहुन्छ, प्राविधिक क्षेत्रमा पनि छैन, यस्तो अवस्थामा त्यो समुदायबाट अगाडि बढाउन गाउँमा छोरी शिक्षाको योजना बनाउन आवश्यक छ’ उनी भन्छिन्–‘स्थानीय सरकारले प्रोत्सानका योजना बनाउनुपर्यो, आर्थिक रुपमा नि सहयोग गर्नुपर्यो, अनि मात्रै अगाडि बढाउन सकिन्छ, मैले पनि यसको लागि के योगदान गर्नसक्छु योजना बनाउछु ।’
प्राविधिक क्षेत्र अध्ययन गरेको मान्छे सुरुको प्रहरी सेवाको तालिम पार गर्न निकै कठिन भएको उनको स्मरण छ । ‘भरखर एमबीबीएस पढेर सकाएको थिएँ, परीक्षा दिएँ, फ्याट्टै नाम निस्क्यो, सरकारी सेवामा प्रवेश हुने भन्ने त थियो तर प्रहरीमा अप्रत्यासित तरिकाले पुगेँ, पहिलो तालिम निकै गाह्रो भएको थियो, तर निरन्तर गर्नुपर्छ भन्ने हिम्मतका साथ गरिरहेँ,’ रन्जनाले भनिन् ।
अहिले त प्रहरीभित्र पनि धेरै ठाउँमा स्वास्थ्य विभाग नै छ । प्राविधिक क्षेत्रमा जनशक्ति धेरै नभएकाले पनि उनलाई बन्दुक बोकेर हिंड्नु खासै पर्दैन तालिमबाहेक । उनले भनिन् ‘काठमाडाैं भए त अस्पतालमै हुन्छु, बाहिर पनि आन्तरिक स्वास्थ्य परीक्षणमै बस्नुपर्छ, अब गाइनोको एमडी सकाएपछि धेरै बाहिर पनि बस्नु नपर्ला, जहाँ विशेषज्ञ अस्पताल छन् त्यहीँ खटाइन्छु होला ।’
Wow very good. I am proud of this lady
हार्दिक बधाई छ नानी, जनताको राम्रो सेवा गर है !
Congratulations, Dr. Nani! You are the pride of not only your Community but the entire females of Nepal. All the best for your future endeavours and keep adding more feathers on your hat.
म रामानन्द सरसंग ज्यादै नजिक रहेर सिंचाई विभाग र वहां सचिव हुदा सिंचाई मंत्रालयमा समेत काम गरेको व्यक्ति हूं । एक पटक कुसुंति नजीकको घरमा समेत गएको थियें। छोरिको प्रगति सुन्दा खुसि लाग्यो। रामानन्द सरप्रति हार्दिक श्रद्धासुमन !! 💐💐
Wow! What a fantastic achievement keep it up.