सधैँ ‘हटसीट’ मा प्रचण्डका ज्वाइँ, नातावादको आडमा गरेकै हुन् रजाइँ ?
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले बुधबार साढे १० बजे पद तथा गोपनीयताको शपथग्रहण गर्ने कार्यक्रम तय भएको थियो । आफ्नो शपथग्रहणलगत्तै सानो आकारको मन्त्रिमण्डल गठन गरी नवनियुक्त मन्त्रीहरूलाई पनि शपथ गराउने तयारी उनले गरेका थिए ।
विराटनगरको ढाटस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण कार्यक्रममा सहभागी हुन निम्तालुहरू आउन थाले । नवनियुक्त मन्त्री कमलप्रसाद जवेगुदेखि निवर्तमान मुख्यमन्त्री हिक्मत कार्की, उपसभामुख सिर्जना दनुवार, सुरक्षा निकायका प्रदेश स्थित प्रमुखहरू पनि कार्यक्रमस्थलमा देखा परे ।
प्रदेश प्रमुख कार्यालयको सभा हलमा आवश्यक तयारी पुरा भइसकेको थियो । होटलबाट खाजाका प्याकेट मगाइएका थिए । सुरक्षा प्रबन्ध मिलाइएको थियो । ट्राफिक प्रहरी भिड व्यवस्थापनमा खटिएका थिए । संसदीय मामिलामा रिपोर्टिङ गर्ने पत्रकारहरू पनि प्रदेश प्रमुखको कार्यालयमा भेला भइसकेका थिए ।
तर, बिहानको १० बजेर १० मिनेट गएपछि अचानक शपथग्रहण कार्यक्रम स्थगित भएको खबर आयो । सत्ता गठबन्धन दलका नेताहरूले माओवादीभित्र मन्त्री कसलााई बनाउने विषयमा कुरा नमिलेको सूचना दिए । पछि माओवादी केन्द्रका केही नेताहरूले पनि यो सूचना पुष्टि गरे । विवादको केन्द्रमा थिए माओवादीका प्रदेशसभा सदस्य तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरीज्वाइँ जीवन आचार्य ।
यसपटकको मन्त्रिमण्डलमा सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई पठाउने समझदारी माथिल्लो तहमै भएको थियो । यसअघि उद्धव थापा नेतृत्वको सरकार (सर्वोच्चले खारेज गरिदिएको) मा आर्थिक मामिला तथा योजनामन्त्री रहेका आचार्यले पनि बिहानसम्म उनको नाममा सहमति जनाएका थिए । तर, शपथग्रहण गर्ने बेलामा भने उनी एकाएक विच्किएको आफू नै मन्त्री बन्नुपर्ने माग गरेको चर्चा चल्न थाल्यो । उनीमाथि आलोचनाको वर्षा सुरू भइहाल्यो ।
पार्टीभित्र र बाहिर तीव्र विवाद भएपछि आचार्य केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन भन्दै काठमाडौं हान्निए । आफ्नो विषयमा उब्जेका चर्चा र समाचारका विषयमा औपचारिकरूपमा केही बताएनन् । अन्ततः पूर्वसभामुख बाबुराम गौतम नै अर्थमन्त्री (आर्थिक मामिला तथा योजनामन्त्री) बने । सार्वजनिकरूपमा आचार्यले कतै पनि यसप्रति असुन्तुष्टि जनाएका छैनन् ।
प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डका पारिवारिक सदस्य आचार्यको नाम विवादित भएको यो पहिलो घटना भने होइन । प्रदेशसभा सदस्य भएदेखि हरेकपटक सरकार बन्ने र बदलिने बेलामा उनी हेडलाइनमा आउने गरेका छन् ।
हिक्मत कार्की नेतृत्वको सरकारमा मन्त्री पठाउने विषयमा पनि माओवादीभित्र चरम विवाद थियो । पार्टीभित्रको एउटा समूह जसरी पनि उनलाई मन्त्री बन्नबाट रोक्न चाहन्थ्यो । आचार्य भने मन्त्री भइछाड्ने अडानमा थिए । प्रचण्डसँग नजिकको साइनोले उनको दावेदारी स्वत: बलियो हुन्थ्यो ।
एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाको गठबन्धनमा बनेको सरकारमा सबै पार्टीले मन्त्री पठाउँदा माओवादी भने विवादका कारण अनिर्णीत बन्यो । २०७९ पुस २४ गते राप्रपाबाट भक्ति सिटौला, एमालेबाट तीलकुमार मेन्याङ्वो र बुद्धिकुमार राजभण्डारी तथा जसपाबाट निर्मला लिम्बू मन्त्री बने । माओवादीले भने मन्त्री पठाउन सकेन ।
विवादका बीच दुई दिनपछि माओवादीले २ जनालाई मन्त्री बनाउने निर्णय गर्यो । उनीहरुमध्ये एक थिए जीवन आचार्य । उनीसँगै माओवादीबाट मन्त्री बने तेह्रथुमबाट विजयी भएका दुर्गाप्रसाद चापागाईँ । आचार्य कोशी प्रदेश सरकारको उद्योग पर्यटन तथा बन मन्त्रीमा नियुक्त भए ।
उनी मन्त्री बन्दा पार्टीभित्र तीव्र विवाद र विरोध भयो । पार्टीकै प्रदेशसभा सदस्यहरूले समेत सामाजिक सञ्जालमा कोशी सरकारमा नातावाद हावी भएको टिप्पणी गरे । स्वयम् प्रचण्ड विवादमा तानिए । तर, आचार्यलाई मन्त्री बन्न न पार्टीको प्रदेशसभा सदस्यले रोक्न सके न प्रदेश पार्टीले ।
प्रदेशको नामकरणपछि माओवादी र जसपाले हिक्मत कार्की नेतृत्वलाई दिएको समर्थन फिर्ता लिए । कार्कीले असार १५ गते विश्वासको मत लिन सकेनन् । उनको सरकार ढलेसँगै असार २१ गते उद्धव थापालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरे । तत्कालीन सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर गरेर प्रदेशसभामा बहुमत पुर्याएका थापालाई सर्वोच्च अदालतले साउन ११ गते अवैध करार गरिदियो ।
एमाले र राप्रपाबाहेकका पार्टी मिलेर बनेको थापाको अघिल्लो सरकारमा एकीकृत समाजवादीले कमल जवेगुलाई मन्त्रीको रूपमा पठायो भने, कांग्रेसले प्रदीप सुनुवारलाई । माओवादीमा भने फेरि विवाद भयो । संसदीय दलले मन्त्री छान्न नसकेपछि यसको जिम्मा संसदीय दलका नेता इन्द्र आङ्वो, इन्चार्ज राम थापा र प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोलाई दिइएको थियो ।
विवादकैबीच जीवन आचार्य आर्थिक मामिला तथा योजनामन्त्री बने । जबकि माओवादीबाटै मन्त्री भएका राजेन्द्र कार्कीले मात्रै होइन, कांग्रेसका प्रदीप सुनुवार र रामकुमार खत्री पनि मन्त्रालयविहीन थिए । अरुलाई उछिन्दै आचार्यले शक्तिशाली मन्त्रालय पाउनुमा माओवादी हेडक्वाटरसँगको नजिकको साइनो नै मुख्य कारकतत्व रहेकोमा दुईमत छैन ।
माओवादी मोरङ अध्यक्ष विजय विश्वास भने जीवन आचार्य प्रचण्डको ज्वाइँमात्रै नभएर पार्टीको केन्द्रीय कमिटी सदस्य तथा प्रदेशसभा सदस्य समेत भएकाले उनलाई परिवारसँग मात्रै नजोड्न आग्रह गर्छन् ।
विश्वासले भने, ‘प्रदेशसभा सदस्य भएपछि मन्त्री दाबी गर्नु स्वाभाविक हो । उहाँ माओवादीको जनाधार कमजोर भएको ठाउँबाट निर्वाचित हुनुभएको हो । अरू सांसदले मन्त्री दाबी गर्दा स्वाभाविक हुने, उहाँले दाबी गर्दा परिवारवाद हुने भन्न मिल्छ ?’
उनले प्रचण्डसँगको नाता भएकै कारण आशालाग्दो युवाको राजनीति नसिध्याउन आग्रह गरे ।
आचार्य भन्छन्- मेरो कामको मूल्यांकन भएन, एकोहोरो प्रचार गरियो
पूर्वमन्त्री आचार्यले भने अध्यक्ष प्रचण्डको परिवारसँग जोडेर प्रचार गर्दा आफूलाई नरमाइलो लाग्ने गरेको प्रतिक्रिया दिएका छन् । उनले आफूले गरेका कामको मूल्याङ्कन हुनुपर्ने बताए ।
नेपाल प्रेससँग आचार्यले भने, ‘मैले गरेको कामका बारेमा कसैले सोधीखोजी गर्दैन । मेरो नेतृत्वमा भएका कामहरू बाहिर आएनन्, सधैँ एकोहोरो परिवार भनेर प्रचार गरियो ।’
आचार्यले आफू पनि अरू सरह चुनाव जितेर आएको बताए ।
‘मेरा क्षेत्रका मतदाताहरू पनि म मन्त्री भएको हेर्न चाहन्छन् । क्षेत्रमा विकास होस् भन्ने चाहना राख्छन् । अरूले मन्त्री बन्दा आपत्ति नहुने, म बन्दा किन आपत्ति ?’ उनले प्रश्न गर्दै भने, ‘म समानुपातिकबाट आएर अध्यक्षले टपक्क टिपेर मन्त्री र मुख्यमन्त्री बनाउनु भएको छ ?’
को हुन् आचार्य ?
जीवन आचार्य २०७४ को निर्वाचनमा मोरङ ६ (१) बाट नेकपाको तर्फबाट उम्मेदवार बनेका थिए । पार्टीमा लामो समय काम गरेका सिनियर नेता तथा कार्यकर्ता उम्मेदवारको आकांक्षी रहेका बेला उनले ‘हेडक्वाटर’ कै आडमा टिकट उछिट्याएका हुन् ।
एमालेसहितको नेकपाबाट लडे पनि सो निर्वाचनमा उनी नेपाली कांग्रेसका चुमनारायण तबदारसँग पराजित भए । तवदारले २३ हजार ५ सय १३ मत ल्याएर चुनाव जित्दा उनले २१ हजार ४ सय ७० मत प्राप्त गरे । चुनाव हारेपछि उनले तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको विज्ञ सल्लाहकारको जागीर खाएका थिए ।
२०७९ को निर्वाचनमा पनि जीवनले सोही क्षेत्रबाट टिकट पाए । यसपाली उनलाई समर्थन थियो नेपाली कांग्रेसको । कांग्रेससँग भएको गठबन्धन भने उनका लागि फलदायी भयो । उनले १९ हजार ४५५ मत ल्याए । प्रतिस्पर्धी एमालेका रिता न्यौपानेले भने १७ हजार ५७७ मत ल्याइन् ।
आचार्य माओवादीको राजनीतिमा जोडिएको भने धेरै भएको छैन । पार्टी शान्ति प्रक्रियामा आएसँगै आचार्यले प्रचण्डकी कान्छी छोरी गंगा दाहालसँग विवाह गरे । विवाहपछि मात्रै उनी पार्टी राजनीतिमा जोडिएको माओवादी मोरङका नेताहरू बताउँछन् । आचार्य कांग्रेस पृष्ठभूमिका हुन् । उनको परिवार पछिसम्म कांग्रेसको राजनीतिमा संलग्न थिए ।
विवाहअघि आचार्य काठमाडौंमा कम्प्युटर इन्स्टिच्युट सञ्चालन गर्थे । गंगा उनको इन्स्टिच्यूटमा कम्प्युटर सिक्न जाँदा उनीहरूको भेटघाट भएको थियो । केही समय प्रेमपछि २०६४ सालमा उनीहरुले विवाह गरेका हुन् ।
आचार्यलाई प्रचण्डले हुकुमी शैलीमा नै पार्टीको केन्द्रीय सदस्य बनाएका थिए । छोरी गंगा र ज्वाइँ जीवनलाई प्रचण्डले १९ असार २०७९ मा केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । उनीहरूको पार्टीमा खासै योगदान थिएन ।