एमालेले मुलुकलाई संकटमुक्त बनाउने अभियानको नेतृत्व गरिरहेको छ : गोकर्ण विष्ट
पोखरा । नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले मुलुकलाई संकटबाट पार लगाउने कामको नेतृत्व आफ्नो पार्टीले गरिरहेको दाबी गरिरहेका छन् ।
नेकपा (एमाले) गण्डकी प्रदेश प्रचार तथा प्रकाशन विभागले पोखरामा आयोजना गरेको प्रचार कार्यशाला गोष्ठीमा बोल्दै उनले राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्दै मुलुकलाई संकटमुक्त बनाउने अभियानको नेतृत्व एमालेले गरिरहेको बताएका हुन् । आर्थिक-सामाजिक रुपान्तरणमार्फत् मुलुकमा देखिएको संकट समाधान गर्ने अभियानमा आफूहरू जुटिरहेको उनको भनाई छ ।
सचिव विष्टले मुलुकमा व्यापार घाटा चुलिँदै गइरहेको भन्दै यस्तो बेला तत्काल राष्ट्रिय पूँजीको निर्माण गर्ने कार्यमा जुटनुपर्ने आवश्यक्ता औंल्याए ।
उनले भने, ‘नेपालले आज जुन प्रकारका गम्भीर संकट सामना गरिरहेको छ । यो संकटबाट राष्ट्रलाई माथि उठाउँदै आर्थिक-सामाजिक रुपान्तरणमार्फत् नेपाली जनताको जीवनलाई माथि उठाउने र राष्ट्रलाई सबल बनाउने यो कामको अगुवाइ हाम्रो पार्टीले गरिरहेको छ । देशमा उदार पूँजीवादमार्फत् नेपाली समाजलाई पूँजीवादतिर धकेल्ने अनेकन प्रयत्नहरू चलिरहेको छ । यसबाट जोगाउँदै राष्ट्रिय पूँजीको विकास गर्ने, राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने, उत्पादक शक्तिको विकास गर्ने, श्रम शक्तिलाई बलियो बनाउने, समाजवादको आधार तयार गर्दै आर्थिक-सामाजिक रुपान्तरणमार्फत् सामाजिक न्याय स्थापित गर्ने यो अभियानमा हाम्रो पार्टी अगाडि बढिरहेको छ ।’
विष्टले काम गर्ने युवा जनशक्ति श्रमको खोजीमा विदेशिन बाध्य हुने अवस्था आएको उल्लेख गर्दै त्यसलाई रोक्ने गरी एमालेले योजना तर्जुमा गरिरहेको बताए । पार्टीको प्रचार तथा प्रसार कार्यलाई विश्वसनीय र भरपर्दो बनाउनु पर्नेमा उनको जोड थियो ।