‘टक सेन्टर’ मार्फत सिटौला पक्षको शक्ति प्रदर्शन, कांग्रेसलाई खबरदारी गर्न देशव्यापी अभियान घोषणा (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र आफ्नो गुटलाई सक्रिय बनाउन थालेका छन् । हालै बसेको पार्टी केन्द्रीय समितिको बैठकले गुटबन्दी अन्त्य गरेर पार्टी निर्माणको अभियानमा जुट्ने संकल्प गरेको केही दिनमै सिटौलाले आफ्नो निष्क्रिय रहेको गुटलाई ब्यूँताएका हुन् ।
सिटौलाले समूहले आफ्नो गुट सक्रिय रहेको सन्देश पार्टीपंक्तिलाई दिनको लागि आइतबार ‘संविधान कार्यान्वयन, जनप्रतिनिधिको भूमिका’ सम्बन्धी अन्तरक्रिया राखे । तर, यो संविधानको विषयमा केन्द्रित भएर कार्यक्रम राखिएको भएपनि सिटौलाले आफ्नो गुट सक्रिय रहेको सन्देश प्रवाह गरेको बताइन्छ ।
सिटौला समूहले आज टक सेन्टरमार्फत कांग्रेसलाई खबरदारी गर्न देशव्यापी अभियान घोषणासमेत गरेको छ । कार्यक्रममा केन्द्रीय सदस्य पूर्वमन्त्री भीमसेनदास प्रधान, सहमहामन्त्री उमाकान्त चौधरी, कोशी प्रदेश महामन्त्री, प्रदेशसभा सदस्य भूपेन्द्र राई, बागलुङ जिल्ला सभापति प्रदेशसभा सदस्य जीत शेरचन र केन्द्रीप्य सदस्य, बागमती प्रदेश सभा सदस्य कुन्दनराज काफ्लेले सम्बोधन गरे ।
तर, कार्यक्रममा आफूनिकट नेताहरू बोलेपछि सिटौला चाहीँ बोलेनन् । गुट खिइँदै गए पनि अलग अस्तित्व देखाउन टक सेन्टरमार्फत देशव्यापी अभियान चलाउन लागिएको भीमसेनदास प्रधानले बताए ।
अहिले कांग्रेसमा दुई गुटमात्रै सक्रिय भएको चर्चा चलिरहेको बेलामा सिटौलाले आफ्नो शक्ति देखाउन खोजेका छन् । सिटौला पार्टीको १३ औं महाधिवेशनमा सभापतिका लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेलसँग प्रतिस्पर्धा गरेका थिए ।
तर, पहिलो चरणमा कोही सफल बन्न नसकेपछि दोस्रो चरणमा देउवालाई सघाएका थिए । सिटौलाले देउवालाई सघाएपछि पौडेल पराजित भएका थिए । १३ औं महाधिवेशनमा सिटौला समूहबाट महामन्त्री गगन थापा उठेका थिए ।
महाधिवेशनमा देउवालाई समर्थन गरेपछि सिटौला गुट पनि संस्थापन पक्षमै मिसिएको चर्चा थियो । तर, सिटौलाले पार्टीभित्र देउवासँग आफ्नो गुटमाफ्त नेताहरूलाई मन्त्री वा अन्य नियुक्तिमा कोटा लिइरहेको थिए ।
तर, १४ औं महाधिवेशनमा आउँदा गगनले सिटौला समूह छाडेर नेता डा. शेखर कोइराला समूहबाट महामन्त्री उठेर सफल भए पनि । तर, सिटौलाले आफ्नो कोटामा प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाए ।
देउवाले आफू सभापति बन्नकै लागि आफूनिकट सिनियर नेताहरूलाई राकेर सिटौला कोटाका पौडेललाई महामन्त्रीको उम्मेदवारमा स्वीकारे । तर, उनी सफल भएनन् । महाधिवेशनपछि अहिलेसम्मको दौरानमा आइपुग्दा अहिले पौडेल सिटौला पक्षमा छैन । उनले संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापालाई सहयोग गरे ।
त्यसो त गएको निर्वाचनमा पनि सिटौलाले आफूसहित ५ जनालाई टिकट दिलाएका थिए। झापा ३ मा सिटौला पनि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग हारे ।
उनीमात्रै नभएर उनको कोटाबाट टिकट पाएका उमाकान्त चौधरी, बारा १, भीमसेन दास काठमाडौं ६, शिव हुमागाइ काभ्रे २ बाट पराजित भए । तर, उनैको कोटाबाट टिकट प्रतिनिधिसभामा काठमाडौं ५ बाट जितेका पौडेलले साथ छाडे । अहिले प्रतिनिधिसभामा उनीसँग निकट कोही सांसद छैनन् ।
यस्तै, पार्टीले चार प्रदेशको मुख्यमन्त्री पाउँदा सिटौलाले देउवाबाट कोशी प्रदेशको मुख्यमन्त्री उम्काएका छन् । कोशी प्रदेशमा हालै नियुक्त उद्धव थापा सिटौलानिकटकै हुन् । सिटौलाले पार्टीभित्र आन्तरिक भागबण्डामा पनि हिस्सा लिएर अहिले पनि सानो शक्ति लिएर बसेका छन् ।