महिला संघको संस्थापनलाई ३ दिनको अल्टिमेटम, नत्र देशभर समानान्तर समिति बनाउने चेतावनी (भिडिओ)
अध्यक्ष उषा राउत मिश्रलाई बर्खास्त गर्न माग
काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल महिला संघमा अध्यक्ष उषा राउत मिश्रले विधानविपरीत १२ जिल्लाका निर्वाचित समिति भंग गरेको भन्दै २० जना केन्द्रीय सदस्यले असहमति जनाएका छन् ।
सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी शेखर कोइराला पक्षधर महिला नेताहरूले उषा राउतको सो निर्णय फिर्ता नभए देशभर समानान्तर संगठन चलाउने चेतावनी दिएका छन् ।
१२ जिल्ला अध्यक्ष हटाउने निर्णय गर्ने सभापति राउतलाई बर्खास्त गर्न उनीहरूले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
३ दिनभित्र विधानविपरीतका निर्णय नसच्याए देशैभर समानान्तर समिति र गतिविधि गर्ने पत्रकार सम्मेलनमा नेताहरूले बताए ।
अध्यक्ष उषा राउत मिश्रलाई बर्खास्त गर्न माग
विधानविपरित काम गरेको भन्दै संघकी अध्यक्ष उषा राउत मिश्रलाई बर्खास्तको माग गरिएको छ । पत्रकार सम्मेलनमा राउतले विधानविपरीत १२ जिल्लाको जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्षलाई बर्खास्त गरेको भन्दै विरोध जनाइएको छ ।
केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य रिता शाहीले संघको विधान महाधिवेशन गर्ने जिम्मा पाएको नेतृत्वले धमाधम जिल्ला नेतृत्वलाई हटाउनु दुःखद भएको बताइन् ।
‘पार्टीलाई एकढिक्का बनाएर संगठन सुदृढीकरण अभियान सञ्चालन भइरहेको बेलामा पार्टीभित्र विग्रह निम्याउन खोज्ने वर्तमान अध्यक्षलाई तत्काल बर्खास्त गर्नुपर्छ,’ उनले भनिन् ।
मिश्रले अध्यक्षहरू सोलुखुम्बुकी छिल्हामु शेर्पा, बाराकी सीता मैनाली, पर्साकी विद्या श्रेष्ठ, सिरहाकी विमला निरौला, ताप्लेजुङकी मीना गुरुङ, इलामकी निर्मला सन्जेल, महोत्तरीकी अध्यक्ष विना तिवारी, रौतहटकी भुवनी गिरी, कास्कीकी कोपिला रानाभाट, झापाकी सुशीला ढकाल र हुम्लाकी विजया बुढालाई हटाएकी छन् ।
केन्द्रीय सदस्य डा. अमिता प्रधान शाक्यले विधानविपरित हटाइएका जिल्ला अध्यक्षलाई पुनर्बहाली नगरे देशभर समानान्तर समिति गठन गर्ने बताइन् ।
‘अध्यक्षज्यूलाई सच्चिने मौका दिएका छौं, नसच्चिए सबै जिल्लामा समानान्तर समिति गठन गरेर अगाडि बढ्छौं’, उनले भनिन् ।
केन्द्रीय सदस्य छायाँ सुनारले महिला सङ्घको केन्द्रीय समितिको बैठक नै नबसी एकलौटी ढङ्गले आफ्नो गतिविधी अगाडि बढाएको बताइन् । महिला संघले विधानअनुसार संस्था चलाउन, केन्द्रीय समितिको बैठक चाँडो राख्न, विधानसम्मत गठन नगरिएका सम्पूर्ण समिति, उपसमिति खारेज गर्न, विधानअनुसार साधारण सदस्य वितरण गर्न माग समेत गरेको छ ।
तस्बिरहरू : गौरव पौडेल ।